कथा
संयोग
 |
| पार्वती शाही |
खै ? कताबाट शुरु गरौँ म, यो कलमको गतिलाई । लेख्ने हातहरु थर–थर कापि रहेका छन, मनमा एक पछि अर्को गर्दै बिगतका धमिला तस्विरहरुको सुनामी उर्लेको छ र त यो क्षण यर्थातको धरातलमा भासिन पुगेकी छु म । मलाई के थाहा ? संयोगबस मोवाईलमा आएको एक कल फोनले डेढ दशक देखि गुम्सिएर बसिभूत भएको मेरो बिगतलाई शाक्षात्कार गर्ला भनेर । अनायासै भएको त्यो हाम्रो जम्काभेटले बर्तमानमा नराम्रो सँग थप्पड हानेको छ मलाई । बिगत र बर्तमानलाई मनको तराजुमा राखेर तौलिने प्रयत्न गर्दैछु, कृपया तिमी नरिसाउनु ल !
प्रिय कन्चन,
तिमीसँग हुन गएको मेरो जम्काभेट चिर परिचित थिएन न त पूर्व योजना अनुरुप नै थियो । बिबसताको भारी बोकि फरक गन्तब्यमा हिडि रहेका हामी दुई यात्रीको बीचमा सम्बन्धको झोलुङ्गे पुल साबित भई दिएको यो बिकासको अवयव मोवाईल नेटवर्कलाई धन्यबाद नदिई रहन सक्तिन म अहिले ।
मोवाईलमा बारम्बार घण्टी बजिरहेको थियो । अफिसमा थिए म त्यसवेला । लगातारको घण्टीको टड्कारो कर्कस आवाजले काममा अवरोध पु¥याउँदै थियो मेरो । त्यसैले गोजिमा भएको मोवाईललाई छिटो–छिटो हातमा लिएर हेरे, अपरिचित नौलो नम्वर थियो त्यो । जहिले पनि अपरिचित नम्बरबाट फोन आउँदा मेरो मुटुको धड्कनल त्यसै बढेर आउँछ । खै ? किन हुन्छ त्यो त मलाई नै थाहा छैन । हो, अहिले पनि त्यहि हविगत थियो मेरो र पनि निकै छोटो समयको मनोबाद पश्चात जति सक्दो चाँडो फोन रिसिभ गर्ने निर्णय गरे र हिम्मत बटुलेर रिसिभ गरेरै छोडे ।
तर दुर्भाग्य के परेछ कुन्नी ? त्यो समय तिमीले खोजेको मान्छे म थिईन, तिमी त अर्कैको खोजीमा थियौ । मैले तिमीलाई यर्थात भन्न चाहे र तिमीले खोजेको मान्छे म नभएको जानकारी पनि दिएँ तर पटक पटकको तिम्रो सोधाईले मनमा कता–कता भित्र चिमोटे जस्तो लाग्यो । पहिलो चोटी मेरो कानमा ठोक्कीन गएको तिम्रो आवाजले मलाई सपनाबाट झल्यास्स विउँझाए झै गरिदियो । फेरी पनि तिमीसँग म तिमीले खोजेको मान्छे नभएको जानकारी गराए तर तिमीलाई पत्यार लाग्यो या लागेन मैले एकिन गर्नै सकिन् । अनयासै कानमा ठोक्किएको तिम्रो आवाजले मेरो शरीरमा एक किसिमको तरँग प्रसारित गरिदियो । म अवाक भए, गला अवरुद्ध भयो । त्यो क्षण म छाङ्गा बाट खसे झै भए । मैले मेरो वरपर, अगाडिको कुनै पनि चिजलाई देखिन । मानौ मैले त्यसवेला सबैलाई विर्सी दिए । यो सब किन भयो ? थाहा छ कन्चन ? किनकि मेरो कानमा अनयासै ठोक्किन पुगेको तिम्रो आवाज चिर परिचित झै लाग्यो । कता–कता सुने जस्तो लाग्यो जुन अहिले पनि मेरो कानमा गुिन्जराखे कै छ ।
समयको बहाव सँगै पूराना स्मृतिहरु मानसपटलबाट एक–एक गरी धमिलिदै जाँदा रहेछन् । बल्झिएको घाउँमा समयले मलम पट्टि लगाईदिंदो रहेछ। तर बिस्मृतिमा मुर्झाई रहेको मेरो बिगतलाई तिम्रो त्यो आवाजले साच्चीकै बैसाखीको काम ग¥यो । आज भन्दा १५ बर्ष अगाडि देखि सुन्न नपाएको आवाज मैले आज सुन्न पाएकि थिए । मेरो मोवाईल कतिबेला मेरो हातबाट भुईमा खस्यो त्यो पनि मैले थाहा पाईन । दाँतले च्यापी राखेको ओठ जब बेजेडले टोकियो अनि बल्ल अर्थातको धरातलमा फर्किए । हतार–हतार भुईको मोबाईललाई टिपेर गोजिमा राखे । मैले कल्पना पनी गरेकि थिईन कि यो दुई मिनेटको समयाबधिले मलाई यति सम्म विचलित गराउँछ होला भनेर ।
कन्चन, तिमीलाई के थाहा ? म कुन परिस्थितीमा गुज्रीराखेकि थिए त्यो क्षण । मलाई लाग्छ त्यो क्षण, त्यो समय, मेरा लागि धेरै नै महत्वपूर्ण भए पनि तिम्रा लागि सामान्य नै थियो होला र त त्यसपछि फेरि अर्को पल्ट यो भुल दोह¥याउन चाहेनौ । हो, त्यसपछि ब्यतित गरेका प्रत्येक पल पनि मेरो लागि सारै नै कष्टकर भए । बिगतका धमिला तस्विरहरु नाटकको दृष्य जस्तै एक पछि अर्को गर्दै तछाड–मछाड भएर प्रतिविम्वित हुन थाले । मानसिक रुपमा सारै नै असक्त भई सकेकि थिए म । त्यतिबेलाको भोगेको त्यो बेचैनि न त म तिमीलाई सुनाउन सक्थे न त मेरा सहपाठी माझ बाड्न सक्थ्ये । अफिसबाट कति बेला घर पुगे मलाई नि थाहा भएन । सँगैको अर्को कोठामा बस्ने साथिले भान्सामा पे्रसर कुकुरले जोर सँग सुस्केरा हाल्यो अनि मलाई कोठामा पुगेको थाहा भयो । कोठा पुगेर पनि मैले केहि काम गर्न नै सकिन । साच्चै भन्नु पर्दा म त्यो रात पनि राम्रो सँग निदाउन सकिन । म कति विचलित भए कि, मैले अभिव्यक्त गरेका शव्दले पनि त्यति बोल्न सक्तैनन् होला ।
तारन्तारको मेरो बेचैनिलाई मैले सहन नसकि एक पल्ट जसरी भए पनि तिमीलाई भेट्ने निधो गरे । अस्तव्यस्थ भएको मेरो मनस्थितिलाई म यथास्थितिमा ल्याउन चाहन्थ्ये । कानमा गुन्जिराखेको तिम्रो आवाजलाई दृष्य सँग एकाकार गर्न मन लाग्यो मलाई । मन मनै अनेक प्रश्नहरुको बिजारोपन हुन थाल्यो । के त्यो आवाज भएको मान्छेको स्वरुप पनि उसैको जस्तो होला त ? कतै त्यो मान्छे उ नै त होइन ? आदि–आदि अनेक अनुत्तरित प्रश्नहरुले मलाई सताउन थाले । मानसपटलमा पर्न गएको भ्रमलाई च्यात्न एक पटक जसरी भए पनि तिमीलाई भेटेरै छोड्ने संकल्प गरे मनमनै । भोलिपल्ट तिमीलाई नभेटी नछोड्ने दृढता मनमा साँचेर हतार हतार अफिस तिर लागे ।
सदा जस्तै अर्को दिन पनि अफिसमा कामको चटारो उत्तीकै थियो तर ध्यान भने अफिसको काममा पटक्कै थिएन । मन असरल्ल थियो । र पनि कर्तव्य त मैले निभाउनु नै पर्दथ्यो । अलि बेर काम गरे जस्तो गरे । केहि समय मै मन थाम्न नसकि हिजो तिमीले मलाई कल गरेको नम्बरमा फोन डाइल गरे । नभन्दै फोन गयो, फोनको गति सँगै मेरो मुटुको धड्कन पनि तिब्र हुदै गयो । अनुहार तातो भएर आयो । तिमीले फोन सिसिभ ग¥यौ । मैले भन्न चाहेको धेरै कुरा भए पनि त्यतिवेला केहि भन्न सकिन खाली एतिमात्रै भन्न सके – “ तपाईलाई आज जसरी पनि भेट्नु छ, समय मिलाएर मलाई तुरुन्त कल गर्नुस है ।” यति भनिसके पछि मैले तुरुन्तै फोन काटी दिए ।
कन्चन, तिमीले त्यो समय के सोच्यौ ? कुन्नी । मत मेरो कुरो भन्न पाएकोमा सारै खुशी भएकि थिए । मन भित्र फेरि शंका र उपशंकाको द्वन्द्ध हुन थालेको थियो । तर पनि समयलाई सुस्केरा सँग गन्दै तिम्रो फोनको प्रतिक्षामा थिए । तिमीले मेरो मनशायलाई बुझेर हो वा नबुझेर हो । पाँच मिनेट मै कल ब्याक ग¥यौ । हुन त तिमिलाई लाग्यो होला । एउटी केटी त्यो पनि आफै मलाई भेट्न बोलाउँदै छे भने म किन त्यो महत्वपूर्ण समयको भरपूर उपयोग नगरु भनेर । त्यसैले त ठीक चार बजे मैले भनेकै ठाउँमा आफ्नोे हुलिया बताउँदै आई पुग्ने बाचा गर्दै फोन राख्यौं ।
तिमीलाई भेट्नु अघिको समय जुन प्रतिक्षाको घडि थियो त्यो, कसैको पखाईको घडि थियो त्यो । मलाई सारै छटपटी भयो । घडिमा हेर्दा हेर्दै लाग्यो त्यो घडिको सुईलाई आफै दुई फन्को घुमाएर चारमा पुर्याई दिउँ तर यतिले मात्रै म त्यो समय, त्यो क्षणलाई प्राप्त गर्न सक्दिन थिए । तिम्रो बारेमा धेरै कुरो साचे मैले त्ये २ घण्टाको समयमा कतै तिमि त्यही मान्छे त होइनौं ? जो सँग आज भन्दा १५ वर्ष पहिलेका धेरै घण्टा, दिन र महिना बितेका थिए मेरा । जसलाई भेट्नका लागि भए पनि झिनो आशा मनमा पालेर अहिले सम्म बाँचिरहेकी छु म । सोच्दा साच्दै भित्ताको घडिले चार बजेको संकेत ग¥यो । म हत्त न पत्त अफिसबाट बाहिरिए । अघि तिमीलाई दिएको लोकेसनमा पुगे, जुन मेरो अफिस नजिकै थियो । ठेलमठेल रोडको भिडलाई छिचोल्दै मेरा आँखा दौडि राखेका गाडि तर्फ तेर्सिन थाले, तिम्रो हुलियालाई खोज्न । नभन्दै एक छिनमै तिम्रो बाइक नजिकैको पार्किङ स्थलमा आएर टक्क रोकियो । तिमीले निकै बेर आफ्नो आँखालाई यताउति दौडार्यौ तर मलाई चिन्न सकेनौँ हुन त कसरी पो चिन्न सक्थ्यौ र कन्चन, म त तिम्रो यात्रामा एक्कासी जम्काभेटमा परेकि अपरिचित भित्र पो थिए त । लुगा टक्टकाएर हेलमेटलाई हातमा झुन्डयाउँदै गोजिबाट फोन झिकेर मलाई फोन डायल गर्नु पूर्व नै मैले तिमीलाई डाईल गरिदिएँ । तिमीलाई अव करै लागेर भए पनि मलाई खोज्न बाध्य गराए मैले । तिमीले नियालेर चारै तिर हे¥यौ । मैले हात हल्लाए बल्ल तिमीले चिनेछौ क्यारे बनावटी हाँसोमा आफुलाई मिसाउँदै समर्थनको संकेत प्रस्तुत ग¥यौं । एक छिन सन्नाटा नै छायो हामी बिचमा । तर जे जस्तै भए पनि बोल्ने पालो मेरो नै थियो किनकी तिमी त्यो ठाउँको लागि नयाँ थियौं । त्यसैले नजिकैको क्याफेमा जाने आग्रह मैले गरे, तिमीले स्वीकार्यौ पनि ।
म भित्र त झन अव विगत र वर्तमानको युद्धको शुरुवात भई रहेको थियो । जुन म तिमीलाई त्यो परिस्थितिमा देखाउँन चाहन्नथे । खुसीले हो या के ले हो भित्रैबाट भक्कानो फुटेर आयो । परेलीसम्म आई पुगेका आँशुलाई बल्ल तल्ल भित्र फर्काउने प्रयास गरे । हो, तिमी त कन्चन, मेरो जीन्दगीको एकलासे यात्राको क्षणिक सहयात्रीको प्रतिरुप थियो । जस सँग आज भन्दा पन्ध्र वर्ष पहिले नै त्यो दोवाटोको चौतारी नपुग्दै अनयासै मेरो साथ छुटेको थियो । मनमनै सोचें भगवान पनी हँुदा रहेछन् र त मेरो पुकारा सुनेछन् । मलाई यतिबेला ऊ नभए पनि उ जस्तै तिमीलाई भेटाई दिएको थियो त्यो क्षण मेरो भगवानले । त्यतिबेला मलाइ तिमीले कसरी बुझ्यौँ ? म मन परे या परेन ? या म तिम्रो साथी हुन लायक थिए या थिईन, त्यो मलाई थाहा छैन । हुन त हो, म मा तिमीमा जस्तो बैशको लाली थिएन । न त यो शहरको उछृङखलताले गोडमेल भई पोसिएकी आधुनिक युवती नै थिए । तर एउटी नारीमा हुनु पर्ने सबै थोक म मा विधमान नै थियो र छ पनि ।
क्याफेको टेवलमा बस्दा मलाई तिमीलाई पढ्न धेरै सहज भएको थियो । तिमीले पनि मलाई एक तमास हेरी राखेका थियौं । बेला–बेला म तिम्रो हेराईलायई उत्साहजनक बनाउन लजाई दिन्थे पनि । सम्मुख भएर टेवलमा बस्दा मैले तिमीलाई नियालेर हेर्ने मौका पाएँ । तिम्रो मन्द मुस्कान, ती नसालु नयन, अनारका दाना नझै मिलेका ती दन्त लहर र मिलेको जिउ डाल यी सारा कुराले मेरो वर्तमानलाई विर्साई दिएको थियो ।
थाहा छ कन्चन, त्यो समय, त्यो क्षण, मैले तिमीमा पन्ध्र वर्ष पहिले देखि हराएको मेरो त्यो माया पाएँ । जसलाई पाउनका लागि म अहिले सम्म भौतारी रहेकी छु । पल प्रति पल विगतका धमिला तस्बिरहरुलाई मन मन्दिरमा सजाएर तड्पी रहेकी छु । मेरो हराएको मायालाई पाउने झिनो आशाको तान्द्रो बुज्दै बाँच्नकै लागि भए पनि बाँची रहेकी छु । कन्चन, त्यति बेला मैले तिमीलाई खुवै हेरे । मेरा आँखाले अघाउन्जेल सम्म हेरे । “तिमीले सोध्यौ पनि किन मलाई त्यसरी हेर्दै छौं ? मैले कुनै अपराध त गरिन” स्वाभाविक थियो तिम्रो सोधाई । पहिलो भेट मै आँखा जुधाउने आँट सबैलाई हुदैन पनि । मैले तत्काल तिम्रो प्रश्नको उत्तर सहितको स्पष्टीकरण दिएकी थिए । “होइन, तिमी अपराधी होइनौं तर मेरो सामुको यो तिम्रो हुलिया अनि हिजो देखि मेरो कानमा गुन्जिराखेको तिम्रो आवाज चिर परिचित झैं लाग्यो । तिमीलाई मैले यो भन्दा पहिले कतै भेटे झै लाग्यो, त्यसैले हेरेका”े भने । शायद, तिमीलाई अचम्म लागेछ । क्यारे ! त्यतिवेला तिमी हास्यौ पनि ।
हाम्रो मिलनको त्यो पन्ध मिनेटको समयबधिले मैले अहिले सम्म व्यतित गरेका पन्ध्र बर्षलाई तुहाई दिएको थियो । त्यस पछि हामी छुट्टियौ । अर्को भेटको आशा मनमा संगालेर विदाईका हात हल्लार्यौ । कन्चन, तिमीले हाम्रो असम्भाविक मिलनलाई कसरी बुभ¥यौ त्यो मलाई थाहा छैन तर मैले मेरो अनुभूति तिमीलाई सुनाउँन चाहे । थोरै भए पनि मेरो बिगत र तिमी सँगको मेरो भेटबारे तिमीलाई परिचित गराउन चाहे त्यसैले अहिले तिम्रो व्यस्त समयलाई मैले हस्तक्षेप गर्न खोजे । कृपया, मलाई माफ गर्नु ल ।
तिमीलाई दुखाउँने र तिमी उपहास गर्ने कुनै हातलमा पनि मेरो मनशाय होइन र हुने छैन पनि । तिमी स्वतन्त्र छौ । जस्तो पहिला थियौ । मेरा अभिव्यक्तिले यदि तिमिलाई मित्रताको हात अगाडि बढाउनमा उत्पेरित गरेछ भने यसमा मेरो पूर्ण समर्थन नै रहनेछ । यदि तिमीलाई मन नै लागेन भने पनि मेरो तिमी प्रति कुनै गुनासो रहने छैन । साच्ची कै भन्नुपर्दा कन्चन, तिम्रो आफ्नोे जीन्दगी छ र मेरो आफ्नै किसिमको पट्यचारलाग्दो बर्तमान छ । परिवन्धमा पारेर मेरो नियतिको शिकार तिमीलाई बनाई विवशताको भारी कदापि बोकाउँन चाहदिन म । तिमीसँग गुनासो गर्नु पर्ने कुनै ठाउँ पनि छैन । तिमी न त हिजो मेरो थियौ न त आज नै छौ तर परिस्थितिले भन्छौं या भाग्यवशले खै कसरी ? हाम्रो मिलन हुन पुग्यो । यसलाई त जिन्दगी कै एउटा अवशरका रुपमा लिएकी छु मैले । जिन्दगीका गाल्छेडालाई छिचोल्ने क्रममा अनायासै संयोगले भएको हाम्रो यो जम्काभेट मेरो मानसपटलमा सदा अविस्मरणीय भएर सजिने छ जसरी प्रन्ध बर्ष पछिले देखिका मेरा स्वर्णीम अतित सजीएका छन् ।
अब, अन्तमा, कन्चन, तिम्रो यसमा केहि दोष छैन । तिमी तिमीसँग गाँसिएको तिम्रो सुन्दर नाम जत्तिकै निर्मल, स्वच्छ र पवित्र छौं । साच्चीकै मन देखि नै भन्छु तिमी कन्चन नै छौं र सदा कन्चन नै रहने छौं ।
नामर्दकी साली
– विमल नेपाल
आज म स्फुर्त छु । किनकि प्रकृति अनपेक्षित खुसी देखिएकी छ । उसलाई
यत्तिको खुलेको देख्नु नै आजभोलिको मेरो खास खुसी हो । जागिर, पैसालगायतका
अन्य प्राप्तिहरु फिक्का हुन्छ । उनको मुहारमा प्राकृतिक चमक देख्न पाउनु
नै मेरो उपलब्धि हो । किचेनमा उनको चहलपहल बढेको छ । पछिल्लो समयको यो मेरो
प्राप्ति हो ।
‘ए हजुर खाजा तयार भो । फ्रेस हुनुस् ।’ – यसै पनि म
फ्रेस नै थिएँ । तैपनि वाथरुम छिरें । मुख कुल्ला गर्दागर्दै फोन आयो ।
प्रेक्ष्याको रहेछ । रिसिभ गरिनँ । रिङ्टोन साइलेन्स पनि नगरी किचेनमा
पुगें ।
‘ किन फोन रिसिभ नगर्नुभएको ? कसको फोन ? प्रकृतिको प्रश्न ।
‘प्रेक्ष्याको ।’ मेरो छोटो जवाफ ।
‘रिसिभ गर्नुस् न त ! केही परेरै त गरेकी होली ।’ मलाई थाहा छ । ऊ मलाई
काम नपरेरै पनि धेरै फोन गर्छे । मलाई सताउन खप्पिस छे । प्रकृतिको खुलेको
मनमा धमिलो पर्ला ठानेर फोन उठाएँ ।
‘भिनाजु, म त बसपार्कमा अलपत्र
परें । एक्कासि चक्काजाम भो । मलाई रुमसम्म पु¥याइदिनुहुन्छ कि भनेर गरेकी
।’ घोर दुविधामा पारी सालीले । यो उसको वहानामात्रै पनि हुन सक्छ । नहुन
पनि सक्छ । तर प्रेक्ष्याको कुरा प्रकृतिलाई त सुनाउनै प¥यो, सुनाएँ ।
‘ए अलपत्र परिजस्तो छ । जानुस् न त पु¥याएर आउनुस् । त्यो कुर्न गाह्रो
मान्छे, फर्केर खाजा लिनुहोला ।’ प्रकृतिको आज्ञापालन नगर्ने त कुरै हँुदैन
। म आज्ञाकारी श्रीमान् । निस्ँिकए लुरुक्क, भोक पनि नभनी ।
हो रहेछ ।
चक्का जाम नै रहेछ । त्यो जाममा मैले चाहिँ कसरी मोटरसाइकल क्रस गराउनु ?
प्रेस परिएन, एम्बुलेन्स होइन । मलाई त हेक्का भएन ठिकै छ रे, प्रकृति के
भा की, पे्रक्ष्या के भा कि ? तैपनि, प्रेक्ष्यालाई फोन गरेर माइतीघर
आइराख्न भनेर कोटेश्वर महादेवस्थानबाट फलामे पुल तरेर मीनभवन, शङ्खमूल
हँुदै भित्रभित्रैे सेन्ट जेभिएर्स पुगें । ऊ आइपुगी सकिछ ।
‘कति ढिला गर्नुभएको भिनाजुले पनि, आफूलाई कस्तो बोर भयो ।’
म चुपचाप बसें ।
‘ आजभोलि त हजुर कस्तो निष्ठुरी हुनु भा’छ । किन रिसाइवक्स्या ? दिदी काँ छे त भिनाजु ?’ नबोली सुखै पाइनँ– ‘रुमतिरै छे ।’
पे्रक्ष्यालाई म चाहेर पनि भन्न सक्दिनँ, म तिमीसँग नजिक हुनु मेरो
बाध्यता हो । न त म तिम्रो कुनै चाहना नै पूरा गर्न सक्छु । कुर्ता, सलवार,
जिन्स पाइन्ट, अन्य मेकअपका सामान वा शारीरिक कुनै पनि चहाना, त्यो वासना
नै पनि हुन सक्छ । ममात्रै होइन नि नानी, मभन्दा सक्षम थुप्रै कुण्ठित
पुरुषहरु छन्, बजारमा । तिम्री दिदीसँगको प्रेम त मलाई धेर भैसकेको छ भने
तिम्रो आवश्यकता मैले कसरी पूरा गरांै ? मलाई पश्चाताप भैरहेको छ
प्रकृतिसँगको प्रेम, विवाह ।
उ बारम्बार मलाई अनावश्यक प्रश्नहरु तेस्याइरहन्छे ।
भिनाजुको दिदीसँग कति वर्ष लभ चल्यो ? फस्ट प्रपोज कसले गरेको ? अनि बिहे गर्नुभन्दा पहिला.......? आदि इत्यादि ।
म मौन ।
फेरि, कत्ति चुप बस्न सकेको होला, म नराम्री छु र भिनाजु ?
अलि बढी भयो प्रेक्ष्या । मलाई गफ गर्ने मुड छैन ।
दिक्क मान्दै ऊ जबरजस्त चुप बस्छे । तर मोटरसाइकलमा बस्दा मलाई यसरी
अठ्याउँछे कि, मानांै मलाई नअठ्याउँदा म लड्छु । मलाई उसको शरीरको गन्ध
एकदमै नमीठो लाग्छ, उसको स्वास चैतको तातो हावाभन्दा कम उराठलाग्दो लाग्दैन
। एउटा पृथक बन्धनभित्र पाउँछु आफूलाई । घर पुग्नु जेलको म्याद सकिनुजस्तै
हुन्छ ।
प्रकृतिले खुबै मन लगाएर बनाएकी रहिछ खाजा । माछा फ्राइ,
टिमुर मिसाएर टमाटरको अचार, फापरको रोटी अनि चिया । शान्त प्रकृति निकै
चञ्चल छे, प्रेक्ष्या उस्तै । मभित्र उति साह्रो न उत्साह छ, न खास चिन्ता ।
प्रकृति खुसी भएको देख्दा भने एउटा नजानिँदो कौतुहलमिश्रित खुसी भने अवश्य
थपिएको छ । तर कौतुहल ग्लानिलाई माथ गर्ने किसिमको हुन सकेको छैन । फेरि
पे्रक्ष्याको उपस्थिति मलाई बोझिलो भैरहेको छ । उसको अनावश्यक चञ्चलता मेरो
वसाइ र इच्छाभन्दा विपरीत छ । कहिले खुट्टा तेर्साएर बस्छे, कहिले एउटा
टिटेवलमाथि त कहिले सोफामाथि चढाउँछे । दिदी भिनाजुको अगाडि मान्नु पर्ने
थोरै लाज, सरम पनि ऊसँग हँुदैन । कहिले हिपको कुरा गर्छे, कहिले पेटमा मासु
थुप्रेको चिन्ता गर्छे ।
दिदी आजभोलि भिनाजुलाइ के भा’को छ ?–
प्रेक्ष्याले यसरी झट्का हान्छे कि, मानौ मस्त सुतिरहेको मान्छेलाई एउटा
तीखो सियोले घोच्छ । देख्दा तीखोजस्तो नलागे पनि सियो खतरनाक हुन्छ ।
धनुष्टङ्कारको विषालु जीवाणुमिश्रित । मभित्र घोर प्रहार भए पनि शान्त
देखिने प्रयास गर्छु । थाहा छैन प्रकृतिलाइ प्रेक्ष्याका प्रश्न कत्तिको
खतरनाक भयो । तर म अनुमान गर्न सक्छु, मलाई जति नभए पनि प्रकृतिलाई प्रहार
भने अवश्य भएको छ । नत्र ऊ पनि जवाफ दिन यति ढिला गर्ने मान्छे होइन । उसले
सोच्दै नसोची पनि भन्न सक्ने जवाफ हो, के भएको छ र त्यस्तो ? अर्थात् केही
भएको छैन, अर्थात् मलाई त त्यस्तो लाग्दैन । जवाफको सट्टा लामो स्वास
तानेर फाल्छे प्रकृति । मलाई यो झन् कडा प्रहार लाग्छ । उसलाइ भन्न मन
थियो होला, तेरो भिनाजु पहिलेदेखि नै यस्तै हुन् । समाजले भन्न लगाएर
मात्रै हो, तेरो भिनाजु हुन् । उनीसँग भिनाजुमा हुनुपर्ने खास गुण नै
छैनन्, तँ मेरो ठाउँमा भएकी भए समाज विरोधी भैसक्ने थिइस् । प्रेक्ष्याको
सामान्यजस्तै प्रश्न अति गरुङ्गो भएर कोठाभित्र घुमिरहन्छ । वातावरण शान्त
हुन्छ । भित्रभित्रै भने कोलाहल । प्रेक्ष्या सायद दंग पर्छे ।
‘आबुई
के भएका होलान्, दिदी भिनाजु । झन् चुप लागेर पो बस्छन् बाई ।’ प्रकृतिको
पनि धैर्यको बाँध टुटेछ क्यार, ‘तँ एकैछिन पनि चुप लागेर बस्न सक्दिनस् ?’ ऊ
हकार्छे ।
प्रकृतिले मन लगाएर बनाएको खाजा खाने मन मरेर आउँछ । प्रेक्ष्याले त उहिल्यै बुत्याइसकिछ । हामी दुईको हाल उस्तै ।
खानुस् न, किन नखानु भएको ? नमिठो छ हो ? प्रकृतिको प्रश्न ।
मिठो छ । तिम्लेचाहिँ किन नखाएको त ? मेरो प्रतिप्रश्न ।
मैले त अघि नै पनि खाएकै हो । उसले ढाँटी ।
माछा खाँदै थिएँ । सँगै चिया र रोटी पनि । तर, सुस्तरी । माछा केलाउँदै जाँदा एउटा अर्कै माछाजस्तै जीव फेला पर्छ ।
‘यो के हो, माछा त होइन ।’ प्रकृति लक्षित जिज्ञासा ।
‘माछा नै हो, खाँदा हुन्छ ।’ हेर्दै नहेरी जवाफ दिन्छे । म खान्छु । थाहा
पाउछु । यार्सागुम्बा रहेछ । सोच्दै नसोचेको अर्को प्रहार । ग्लानि
शृङ्खलाले ह्याट्रिक ग¥यो । म निशब्द भएँ, विचारशून्य ।
अलिपछि अर्कै एकदिन ।
म अब जागिर गर्छु, एक्लै घर बस्न कठिन भो । प्रकृतिको चाहाना ।
मेरो कमाइले पुगेकै छ । किन दुःख गर्छौ ?
‘अरुका पो बच्चा हुन्छन्, स्याहार गर्न भनेर घर रुँघेर बस्छन् । मलाई त के
भो र !’ झन् तीखो प्रहार । असमन्जस्यता भित्रैबाट चुपचाप बाहिरिन्छु ।
मसँग कुनै जवाफ नै छैन । लाचार हुनुको विवशताले गाँज्छ मलाई ।
‘मैले
भिनाजुलाई भनेर एउटा काम मिलाएको छु, न्युरोडको सपिङ कम्प्लेक्समा ।
भोलिदेखि आउनु भनेका छन् ।’ त्यही दिन बेलुकाको खबर । फेरि पनि नाजवाफ
निस्सासिएर बाहिर निस्कन्छु । उसैलाई साथी बनाउँछु, जीजीबी ब्राण्डी र
चिकेन रोष्टसँगै चुरोट । पल्लो टेवलको मान्छे विहान अखवारमा पढेको समाचार
कहन्छ । सम्बन्धविच्छेदको मूल कारण पुरुषको नामर्दिपन । त्यही झोकमा एक पेग
। साविकभन्दा एक क्वाटर बढी पिउँछु । मलाई लाग्नु नलाग्नुसँग बाल छैन ।
मलाई फुर्छ– साला पक्षपाती भगवान् ! कसैलाई जति भएपनि नपुग्ने बनाउने,
कसैलाई दिँदै नदिने ? अब भगवान्विरुद्ध आन्दोलन गर्नु पर्छ । क्राान्ति
गर्नुपर्छ । समाजवाद ल्याउनु पर्छ ।’ होटलभरिको मान्छेको ‘वा वा’ पाउँछु ।
मोवाईल अफ गरिदिन्छु । कोठामा जान्न, लजमा सुत्छु ।
‘काम सजिलो छ ।
हिसाब हेर्ने हो । आज दिदीले बोलाएकी छे, खाना खाने गरी । उतैबाट जान्छु ।’
उसले निर्णय सुनाई, मैले प्रतिक्रिया दिइनँ । उसले चाहिन पनि । बिहानै एक
पेग लगाएर अफिस गएँ ।
‘तपार्इंलाइ के भएको छ, विमलजी, आजभोलि उति
बोल्नु पनि हुन्न, बिहानै पिएर आउनुभएछ । साथीलाई भन्यो भने हलुका हुन्छ,
भन्नुस्, के भयो ?’ मिल्नेजस्तै साथी रमेश सरको जिज्ञासासहितको सुझाव ।
‘केही भएको छैन, तर अब म मर्छु ।’
‘के कुरा गर्नुभएको त्यस्तो ? यो त नामर्दले गर्ने कुरा हो ।’
म नामर्द नै हुँ ।
भन्नुस्, के भयो ?
बेलुका भन्छु, रक्सीसँगै ।
दिउँसो प्रेक्ष्याले फोन गर्छे । आज म हजुरकहाँ आउँछु । कोठामा ग्याँस सकिएर टेन्सन ।
म आज रुममा हँुदिन ।
दिदी ?
त्यो मरी । कोठामा आउँदिन रे ।
हजुर मकहाँ आइस्यो न त !
आउँदिन, साथीकहाँ जाने प्लान छ । फोन काटिदिन्छु ।
बेलुका रमेशजीकहाँ नै बसें । दुख सेयर भो । मलाई रमेशको डिभोर्स भएको त
थाहा थियो तर कारण थाहा थिएन । थाहा भो, समस्या एउटै रहेछ । आधा रातसम्म
दुःखका कुरासँगै अल्कोहल मिसाइयो । एक रातको लागि रक्सीले दुःख पखाल्ने
कोसिस ग¥यो ।
घटनाक्रम यसरी विकसित हँुदै गयो कि, प्रकृतिसँगको फोनको
अनुपात ह्वात्तै घट्यो । त्यस दिनदेखि कुनै दिन प्रकृति खुलेको देख्न पाइनँ
। गजधम्म, न पानी पर्छ, न घाम नै देख्न पाउँछु । सायद मन नै अँध्यारो भो ।
मेरो कोठामा जानेक्रम फोनजस्तै भयो । शरीरसँगै मनको दूरी पनि बढ्यो ।
प्रकृतिको भिनाजु.........., सायद उसको भने मप्रति कुनै शंका नहोला ।
अनि फेरि एकदिन,
म कोठामै अन्तरहृदयी साथीसँग मस्त थिए । साँझको समय हो । प्रेक्ष्याको
प्रवेश । उसको आगमन मलाई एकदमै स्वाभाविकभन्दा बढी लागेन । मानांै ऊ अघि
भर्खरै यहीं थिई, गएकी थिई, आई । सताउन जानेकी नामुद केटी । ममा मात्रै
होईन, उसमा पनि पहिला पहिलाजस्तो चञ्चलता र उत्साह थिएन । आई, थपक्क बसी ।
एउटा दयालाग्दो आँखाले हेरी । र भनी, साँच्चै भिनाजु तपाईंलाई के भएको छ ?
मैले छोटो जवाफ फर्काएँ, खासै केही भएको छैन । जति भएको छ, तेरै दिदीलाई
थाहा छ, सोध् । मलाई त यतिमात्रै थाहा छ कि, अब म धेरै बाँच्दिन ।
एकैक्षण मौनता । उ टाँसिएर मसँगै बस्छे । ऊ आफंै हाल्छे एक पेग, मेरो
अन्तरहृदयी साथी । चियर्स पनि नभनी तान्छे । मही सोचिछ क्यार, तुनतुन तान्न
खोजी, झन्नै छादिन । लामो समयपछि मलाई हाँसो फुट्यो । र पनि ऊ पिउने
मानसिकतामा नै छे । चुपचाप फेरि पिई । दोस्रो त्यस्तो भएन । म हेरिरहें, ऊ
पिइरही । झ्याप भई । बकबकाउन थाली ।
‘हो, भिनाजु म तपाईंलाई भित्रैदेखि
मन पराउँछु, चाहन्छु । यो मेरो गल्ती भए क्षमा दिनुहोला । म दिदीको सौता
बन्न पनि तयार छु । ऊ प्रायः धाराप्रवाह बोलिरहन्छे, म सिर्फ सुनिरहन्छु ।
मेरो चञ्चलतालाई अश्लील नभन्नु होला । यो मेरो चोखो भावना हो । बुझ्ने
कोसिस गर्नुहोला, नत्र म जे पनि गर्न सक्छु ।
जे पनि भन्नाले ? म बोल्छु ।
मरिदिन्छु । ऊ सहज भन्छे ।
निश्चय हामी अल्कोहलको नशामा नराम्ररी भिजिसकेका थियौं । हाम्रो खास भाव
ओकलिँदै थियो । लगभग प्रेक्ष्याले त पुग्नेजति ओकलिसकी । तर उसले मबिना
मरिदिन्छु भन्दा उहिले छातीमा टाउको राखेर प्रकृतिले पनि यस्तै भनेको याद
आयो । सम्झना वर्तमानमा आएर ठोकियो । सोचें प्रकृति अहिले मबिनाको जीवन
चाहिरहेकी छ । उसलाई म निल्नु न ओकल्नु भएको छु । प्रेक्ष्याले यो सब थाहा
पाई भने सायद मलाई छोड्छे । नत्र सुख दिन्न । तर मैले मेरो कमजोरी उसलाई
कसरी देखाउने ?
के साँच्चै तिमी मबिना मर्छौ त ?
देखाइदिऊँ ?
हेरौं त !
जुरुक्क उठी । हतार–हतार सोफामाथिको झोलाबाट एउटा सानो सिसी निकाली । म
सामान्य ठानेर टुलुटुलु हेरीमात्र रहें । तर उसले तुनतुन पहिलो पेग
ब्राण्डीकै शैलीमा पोइजन पिएकी रहिछ । तैपनि उसलाई बचाउन मैले खास प्रयत्न
गरिनँ । किनकि, मबिना ऊ मर्ने नै रहिछ । मेरो भएर प्रतिदिन थोरै– थोरै
मर्नुभन्दा ऊ आफैंले सिङ्गै मरेको राम्रो लाग्यो ।
उ लास भई । म जिउँदो
लास । म लासमात्रै हुन सकिनँ । किन थाहा छैन । त्यसै रात काठमाडौं छाडेको म
दस वर्षदेखि यो कुटीमा छु । त्यतिबेला रक्सी पिउँथे, अहिले गाँजा तान्छु ।
त्यतिबेला दुनियाँको मतलव हुन्थ्यो, अहिले कसैको मतलव छैन, आफ्नै पनि ।
 |
| जगदीश घिमिरे |
मान्छेको छाउरो
निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा
तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश
छुने गरी - क्याइँ क्वँ वाँ वाँ वाँ ईं ईं ईं क्वाँ वाँ वाँ वाँ वाँ ईं ईं
ईं ईं ईं ईं...! यो चीत्कार दोहेरिन्छ, तेहरिन्छ, चौहरिन्छ, प्रत्येक पटक
अझ सघन, अँ तिखो, अझ अग्लो भएर कराउँछ यो आवाज।
किस्नेलाई यो मन पर्दैन।
ढोकाबाहिर
चिसो सडकमा नाङ्गो आकाशमुन्तिर जरुवा पानीझैं यो आवाज भुलुभुलु उम्रेको छ,
प्रत्येक पछिल्लो क्षणमा झ्याङ्गिदो छ र किस्ने ढोकाभित्र रेष्टुराँको
चिसो छिंडीमा शीताङ्ग छ। विचित्र किसिमको जाडोले ऊ काम्दो छ। उसका पैताला
भुइँजति चिसा छन्; औंलाका टुप्पामा ठिही छ। अनि घुँडामा एक किसिमको दुखाइ
छ। जति बढी चिसिंदै गयो, त्यो दुखाइ उति बढी हुँदै जान्छ। उसलाई पनि एक पटक
त्यै कुकुरको छाउरोजस्तो गी कराउन मन लाग्छ। तर सक्तैन। किनभने ऊ मानिसको
छाउरो हो र ऊ ढोकाभित्र छ।
त्यसैले किस्नेलाई त्यस कुकुरको छाउरोको
आवाज तीतो लाग्छ। के ढोका खोलिदिऊँ, छाउरो भित्र पसोस्, अँगालेर सुतूँ,
उसलाई पनि तातो, आफूलाई पनि तातो, ऊ सोच्छ! विचार बेसै हो, ऊ विचारप्रति
विचा गर्छ। तर ऊ ढोका खोल्न उठ्दैन। दुइटा बेन्च जोडेर सुतेको छ। सासको
तातोले अनुहार र छाती, काखीको तातोले दुवै हत्केला तातेका छन्। ती जम्मै
सेलाउँछन् ढोका खोल्न उठ्यो भने। पैताला हिमाल हुन्छ। अहँ, ऊसँग त्यति
जाँगर छैन। छाउरो अझ तीव्रतासाथ उकेल्छ उसको छातीमा नअटाएका तीतो।
रेष्ट्राँ
बाह्र बजे बन्द भयो होला। तीनटा ऊजस्ता मसिना भुरा केटाहरु तीनटा लाठे
कुकहरूसँगै गए। तिनीहरू कुकहरूकै डेरामा कुकहरूसँगै सुत्छन्। चौथो कुकसँग ऊ
सुत्दथ्यो, जसले एक महिनाअगाडि मात्रै एउटी रण्डीसँग बिहा गरेको छ। अत:
किस्नेको ठाउँ स्वत: त्यस रण्डीले लिएकी छ। यसरी हाल ऊ रेष्ट्राँमा सुत्ने
गर्छ, एक्लै। काठमाडौंमा उसको जाडोको यो दोस्रो अनुभव हो। पोहोरको हिउँद
उसले पल र जूलीसँग सुतेर बितायो। पल एउटा फ्रेन्च हिप्पी र जूली एउटी डच
हिप्पिनी। उसको पहाडमा यस्तो विधि जाडो हुँदैनथ्यो। पोहोर दशैंताक ऊ यहाँ
सडकमा सुतेर बिताउँथ्यो तैपनि यस्तो जाडो लागेको थिएन। कुकुरको छाउरो किन
त्यसरी कराएको हँ? भोलि बिहानसम्म पक्कै मर्छ क्यार! कि ढोका खोलिदिने हो?
(अब छाउरो धेरैचोटि क्वाइँ क्वाइँ नगरेर थोरैचोटि तर धेरै लामू समयसम्म र जोडसँग क्वाँ... ईं... क्वाँ... ईं... गर्न लागेको थियो।)
घरबाट
भाग्दा ऊ माग्ने हात र खाने मुख मात्रै बोकेर आफ्ना खुट्टामा सवार भएर
भागेको थियो, मूलबाटै मूलबाटो। उसलाई थाहा थियो, सुनिरा'को थियो, पढेलेखेका
ठिटाहरु नेपाललाई 'काठमाडौं' पनि भन्छन्, खूब बयान गर्छन्। अत: उसले 'तीन
सहर नेपाल' जाने मूलबाटो समायो। उसले धुलिखेललाई 'नेपाल' भनिठान्यो,
बनेपालाई 'नेपाल' भनिठान्यो, ठिमीलाई 'नेपाल' भनिठान्यो। नयाँसडक आइपुगेपछि
चाहिं सक्कली 'नेपाल' आउनै छ भनिठान्यो।
धुलिखेल आइपुग्दा ऊ दुई
दिनको भोको थियो र एउटा होटलमा भाँडा माझ्न थाल्यो, अहिले पल्टिरहेको होटेल
उसले काम गरेको अठारौं होटेल हो। बीचमा ६ महिनाजति ढाक्रे थियो। दुई महिना
माग्ने पेशा अपनायो। वसन्तपुरको पेटीमा सुत्यो। हिप्पी र टुरिस्ट देखेपछि
सबै भुराजस्तै ऊ पनि हात फैलाएर पछि लाग्यो -
'नो मामा
नो पापा
नथिङ् टु इट
हँग्री: प्लीज!'
यो
त्यहाँ सुत्ने सबै भुरालाई कण्ठै थियो, कुन्नि कसले सिकाइदिएको, सायद कुनै
हिप्पीले जुन आफू पनि मागेर हिंड्थ्यो र बेलामौकामा तिनीहरूसँगै त्यहीं
सँगै सुत्थ्यो।
किस्ने अझ सेलाउँदै जान्छ। सुत्ने बेलामा उसले
आफूलाई रनक्कै तताएको थियो। गाँजा-चरेसको धूवाँले, बिहानदेखि सल्किरहेको
हीटरको बाटो साटो काम लिइएका चार-पाँचओटा दमचुलीको मकलले, मान्छेको भीडले
पनि कोठा केही तातै थियो। सुत्ने बेलामा उसले जम्मै मकलका गोल निथारपिथार
पारेर एउटैमा खन्याएर भुङग्रो चम्काएको थियो र हातखुट्टा सबै तताएको थियो।
त्यै रन्कोमा ऊ दुई-तीन घण्टासम्म निदायो पनि तर अहिले ब्यूँझेको छ। ...
सायद छैन। उसले यो निधो गर्न सकेको छैन, ऊ निदाएको छ वा ब्यूँझेको छ। बिहान
सात बजे मालिक ओर्लन्छ। त्यति बेलादेखि राति बाह्र-एक बजे मात्रै कामको
जुवा काँधबाट ओर्लन्छ। त्यस बेला मालिकको, साथी बेराहरुको, कुकहरुको आँखा
छलेर उङ्नसम्म पाइन्छ। अनि, कहिल्यै अघाउन्जेल सुत्न नपाएको निद्रा, थकाइ र
आलस्यको बोझले गर्दा जति जाडो भए पनि, जति चिसो भए पनि ऊ राम्रै ब्यूँझेको
छैन। तर ऊ छाउरो रोएको तीतो स्वर अवस्य सुनिरहेछ र बिथोलिरहेछ। ढोका खोलेर
त्यसलाई हुलूँ कि नहुलूँ? दोधारमा छ।
उसलाई थकाइ, निद्रा र
आलस्यभन्दा चिसो र ब्यूँझाइले जितेछ क्यार, सिरानमुनिबाट उसले एउटा चरेस
भएको चुरोट झिक्छ, जुन आज दिउँसो उसलाई बयाथी भन्ने अङ्ग्रेज हिप्पिनीले
दिएकी थिई। सल्काएर सुईसुई तान्न थाल्छ।
पल यो हिउँदमा, नोभेम्बरमै
फेरि आउँछु भनेर गएको हो; क्रिसमस भैसक्यो, तर आएन। पलसँग दोस्ती भएपछि ऊ
पलसँगै सुत्न लाग्यो। पलसँगै खान। पलसँगै डुल्न।
पलले उसलाई
बालगिरीको होन्डामा बारबीसे डुलाउन पनि लगेको थियो। पल नाङ्गै सुत्थ्यो।
मागेर हिँड्नेताका गाँजा खान, चरेस खान उसले पनि पलसँगै सिकेको हो। पल
भन्थ्यो, "म तँलाई माया गर्छु।"
किस्नेलाई पनि पलको माया लाग्छ। तर
यो हिउँदमा, यो चिसोमा ऊ पलको अँगालोमा सुत्न पाएन। पल आएन, न जूली नै आई।
जूली त नेपालमा थिई, साथीहरुसँग ट्रेकिङमा गएकी तर फर्किन। साथीहरू पीटर,
क्रिस्टी, ओभ, मेडलिन सबै फर्किसके। ऊबारे सोध्दाखेरि 'हू नोज?' भन्छन्
जसको ठीक अर्थ किस्नेले बुझ्न सकेको छैन।
जूलीले पनि उसलाई महिनौं
आफ्नू कोठामा सुताएकी छ। आफूसँगै; तर जूली नाङ्गै सुत्दिन। एक दिन
मध्यरातमा कुन्नि कताबाट बब आइपुगेपछि जूलीले उसलाई निकालिदिएकी थिई,
रण्डी!
ऊ त्यै चुरोटसँग जोडेर चरेस भरेको अर्को चुरोट सल्काउँछ।
चरेसको मातले उसको टाउको घुमाउन थाल्छ। उसलाई लाग्छ ऊ आफ्नू ओछ्यानबाट केही
उचालिंदैछ। बाहिर छाउरो कराउँदैछ। जूलीले भनेकी थिई, चरेसले सोझै स्वर्गमा
पुर्याउँछ। धरतीरूपी नर्कमा बस्नु पर्दैन, यो उसले अरूसँग अर्थ लाइमागेर
जानेको। उसले जान्ने अङ्ग्रेजी त 'यस' र 'नो' अनि अलि-अलि टाकनटुकन मात्रै
हो। सोच्यो ऊ स्वर्गतिर जाँदैछ, छाउरो रुँदैछ। उसले आफ्नै आमा सम्झ्यो,
जूली पनि उसलाई कता-कता आमाजस्तै लाग्थी। उसलाई मायाले टाँस्थी पनि। एक जोर
दोचा किनिदिएकी थिई।
ऊ पन्ध्र सालको अनिकालमा जन्मेको थियो र,
जन्मेकै वर्ष बाबु खसेको र पच्चीस सालमा आमा पोइल गएपछि झड्केलो बाबुको
कुटाइ खाएको बेहोसीमा, दशैंको मुखमा घर छोडेर भागेको थियो।
चरेसको
सुरमा ऊ झड्केलो बाबुको जुँघा सम्झिन्छ। पलमा उसले आफ्नू झड्केलो बाबु
देख्न सकेन... अब साँच्चै ऊ केही सम्झन सक्तैन... साँच्चै स्वर्ग जाँदैछ
क्यार... ऊ चरेसको धूवाँ निल्दै जान्छ... ऊ त्यो कुकुरको छाउरोको तीतो आवाज
सुन्न छाड्छ (यद्यपि त्यो छाउरो अझ बेसरी रुँदै हुन्छ)... ऊ आफ्नू
शीताङ्गलाई बिर्सन्छ... भोलि बिहान सात बजेदेखि मेलोमा जोतिनुपर्ने
बन्धनलाई बिर्सन्छ ... सात बजे पाइने दुइटा पाउरोटी र एक कप चियाको
ब्रेकफास्टलाई बिर्सन्छ... महिना मरेपछि नगद पाउने रु. दशलाई बिर्सन्छ... !
तर
भोलि मालिकले गाँजाको गन्ध पायो अर्थात् उसले गाँजा-चरेस खान्छ भन्ने थाहा
पायो भने त्यस रेष्ट्राँबाट पाकेको तलब छाडेर निस्कनुपर्छ भन्ने
बिर्संदैन, किनभने उसले त्यही अपराधको दण्डस्वरूप हरेक रष्ट्राँबाट
निकालिमागेको हो।
ठुटो राम्रोसँग निभाएर फ्याँकिदिन्छ, तर ऊ ठुटो
फ्याँक्न झट्कारेको हात फर्काउन सक्ने स्थितिमा हुँदैन चरेसको मातले गर्दा।
उसको जिभ्रोमा चरेसको तीतो-तीतो स्वाद आइरहेको हुन्छ। घाँटी सुकेको हुन्छ।
भोलि
दिउँसो देख्छ, हिजो राति रुने कुकुरको छाउरो आमाको लाम्टा चुस्दै थियो। यस
दृश्यले उसलाई भरेका लागि चरेसदार चुरोटको जोहो गरिराख्न सम्झाइदियो, आमा
होइन।
No comments:
Post a Comment