गजल सिद्धान्त

बहर गजल लेख्नु अघि जान्नै पर्ने आधारभूत कुराहरु


संसारमा धेरै भाषाहरु छन् र सबैजसो भाषामा साहित्य लेखिएका पनि छन् । ती सबै भाषाका सबैभन्दा सानो रुप भनेको वर्ण हो । अरु भाषाको कुरा छाडेर हामी नेपाली भाषाको कुरा गर्दा नेपाली भाषामा हामी जुन शब्दले आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्छौं ती शब्दहरु अक्षरबाट (वर्ण) बनेका हुन्छन् । हामी नेपाली लेख्नका लागि देवनागरी लिपिको प्रयोग गर्छौं । देवनागरी लिपिमा वर्ण २ प्रकारका छन्ः

१. स्वर
२. व्यञ्जन

१. स्वरः   

जुन वर्णका उच्चारण स्वतन्त्र उच्चारण गरिन्छ र जसको उच्चारणका लागि अन्य वर्णको सहयोग लिनु पर्दैन ।
- स्वर वर्णका उदाहरणः अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ

उच्चारणका समयको हिसाबले स्वरमा तीन प्रकारमा बाँडिएकोछः

क. ह्रश्व स्वरः कम समय लाग्ने स्वरहरु - अ, इ, उ, ऋ (लघु)
ख. दीर्घ स्वरः लामो समय लाग्ने स्वरहरु - आ, ई, ऊ, ए, ऐ, ओ, औ (गुरु)
ग. प्लुत स्वरः टाढाको व्यक्तिलाई बोलाईंदा प्रयोग हुने स्वर

२. व्यञ्जनः    
जुन वर्णका पूर्ण उच्चारणका लागि स्वरको सहायता लिनुपर्छ यस्ता वर्णलाई व्यञ्जन भनिन्छ । व्यञ्जनको उच्चारणको लागि स्वरको सहायता चाहिन्छ नत्र तिनलाई उच्चारण गर्न सकिन्न ।
    यी व्यञ्जन निम्न प्रकारका हुन्छन्ः

    क. स्पर्शः यी वर्णहरु पाँच भागमा विभाजित छन् जसमा पाँच पाँच व्यञ्जन छन्ः
        कवर्गः क् ख् ग् घ् ड़्
        चवर्गः च् छ् ज् झ् ञ्
        टवर्गः ट् ठ् ड् ढ् ण्
        तवर्गः त् थ् द् ध् न्
        पवर्गः प् फ् ब् भ् म्
    ख. अंतःस्थ:    य् र् ल् व्
    ग. ऊष्म : श् ष् स् ह्

    घ. सयुंक्त व्यंजनः क्ष, त्र, ज्ञ
        - यी व्यञ्जहरुलाई पनि वर्णमालामा गनिए पनि यी तीन अक्षरहरु क्रमशः
        क्ष=क्+ष / ज्ञ=ज्+ञ / त्र=त्+र

मात्राः
 ------
* मात्रा १: माथि वर्णन गरिएका लघु स्वर र लघु स्वर लागेका व्यञ्जनहरुको मात्रा - १
(अ, इ, उ, ऋ, क, कि, कु, कृ)

* मात्रा २: माथि वर्णन गरिएका दीर्घ स्वर र दीर्घ स्वर लागेका व्यञ्जनहरुको मात्रा - २
(आ, ई, ऊ, ए, ऐ, ओ, औ, का, की, के, को, कौ)

* मात्रा २: कुनै पनि संयुक्त अक्षर भएका अगाडिका स्वर या व्यञ्जनको मात्रा - २
जस्तैः   
'अङ्क' मा 'अङ्' - २
'मन्त्र' मा 'मन्' - २  

मात्राका गणनाका उदाहरणहरुः
कलम = क + ल + म = १ + १ + १ लेख्दा यस्तो भए पनि गजलमा बोलीका आधारमा गणना गरिने भएकाले बोल्दाः
कलम = क + लम् = १ + २

गमला = ग + म + ला = १ + १ + २
कालो ‍= का + लो = २ ‌+ २
भोलि = भो + लि = २ + १
काम = काम् = २
शान्ति = शान् + ति = २ ‌+ १
पूर्व = पूर् + व = २ ‌+ १

मात्रा गणना बारे विस्तृत अभ्यास अर्को पाठमा गराइनेछ ।

नेपाली तथा अन्य सँस्कृतबाट आएका भाषामा लामो र छोटो स्वरका आधारमा उच्चारण गरिन्छ भने Latin बाट आएका भाषाहरु जस्तै अंग्रेजी आदिमा stress अर्थात् जोडका आधारमा उच्चारण हुने गर्दछ । यसैले अंग्रेजी भाषामा बहर या छन्द लामो र छोटो स्वरको आधारमा भन्दा पनि stress को आधारमा गरिन्छ । यसैले अंग्रेजी भाषामा बहरका गुञ्जाइस कम हुन्छ । अंग्रेजीमा लेखिएका गजलहरु बहरमा हुनु नपर्ने अर्को कारण ती पूर्वीय शाश्त्रीय संगीतमा संगीतबद्ध गरेर कमै गाइन्छ ।

यसर्थ पूर्वीय काव्यको छन्द र लयको सीधा लक्ष्य भनेकै पूर्वीय शाश्त्रीय संगीत हो र यसैकारण छन्द बहर र शाश्त्रीय संगीतको नजीकको सम्बन्ध छ ।

छन्द / बहर के हो ?

गजल एक गेय विधा हो र यसलाई  Lyrical poem (गेय कविता) पनि भनिन्छ भनेर सबैले बुझिसक्नुभएकोछ । Lyrical poem (गेय कविता) भएको हुनाले गाइनका लागि यसका लागि निश्चित लयको खाँचो हुन्छ । जब हामी गाउने कुरा गर्छौं, यसमा लय या तालको खुबै ठूलो भूमिका हुने गर्दछ । संगीतमा ताल र लय भनेको निश्चित समयमा निश्चित ध्वनिको पुनरावृत्ति हुने अवस्था हो । काव्यमा लय या ताल छोटा स्वर र लामा स्वरका शब्दहरुको निश्चित समयमा निश्चित पुनरावृत्ति हो भनेर बुझिन्छ । यही छोटा र लामा स्वर अर्थात् लघु र गुरुको निश्चित समयमा हुने पुनरावृत्तिको अवस्थालाई लय भनिन्छ । तर सबै लयहरु कर्णप्रिय हुन्छन् भन्ने छैन । यसैकारण संगीतमा धेरै तालहरु हुँदा हुँदै पनि केही तालहरु मात्र प्रचलित भए जस्तै काव्यमा पनि केही निश्चित तरीकाले बनेका लयहरुको समूहमा रचित काव्य लयमा वाचन गर्दा सुन्दर लाग्छन् र संगीतमा पनि सुन्दर लाग्छन् । तिनै निश्चित तरिकामा बाँधिएका लयका समूहलाई नै हामी बहर या छन्द भनिन्छ ।
छन्दशाश्त्रलाई उर्दूमा अरुज र अंग्रेजीमा prosody भनिन्छ । छन्दलाई उर्दूमा बहर तथा अँग्रेजीमा meter भनिन्छ ।

केही उदाहरणहरु
-------------------
छन्द
२२२ -- ११२ -- १२१ -- ११२ -- २२१ -- २२१ -- २
भाका, भू--ल, दया,-- क्षमा र -- ममता, -- सन्तोष -- जान्दैन -- त्यो,
२२२ -- ११२ -- १२१ -- ११२ -- २२१ -- २२१ -- २
इन्द्रै बि--न्ति गरुन् -- झुकेर -- पदमा -- त्यो बिन्ति -- मान्दैन -- त्यो,
- लेखनाथ पौडेल

बहर
२२१२ - २२१२ // २२१२- २२१२
खोली बग्यो - यो आँसुको // पानी भयो - भन्नै पर्‍यो ।
२२१२ - २२१२ // २२१२- २२१२
छाती दुख्यो - मर्ने गरी // बानी भयो - भन्नै पर्‍यो ।
- करुण थापा

यी समूहलाई कसले निर्माण गर्‍यो भन्ने प्रश्न पनि उठ्छ । यी छन्द र बहरहरु काव्य र संगीतज्ञाताहरुबाट नै निर्माण भएका हुन् । जसरी अन्य शाश्त्र जस्तै आयुर्वेद, संगीतशाश्त्र छन् जुन हामी सबैले मानेकाछौं । यस्तै काव्यका यी छन्दहरु पनि ती ज्ञाताहरुबाट नै निर्माण गरिएकाहुन् । जसरी आयुर्वेद तथा संगीतशाश्त्रलाई वैज्ञानिक युगले नकार्न सकेकोछैन, त्यसै गरी छन्द र बहर पनि विज्ञानले नकारेको अवस्था छैन । यसर्थ गजल काव्यको पनि सीधा सम्पर्क संगीतशाश्त्रसँग बनाउनका लागि बहर र छन्दको निर्माण भएकोहो । यी शाश्त्रमा बहस गर्नु पर्ने र गजल बहरमा लेखिने परम्परामा औंला ठड्याउनु पर्ने कुनै कारण देखिंदैन । यदि काव्यशाश्त्रमा बहर चाहिंदैन भन्छौं भने संगीतमा पनि सरगम र संगीतशाश्त्र चाहिंदैन या आयुर्वेद चाहिंदैन भन्नु बराबर हो ।

त, निश्चित समयमा निश्चित लघु स्वर र निश्चित गुरु स्वरको बनावट जुन शाश्त्रका ज्ञाताहरुबाट प्रतिपादन गरिएकाछन्, तिनको प्रयोग गजलमा गर्नुले गजललाई लयमा वाचन गर्न सजिलो, संगीतवद्ध गर्न सजिलो, गाउन सजिलो तथा कोमल र मीठो बनाउने कुरामा दुई मत हुन नहुने पक्का छ ।

स्रोतः बहर पाठशाला



लय, छन्द र बहर 

१ (नेपाली लोक छन्दहरु)

गजलका दुई वटा महत्वपूर्ण तत्वहरु भाव र लय हुन् । बिशेष गरि लयका गजलहरु सांगीतिक रुपमा निकाल्ने उद्देश्यले वा सभाहरुमा लेखकले नै बिना संगीत गएर (तरन्नुम) प्रस्तुत गर्ने उद्देश्यले लेखिएको हुन्छ । तर आधुनिक समयमा नेपाली तथा अन्य भाषामा गजलहरु  छन्दमा र छन्द बिहिन दुबै रुपमा लेखिंदै आएको छ ।
यदि गजलका सबै हरफहरु एउटै अक्षर संख्या वा मात्रामा वा बिश्राम मिलाएर लेखिएको छ भने त्यो नियमलाई छन्द भनिन्छ । संस्कृत वा नेपाली कविता / साहित्यमा पहिले देखि नै प्रयोग हुँदै आएका छन्दमा गजल लेख्न सकिन्छ । 

त्यस्तै गरि उर्दु वा अन्य भाषाहरुमा केहि निश्चित छन्द नियममा गजल लेखिन्छ । ति नियमहरुलाई बहर भनिन्छ । उर्दु भाषामा प्रचलित बहरहरुमा पनि नेपाली गजल लेख्ने गरिएको छ । नेपालीमा भाषामा बहर र छन्द शब्दलाई समानान्तर रुपमा प्रयोग गर्न सकिन्छ । 

आधुनिक नेपाली गजलमा शास्त्रीय छन्द वा बहरको अतिरिक्त नेपाली लोक लयमा पनि गजल लेख्ने गरिएको छ । 

केहि नेपाली लोक छन्द हरु यस प्रकार छन :

१. झ्याउरे छन्द
महाकबि लक्ष्मी प्रसाद देवकोटाले अमर कृति मुना मदनमा प्रयोग गर्नु भएको झ्याउरे छन्दलाई नेपाली गजलमा प्रयोग गर्न सकिन्छ । 
अक्षर : १६ (५-५-६)
(५ र १० अक्षरमा बिश्राम)
उदाहारण १ : 
क्षेत्रीको छोरो, यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठुलो, दिलले हुन्छ, जातले हुँदैन

उदाहरण २ :
हिमाली हावा बग्दै छ किन नौलो त्यो मातमा
किन हो कुन्नी रुँदै छ कोहि जुनेली रातमा
शब्द : लालीजन  रावल

२. सवाई
अक्षर : १६ (४-४-४-२)
(४, ८ र १२ अक्षरमा बिश्राम)

उदाहारण :
तिमीलाई जिताउन हार्न मन लाग्यो
आफुलाई अन्त कतै सार्न मन लाग्यो
- मनु ब्राजाकी 
३. स्वर्निर्मित लय 
गजललाई आफ्नै नियममा छन्दो बद्ध गर्न पनि सकिन्छ । यसरि छन्द निर्माण गर्दा कि त मात्रा की त अक्षरको आधारमा गरिन्छ । मात्राको आधारमा गर्दा बढी गेयात्मक हुने र गजल लेख्न पनि सजिलो हुने मानिन्छ । 


पोष्टराज चापागाईंबाट सुझाब गरिएका छन्दहरु : 

कबि पोष्टराज चापागाईंले नेपाली गजलमा बिभिन्न नियमहरुलाई बिभिन्न नामहरुमा छन्दको रुप दिनु भएको छ । यी नामहरु प्राय हिमालको आधारमा राखिएका छन् । 

१. काङ्फुगातो छन्द 
अक्षर : १४ (३-४-३-४)
(७ अक्षरमा विश्राम, ३ र १० मा अर्धविश्राम )

उदाहरण: 
तास झैं प्रेयसीको भाउमै भाउ लाग्यो
खालमा धाँधली भो दाउमै दाउ लाग्यो
शीरमा राख्छु भन्दै हातमा जून थापें 
धर्तिमा पाइला थे पाउमै पाउ लाग्यो
शब्द: पोष्टराज चापागाईं 


२. चाङ्ला छन्द
अक्षर : १६
(४, ८ र १२ अक्षरमा विश्राम)
उदाहरण : 
अकासकी जून रैछ्यौ जुनू भन्दा कसो होला
निधारमा जून थापी बुनू भन्दा कसो होला
शब्द: पोष्टराज चापागाईं 
३. डाँफे छन्द
अक्षर : ८
(४ अक्षरमा विश्राम)
उदाहरण : 
ढलमा छू तान् न साथी
अब रक्सी खान्न साथी
सिउने काँ टाल्ने केले ?
मुटु फाट्यो ठान् न साथी
शब्द: पोष्टराज चापागाईं 
४. फुकाङ छन्द
अक्षर : १६
(४ र ९ अक्षरमा विश्राम)
उदाहरण :
कहाँ थिए, र कठीनका, ती आग्रहका कुरा
बुझें बुझें, सजिलै बुझें, ! पूर्वाग्रहका कुरा
अमूक थे, र अमूर्त थे, टेढा मत लेखका
पढें गुनें, अनि पो बुझें, ! दूराग्रहका कुरा
शब्द: पोष्टराज चापागाईं 
५. पुत्रुङ छन्द 
अक्षर : १५
( ८ अक्षरमा विश्राम )
उदाहरण: 
पलभर प्रिय छामें दिल टाँसेर फोटो
अनि मुसुमुसु हाँसें दिल टाँसेर फोटो
पुलकित यति पारी मयुरीले नसोध
छमछम र त नाचें दिल टाँसेर फोटो
शब्द: पोष्टराज चापागाईं 
६. भृकुटी छन्द 
अक्षर : १४
(७ अक्षरमा विश्राम)

७. छुकुङरी छन्द 
अक्षर : १३
(४ र ८ अक्षरमा विश्राम)

८. क्याबुरा छन्द 
अक्षर : १२
(३, ७ र १० अक्षरमा विश्राम)

९. निरेखा छन्द 
अक्षर : १४
(४ र ८ अक्षरमा विश्राम)
१०. गौगिरी छन्द 
अक्षर : १२
(३ र ६ अक्षरमा बिश्राम)
११पुत्खाङ छन्द
अक्षर : १०
(५ अक्षरमा विश्राम)

No comments: