यात्रा संस्मरण



जाने हैन त चाँगुनारायण ?




 

जितेन्द्र रसिक


बिहानै सबेरै चाँगु दर्शनको लागि केहि साथीहरुसहित हामी चाँगुनारायण हुँइकियौं । शिर्शिरे हावामा चाँगुनारायाण वरीपरिका रुखहरुमा चराहरु चिर्विर चिर्विर गर्दै हामीलाई नै डाके झैं गरी कराउँदै थिए । विहानीको समय आकास खुल्दै गयो । चाँगुनारायण सुर्योदय दृश्यावलोकनका लागि अति उपयुक्त स्थल भएकाले हामी सुर्य उडाउनु पूर्व नै हातमा क्यामेरा झुण्ड्याएर मन्दिर छेवैको डाँडाँमा उभियौं । नभन्दै सुनौलो रुप लिएर उडाएको सुर्यले  मन चञ्चल बनाउँदै बैंशको उकालो चढ्यो । त्यतिखेर सम्म हामीले बाटुलो पहेंलो सुनकै थाल जस्तो सुर्यलाई पछाडी पारी विभिन्न आसनमा फोटो सेसन ग¥यौं । मौसम सफा थियो । पूर्वमा नगरकोट लोभिँदै हाम्रो आगमनमा कुरेझै ठीङ्ग उभिएको थियो । पश्चिममा थानकोट गजधम्म उभिएको थियो । उत्तरमा शिवपूरी निकुञ्ज लटरम्मै गुराँस फुलाएर हामै स्वागतमा उभिएझैं देखिन्थ्यो । दक्षिणमा फुल्चोकी डाँडाँले हातै दिएर तान्न खोजेझैं आभाष मिल्यो । ऐनामा हेरेजस्तै काठमाडौ उपत्यका कोरीवाटी श्रृगारमा उभिरहेछ । धरहरा आकासै छेडुँलाझैं घरहरुको मुनि घोसेमुन्टो लगाएर बसेको बस्यै छ । सायद उ रिसाइरहेछ वा सोढीरहेछ ए मान्छेहरु हो मेरो अस्तित्व खै !

चाँगुनारायण यदाकडा घुम्न गए पनि आज भने हामी यस्को महत्व र इतिहाँसबारे जान्न खोज्दै थियौं । चराले वचेराको लागि चारो खोजेर्झै  स्थानिय बुढापाकाहरुको इतिहास झुण्डिएका बोलीहरु टपक्क टिप्दै हामी मनोरम दृश्यावलोकनको साथमा भुर्र भुर्र उडेका चरिहरु झै रमाउँदै सयर गरिरह्यौं ।
भक्तपुर आफैमा कलाहरुको सहर,संस्कृतिको धरोहर । त्यसमाथी चाँगुनारायणले त सिङ्गो संस्कृतिको मन्दिर मानिएको भक्तपुरको गजुरको काम गरिरहेको छ । चाँगुनारायण आफैमा महत्वपूर्ण धार्मिक तथा पर्यटन स्थल मध्य एक हो । उपत्यकाकै सबै भन्दा पुरानो र प्यागोडा शैलिको चाँगुनारायण मन्दिरको छुट्टै बिशेषता रहेको छ । त्यहाँको गाविसको नाम पनि उक्त मन्दिरको नाम बाटै त्यहाको रहन गएको छ ।
परापूर्वकालमा घना जङ्गलको रुपमा रहेको हालको चाँगु नारायण लाई चम्पकारण्य बन अर्थात चाँपको बन पनि भन्ने गर्दथ्यो । नेपाल भाषमा चापलाई च र बन लाई गुँ  भनिन्छ । सोहि नाम चगुँ बाट उपभ्रंस भै उक्त स्थानको ना चाँगु रहन गएको इतिहाँसकारहरको भनाई पाइन्छ ।

विश्वसम्पदा सुचिमा सुचिकृत यी मन्दिर राजा हरीदत्तः शर्माले इश्वी सम्वत ३२३ मा बनाएको हो भन्ने धनवज्र बज्राचार्य लगायतका  इतिहाँसकारहरुको मान्यता रहेको छ । काठमाडौ बाट करिव २० किलोमिटरको दुरीमा रहेको चाँगुनारायण क्षेत्र पर्यटकीय दृष्टिकोणले अति रमणिय र काठमाडौ र भक्तपुर को दृश्यावलोकनको लागि अति उपयुक्त स्थल मानिन्छ । मन्दिर परिशर भित्र रहेका अनगिन्ती देवी देवताले चाँगुनारायणलाई शोभायमान बनाएको छ । छिन्न मस्ता माई,किलेश्वर महादेवको मन्दिर,गरुद नारायण,बिश्व स्वरुप,अस्टमातृका,विश्व विक्रान्तको मुर्ति,लक्ष्मी नारायण,नरसिंह, चारहाते भिमसेन जस्ता १४ औं देखी १७औं सताव्दीका मुर्तिहरु कलाकृत छन् । चाँगुनारायणको अर्को विशेषता विभिन्न समय लाग्ने फरक फरक मेलाहरु पनि हो । फागु पूर्णिमामा बंश गोपालको रथ यात्रा हुने गर्दछ । उक्त रथ विश्वकै सबैभन्दा सानो रथ मानिन्छ । जसको उँचाई ८ फिट रहेको छ । त्यस्तै चैत्र पूर्णिमाको दिन लक्ष्मी नारायणको पनि ठूलो मेला लाग्ने गरेको स्थानिय सन्तोष भुजेल वताउँछन् । हरेका बुधवार चाँगुनारायणमा खिर भोज हुने गर्दछ ।  उनका अनुसार स्थानिय बासिन्दाहरुले बुधवारकै अवशर पारेर वच्चाहरुको अन्नप्रासन गर्ने पनि चलन रहि आएको छ । चाँगुनारायण प्रवेशद्धारको पनि आफ्नै महत्व छ ।  त्यहाँको सिंढी चढ्दा पनि पुण्य कमाइनछ भन्ने जन विश्वास पनि पाइन्छ । धार्मिक महत्वका साथ निर्मित १ सय ८ खुड्कीलाहरु रहेका छन् ।
चाँगुनारायणको अर्को महत्वपूर्ण पक्ष भनेको बैशाखमा ध्वजा चढाउने,असार शुक्लपक्षमा चाँपको फूल चढाउने र द्धादशीमा धागो चढाउनु हो । हरीवोधिनी एकादशी,कृष्णाष्टमी, नागपञ्चमी मेला पनि चाँगुनारायणका विशेष मेला अन्तर्गत पर्दछ ।


 

साहित्यिक मिसनप्वाइन्ट र डोलेश्वर यात्रा


जितेन्द्र रसिक


श्रावण महिनाको अन्तिम शनिवारको कुरा हो २७ गते नै अफिसियल काम लिएर पोखरा जानुपर्ने थियो । २६ गते साँझ, अचानक, पोखराको कार्यक्रम पोस्टेड् भयो भन्ने जानकारी पाउन साथ साथीहरु मध्ये म नै पहिले खुसीले उफ्रेको थिएँ ।

फेरी फोन को घण्टिले मेरो यात्रामा अवरोध सृजना गर्ने अद्दि कस्न थाल्यो । सिन्धुपाल्चोकको फोन थियो । नेवार समुदायमा जनै पुर्णिमा र गाईजात्रा अत्यन्तै लोकप्रिय र शोक निधान पर्व हो । मलाई सिन्धुपाल्चोक नगै नहुने वातावरण सृजना हुन थाल्यो । मैले जिवनमा पहिलो पटक आफ्नैलाई ढाँटें कि म अफिसियल काम मा पोखरामै छु  भनेर । किनकी कार्यक्रमको संयोजक स्वयं भएकोले पनि कार्यक्रम भन्दा टाढा रहन सक्दिनथें । केदारनाथको शिर मानिने डोलेश्वर महाँदेवको दर्शन गर्न विशेष महत्वका साथ  भक्तजनहरु सिपाडोलको उकालो चढ्दै त्यहाँ पुग्छन् । तर म भने धार्मिक स्थल डोलेश्वर महादेवको दर्शन  र साहित्यिक कार्यक्रम संयोजन दुबै लक्ष्यका साथ त्यहाँ पुगें । भक्तपुर साहित्यिक समाजको आयोजनामा घुमन्ते सहित्यिक शृङ्खला भाग दुइको पाँचौं शृङ्खला केदारनाथको शिरमै गर्ने आयोजकको निर्णय थियो ।
डोलेश्वर मन्दिर परिशर


कार्यक्रम स्थलमा पुग्नु अगावै सुर्यविनायकमा विभिन्न साहित्यिक समाज र आसपासका जिल्लाहरु बाट स्रस्ताहरु उपस्थिती भैसकेका थिए । केहि दिन अगाडि कार्यक्रम मा उपस्थिीती हुने प्रतिवद्धता जाहेर गरेका सहृद्धय  मित्र न्युज अपडेट साप्ताहिक तथा राजधानी दैनिकका सम्पादक रमेस दनेखु को खोजिमा नयनहरु भौतारिए । सधैंजसो व्यस्त हुने उहाँको दैनिकी सँग चिरपरिचित छु म । भक्तपुरको पत्रकारिता जगतमा महत्वपुर्ण उनको योगदानले म सधैं सधैं पुलकित हुने गरेको छु । भक्तपुरमा पत्रकारिता जगत  स्वतन्त्र र निष्पक्ष तरिकाले अगाडि बढाउन चाहने एक होनहार पत्रकार दनेखु को व्यस्तता  आँखा भरी सल्वलाएपछि स्वयं मुक भएँ । कार्यक्रममा उपस्थिती हुन नसक्नु उनको कार्य व्यस्तता हो भन्ने म जानकारमा थिएँ । त्यसैले न्यूज अपडेट साप्ताहिककोे प्रतिनिधित्व पनि स्वयं आफैले गरें । त्यतिकैमा मोवाइलको घण्टिले ध्यानाकर्षण ग¥यो । कवि चन्द्रप्रसाद न्यौपाने ले गरेका रहेछन् । उनलाई सुर्यविनायकमा अध्यक्ष प्रभाकर असिमलाई भेट्न र स्थानको जानकारी दिएँ । ६ साहित्यिक संस्था हरु क्रमस ज्योती साहित्य प्रतिष्ठान काठमाडौं,अनामण्डली काठमाडौं, जुनकिरी साहित्य समाज काभे्र, कलम साहित्य समाज काभ्रे,रचनात्मक साहित्य समाज भक्तपुर, र भक्तपुर साहित्यिक समाज समाहित सो कार्यक्रममा पचासौं भन्दा बढि स्रस्ताहरुको उपस्थिती ले छुट्टै रौनकता थपिरहेको थियो । सिपाडोल वसपार्क सम्मको यात्रा पछि, कवि श्याम गैडा लोक गायक बुद्धिकृष्ण लामिछाने लगायतका का स्रस्ताहरु घाँसै कात्ने खुर्केर र पिधींमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुदै हुन् मलाई सम्झेर गाउँदा गाउँदै अगाडि बढ्दा एकजना वटुवाले ठट्टा गरे तपाईहरुको आमा त हैन डोलेश्वर महाँदेव चाहिं पर्खाइमा रोएर बसेको होला । पुरै वातावरण हाँसोमा गुञ्जियो । गीत गाउँदै सुन्दै पसिना पुछ्दै उकालो लाग्यौं । यात्रामा कतै कतै भक्तजनहरुलाई हामीले पनि साथ दियौं त कतिपय ठाउँमा उनीहरुले पनि साथ दिए ।  सवारीसाधनमा दर्शनको लागि जाने भक्तजनहरु जगाती को बाटो हुँदै मन्दिर पुग्न सजिलो छ । तर काठमाडौं बाट समाजको निम्तो स्विकारेर डोलेश्वर मा कविता दर्शन गर्न आएका ज्योती साहित्यिक प्रतिष्ठानका अध्यक्ष मनिराज सिंह र सचिव  कमला रिसाल ज्योती भने सुर्यविनायक बाट बसलाई पच्छ्याएर आउँदा आउँर्दै बाटो नै भुलेर साँगा पुगेछन् । फोन सम्पर्क पछि मात्र पुनः लोकेसन पहिल्याएर अनामण्डलीका सुरेस जी र रुपक अलङ्कारलाई पच्छ्याउँदै सिपाडोल आइपुगेपछि हाँसोको फोहोरानै छुट्यो । कारण बुझ्दा त उस्तै गाडि देखेर पच्छ्याउँदा पच्छ्याउँदै झन्दै बनेपा पो पुगेछन् मणि दाजु । समाजका अध्यक्ष प्रभाकर असिम र काशीराम विरस पछिल्लो गाडीमा सर्जकहरुलाई यातायत व्यवस्थापनमा लागिरहे । उद्घोषक हरी छुँका र म  सर्जकहरुलाइृ लिएर उकाले लाग्दै थियौं  । देलेश्वर पर्यटकिय क्षेत्र भएकोले फुर्सद मिलाएर भक्तपुर आईपुगेका पर्यटकहरु पनि डोलेश्वर भ्रमणमा पुग्ने गरेका छन् । तर सोचे जति पर्यटकहरु डोलेश्वर भ्रमणमा नआएको स्थानियहरुको धारणाले सो क्षेत्र अति चित्ताकर्षक भएर पनि प्रचार प्रशारको कमीले पर्यटकहरुको उपस्थितीमा कमी भएको स्विकार्न सकिन्छ । केदारनाथको शिरोभागको रुपमा वर्तमान समयमा आएर प्रख्यात कमाइरहेको सिपाडोलको डोलेश्वर महाँदेवकोे छुट्टै पहिचान रहेको छ । राजा जर्ग ज्योति मल्ल ,भुपतिन्द्र मल्ल लगायत अरु विभिन्न दाताहरुको किर्ति रहेको पाइन्छ । नेपाल सम्वत ८५६ र ८५९ को दुई छुट्टा छुट्टै अभिलेखमा देखिएको एउटा नाम हो मनेहर सिंह भारो । उनले राखेको ति दुई किर्तिलाई अध्ययन गर्ने हो भने उनि डोलेश्वर महाँदेवको एक अनन्य व्यक्ति भएको पुष्ति भक्तपुरका  संस्कृतिविद्हरुले पुष्ति गरेका छन् । मपौ र दपौ को किम्वदन्ति अनुसार डोलेश्वर महाँदेवको २८८ किलो त्रिसुल नै अन्तिम किर्तिको रुपमा रहेको संस्कृतिविदहरुको धारणा रहेको छ । शान्त र मनोरम वातावरणमा उच्च स्थानमा रहेको डोलेश्वर महादेव अति आनान्दित स्थानका धार्मिाकस्थलको रुपमा  लिइन्छ । ति ठाउँमा कहिल्यै पनि बाहिरका स्रस्ताहरु आएर साहित्यिक कार्यक्रम गरेका छैनन् रे । त्यस विद्यालयका शिक्षिका उर्मिला थापाले कार्यक्रम सुरु हुनु अघि नै प्रसन्न भएर भने । आज हाम्रो विद्यालयमा पनि साहित्यिक कायृक्रम हुन लागेकोले शनिवार भए पनि विद्यालय आउन मन लागेको वताईन् । त्यहाँका साना साना नानीहरुमा पनि प्रतिभाका खानीनै रहेछन् । उनीहरुले त मुक्तक र चुत्कीला भनेर सबै सर्जकहरुलाई हँसाए । विश्वकै दसौं लहरमा परेको कृति चन्द्रयुगका स्रस्ता चन्द्र प्रसाद न्यौपाने पहिलो पल्ट भक्तपुरको कार्यक्रममा सहभागी भएका रहेछन । उनलाई भक्तपुर असाध्यै मन पर्ने शान्त र पर्यटकिय शहर भएको भन्दै बाटोमै छन्द कविता सृजना गरेर सुनाए । हामी सबै मन्त्र मुग्ध भयौं । भैरव अर्याललाई सम्झेको सो कार्यक्रम गाईजात्रा विशेशाङ्क भएकाले अधिकाास स्रस्ताहरुले नेपालको संविधान र नेताहरुको लाचारपिनलाई व्यङ्यका साथ गीत गाउँदा सबै जुरु जुरु उठेर नाचेका थिए । पुराना लोक गायक बुद्धिकृष्ण लामिछानेले बजारमा ल्याउनै लागेको लोकगीत पैसा ओ पैसा सुनाउँदै नाच्न थाले पछि स्रस्ताहरुले पनि उनलाई साथ दिए । त्यस पछि त के चाहियो सबैले तालमा ताल मिलाएर ताली ठोके । गायक लामिछाने भने मच्चि मच्चि नाचे बुढेसकालमा पनि उनको जोस जाँगरमा कुनै कमी नदेख्दा हामी सबै डङ्ग । त्यस पछि त के चाहियो समाजका अध्यक्षले पनि गजल गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध पारे र करिव साढे चार वजे कार्यक्रम सकाएर सबै स्रस्ताहरुले पदमार्ग रोज्यौं मिठा मिठा गफ गर्दे गन्तव्य पहिल्याई रह्यौं । मिठा मिठा अनुभुतिहरु संगालेर । सबै कवि तथा स्रस्ताहरुले छुट्ने बेला पनि भन्दै थिए । कार्यक्रम अति रमाइलो र भ्रमण शैलीको भयो अर्को कार्यक्रम पनि यस्तै ठाउँ रोजेर गर्नुहोला है सर ! भन्दै बिडाइको हात हल्लाए । मैले पनि सो यात्रालाई उपलव्धिमुलक मानें । र मन मनै भनें भक्तपुर साँच्चै स्वर्गानुभुति  दिलाउने रमाइलो स्थान हो । जहाँ हरेक ठाउँको छुट्टा छुट्टै पहिचान र महत्व छ  ।

No comments: