छरपष्टिएको ‘बिस्कुन यो मनको’ बटुलेर हेर्दा
– जितेन्द्र रसिक
असारमा पर्नुपर्ने झरिले बेइमान गरेर जेठदेखि नै उन्मादीला बहाव छेड्न थालेको छ । कतिपय नेपाली युवाहरू स्वदेशमा श्रमको बिस्कुन सुक्न नसक्दा बेथितीका भोकमरी खप्न नसकी खाडी मुलुकमा वहकिन बाध्य छन् । राज्यमा छरपष्टिएका संविधानका बिस्कुन बटुल्न नसक्दा दल र नेताहरू पनि यतिखेर चुनावका लागि फेरि पनि बिस्कुन छर्न गाउँ–गाउँ पुगेका छन् । तर, यहाँ सन्दर्भ फरक छ । कवयत्री मिना श्रेष्ठ समयले छरपष्ट पारेका मनका बिस्कुनहरू बटुलेर ‘बिस्कुन यो मनको’ कविता संग्रह लिएर आएकी छन् । श्रेष्ठलाई देशका विभिन्न बेथितीले अठ्याएपछि उनको चित्कार शाब्दिक रूपमा बिस्कुन जस्तै छरपस्टिएका छन् । देशका तन्नेरीहरू चुरोटको ठुटासँगै सल्केको देख्दा उनी आफैं जलेर खरानी भई धुँवाको सर्कोमा उडेका युवा जमातलाई सही मार्गमा आउन ‘बिस्कुन यो मनको’ कृतिबाट अनुरोध गर्छिन् ।अभावका खडेरीमा बाँच्नेहरूको जिन्दगीमा गरिबीको हुरीले छरपस्ट पारेकाको जीवन बटुल्न पनि श्रेष्ठ अघि सरेकी छन् । उनका कविताले शहरका सडकतिर शिक्षाको ज्योति पुगिसकेको र गाउँको झुपडी अन्धकार भएको भन्दै उनले ग्रामीण भेकका जनता गरिबीको रेखामुनि पर्नुको कारण शिक्षाको ज्योति बाल्न नसक्नु हो भनेका छन् । श्रेष्ठको ‘उसको रहर’ शीर्षकको कविताले नेपालको ग्रामीण क्षेत्रको प्रतिनिधित्व गरेको छ । उनले कविताबाटै नारी अस्तित्व उजागर गरेकी छन् ।
संसारमै नारीहरूलाई उपभोग्य सामग्री मान्दै आएको प्रति उनले खेद व्यक्त गरेकी छन् । हेरौ केही कवितांश ः
‘आत्मनिर्भरता,
कुण्ठाहीन खुलापन भएर
साहसिक पाइलाहरू अघिबढ्दा
पोथी बासेको आवाज नसुन्ने हाम्रा कानहरू
परिवर्तन हुनैपर्छ’
‘लोग्नेका हात र चुल्ठा जगटाइका पीडाहरू देख्दा
अचम्मै नहुने आँखाहरू
कष्टले कापेर निला भएका शरीर देख्दा
बतासिने मनहरू खण्डन हुनुपर्छ ’ (पृष्ठ १८ बाट)
अझै पनि छोरा र छोरी हुनुको विभेद भोगिरहेका ग्रामीण वस्तीको अवस्था देखेर कवि यसरी वहिकिएकी छन् ।
‘म चाहन्छु यी विभेदलाई ।
तिमी जस्ता छोरीहरूलाई
पन्छाएर राख्न मिल्दैन
असमानतको खाडल पुर्नलाई ...
हजारौं आमाहरूको लडाइँमा
विजय हुनेछ
विभेदका साङ्लाहरू तोडिनेछन् ।
(मेरी सृष्टि)
त्यस्तै उनका नारीवादी कविताहरूले उत्पीडित महिलाहरूको प्रतिनिधित्व गरेको पाइन्छ । उनका कविताले महिलालाई आफ्नो अधिकार पाउन मुक्तिको युद्ध लड्नुपर्छ भन्दै क्रान्ति गर्न आग्रह गरेको पाइन्छ ।
महिलाहरू मुक्तिको युद्ध लड्नुपर्छ
नारीमाथि हुने हिंसाविरुद्ध
एकतााको डोरीभित्र बाँढिनुपर्छ
जहाँ संग्रामी वीरंगना आमा दिदीहरूको
साहसी कदमहरू सम्झनुपर्छ ।
खोटाङमा जन्मेकी उनी इटहरीको बसाइँ हुँदै १३ वर्षको उमेरदेखि नै राजनीतिक जनसांस्कृतिक संगठनमा आवद्ध भई गीत गाउँदै हिँडेकी उनले अन्ततः साहित्यिक कृति कविता संग्रह लिएर आएकी छन् । उनका हरेक कविता सामाजिक बेथितीका विरुद्ध आवाज बुलन्द गर्न सक्षम देखिन्छन् । उसो त उनी भावनामा नवहकिएकी पनि होइनन् । मानवीय गुण न हो । माया र पिरतीबाट दुर सायदैमात्र होलान् । उनको एउटा कवितांश यस्तो छ–
‘मेरा कयौं प्रश्नहरूको
उत्तर उसको मौनतामा छ
उसको मौनताभित्र
आनान्द छ, हृदयको समर्पणमा छ । ’
श्रेष्ठका कवितामा नारी गरिबी, शोषण, माया, प्रेम, विछोड र संघर्ष सबै समेटिएको पाइन्छ । उनी नेपाली साहित्यका लागि सम्भावित कवि बनेर उदय भएकी छन् । कुनै–कुनै कविता भने उनी राजनीतिबाट प्रभावित भएर पनि लेखिएका छन् । उनका कविताहरू विशुद्ध निजी चेतनाका ज्वाराभाटा बनेर विस्फोट भएको पाइन्छ । रंग नेपालले प्रकाशनमा ल्याइएको बिस्कुन यो मनको कविता कृति एक सय १७ पेजमा संग्रहित छन् । डिमाइ साइजमा प्रकाशन भएको यो कृतिको मूल्य १ सय २५ रुपैयाँ रहेको छ ।
No comments:
Post a Comment