Tuesday, 19 March 2013


मायाँ प्रेमका वयान गर्ने लेखन हट्नु पर्दछ

घायल योद्धा नवराज,   काभ्रे
 साहित्यको बगैंचामा लहलहाउँदै गरेका एउटा चिल्लो पातको नाम हो घायल योद्धा नवराज । ललितपुरको देवीचौर गा.वि.स – ८ मा जन्मिए पनि हाल काभ्रेको साहित्यिक बगैंचामा फुल्दै गरेका यी कवि तथा गजलकार हाल उग्रचण्डी नालामा स्थायी बसोबास गर्दै नेपाली वाङ्मयको फाँटमा तथा नेपाली भाषा र साहित्यको प्रवद्र्धनको लागि हमेसा लागि पर्दै आएका छन् । चोट भित्रका तीन मन (गजल सङ्ग्रह २०६५) कृति प्रकासित गरेर साहित्यिक धद्दामा हस्ताक्षर गरिसकेका उनी सक्रिय स्रष्टा हुन् । साहित्य सौगात साहित्यिक मासिक मार्फत काभ्रेको साहित्यमा एउटा मञ्च प्रस्तुत गर्दै आएका घायलयोद्धा स्थानिय रेडियो (प्राइम एफएम) ेमा समेत साहित्यिक तथा विविध कार्यक्रम संञ्चालन गर्दै आएका छन् । काभ्रेकै नव साहित्य समाज का सचिव र जुनकिरी साहित्यिक अभियान काभ्रेका उपााध्यक्ष समेत रहेका उनी मासिक साहित्यक कार्यक्रमका एक अभियन्ता पनि हुन्  । यहि वर्ष मात्रै सर्वोकृष्ठ रेडियो  कार्यक्रम २०६९ को उपाधी समेत जितेका उनले विभिन्न संघ संस्थाबाट पुरस्कार र सम्मान समेत प्राप्त गरेका छन् । प्रस्तुत छ तिनै स्रष्टा सँग सिन्धु दर्पण साहित्यिक पत्रिकाका सम्पादक जितेन्द्र रसिक ले गरेको कुराकानी ।

घायल जी, तपाइँको साहित्यिक पृष्ठभूमी वताईदिनुस न ।

विगत ८ वर्ष देखी यो क्षेत्रमा सक्रिय भएर लागि परेको छु । साहित्यलाई मायाँ गर्नुहुने मित्रहरुलाई एउटा मञ्च दिने उद्देश्यले विभिन्न क्षेत्रमा गएर साहित्यिक प्रतिभाहरुलाई भेला गराई कार्यक्रम गर्दै हिंड्ने र साहित्यको उत्थानको लागि विभिन्न योजनाहरु बनाउँदै हिडियो । मलाई यो कार्य गर्दा सारै आनान्द र आत्मसन्तुष्ट हुने हुनाले पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दा भिन्न सन्तुष्टि मिल्दथ्यो । २०६५ सालमा आएर भने भिन्न–भिन्न सर्जकको रचनाहरु संकलन गरी साहित्य सौगात मासिक पत्रिका प्रकाशन गर्दै अगाडी बढियो । त्यहि समय देखी हाल सम्म नेपाली भाषा र साहित्यको नवजागरणको निम्ती नै रेडियोमा साहित्यिक कार्यक्रम संचालन गर्दै  र जुनकीरी साहित्यिक अभियान सँग हातेमालो गर्दै मासिक शृङ्खला सञ्चालन गर्दै आएको छु । 

कहिले देखी होमिनु भयो यो क्षेत्रमा ?
२०५७ सालमा वीर गोर्खाली नामक कविता प्रकाशन गरेर विधिवत रुपमा साहित्यको मोर्चामा लागियो ।

किन लेख्नु हुन्छ साहित्य ?

खस्कँदै गएको नेपाली साहित्यको धरातलको उत्थान, विकास र आत्म सन्तुष्टिको लागि लेख्ने  गर्छु ।

पछिल्लो समय सृजना  गरेको आफुलाई मन पर्ने र भरपुर सन्तुष्टी दिलाएको आफ्नै रचना ?

आफुले सृजना गरेको र आफैलाई सबै भन्दा बढी मन परेको रचना गजल हो । उक्त गजल यस प्रकारको छ ।

मलाई मेरो छातीले टक्कर दिएर गयो
अक्षता फूलपातीले टक्कर दिएर गयो

तेरा लागि दिन रात एउटै गराउँछु भन्दै
औंसीको रातीले टक्कर दिएर गयो

अब हाम्रो सम्वन्ध कसै गरी जोडिँदैन
भन्दै विश्वासघाटीले टक्कर दिएर गयो

हेर्नुस अब यसकै कारण देश टुक्रिंदैछ
भाषा, धर्म, जातीले टक्कर दिएर गयो

राम्रो गजलको लागि साधुबाद । साहित्य र जीवनलाई कसरी तुलना गर्नु हुन्छ ?

साहित्य समाजको दपर्ण हो भने जीवन मानव सृष्टिकै एक अनुपम उपहार ।

नेपाली साहित्यमा अबको लेखन कस्तो हुनु पर्छ भन्ने लाग्छ ?
अबको पुष्ताको लेखनमा साहित्यबाटै समाज रुपान्तरण हुने खालको दम हुनु पर्दछ । ता,कि प्रत्येक सृजनाबाट हाम्रो समाजले केहि नयाँ सफलताहरु पाउन् । नयाँ नयाँ प्रेरणाहरु मिलुन् । अझै पनि पुरानै धारमा रहेर मायाँ प्रेमका वयान गर्ने लेखन हट्नु पर्दछ । अबको लेखन भनेको जगत उत्थानको निमित्त मार्गदर्शन गर्ने खालको हुनु पर्दछ ।

No comments: