मलाइ यूरोप यात्रा फापेको छ - धिरज राई,पप गायक
| गायक धिरज राई गीत प्रस्तुत गर्दै यूरोपमा । |
पेशा र कामले सबै क्षेत्रमा आनन्द र मज्जा लिन सक्ने क्षमताका यि राईले नेपाली एकता समाजले आयोजना गरेको पेरिसको कार्यक्रममा आफ्ना समर्थकहरुको होहल्ला र संगितको रमझमकै बिच अन्तर्वार्ता दिनपनि भ्याए । उनले दिएको अन्तरवार्ताको अंस ।
कति भो यूरोप आउनुभएको ?
पाँच हप्ता जति ।
कहाँ कहाँ पुग्नु भयो ?
हल्यान्ड,स्विडेन, डेनमार्क, बेल्जियम, पोर्चुगल, स्पेन, स्विजरल्यान्ड, फ्रान्स अनि यसपछि जर्मनी र फेरी बेल्जियममा जाँदैछु ।
सबैभन्दा रमाइलो कहाँ लाग्यो ?
सबै ठाउँको आआफ्नो बिशेषता रहेछ ।
भन्नाले कस्तो बिशेषता ?
स्विजरल्यान्डको प्रकृति । पोर्चुगल र स्पेनको समुद्री किनार । डेनमार्कको इतिहास । फ्रान्सको पुरानो कुरा बचाउनुपर्छ भन्ने सभ्यता । हल्यान्डको प्राकृतिक सुन्दरता । सबैको आआफ्नो बिशेषता भेटेँ ।
कार्यक्रमको हिसाबले कहाँ बढी सफल रहनुभो ?
मैले अहिलेसम्म पाँच ६ वटा देशमा कार्यक्रम गरेँ । सबै ठाउँमा कार्यक्रम राम्रो र सफल भयो । धेरै मानिस भएको ठाउँमा धेरै सहभागिता भयो । जस्तो बेल्जियममा नौ शय देखि हजार मानिसको सहभागिता थियो होला ।
उसोभए त पैसा पनि थुप्रै कमाउनुभयो होला ?
साँच्चै भन्नुपर्दा मैले पैसालाई कहिल्यै महत्व दिइन । मेरो लागि गाउनु र आफ्नो कला देखाउनु सबैभन्दा महत्पूर्ण कुरा हो । मेरा दर्शकहरुलाई खुसी बनाएँ । त्यो नै महत्वपूर्ण हो मेरा लागि ।
कलाकारहरुको काम अरुलाई खुसी दिनु हो कि आफ्नो इच्छा अनुसारको गीत गाउनु पनि हो ?
अरुको भावनालाई प्रतिनिधित्व गरेर एउटा गायकले गीत गाउने गर्छ ।
यसको मतलब तपाँइले अरुको लागि गाउनु भयो । तर आफ्नै लागि गाउनु भएन ?
कला दुइ किसिमको हुन्छ । आफ्नो भावनालाई कदर गरेर गाउने । अर्को चाँही अरुको भावना समेट्ने । त्यसो हुनाले कतिपय गीतहरु मैले आफ्नो लागि गाएको छु भने कतिपय दर्शकको लागि गाएको छु । तर आफ्नो गीत बाहिर ल्याएर गाइसकेपछि त्यो सार्बजनिक र सबैकालागि हुन्छ । त्यस्ता गीतले समानता पाउँछन् । स्वतन्त्रता पाउँछन् । ब्यक्ति बिशेषकालागि मात्र रहँदैनन ।
पेरिसको कन्सर्टमा पनि तपाँइले आफ्ना लागि गाएका गीतहरु गाउनुभयो ?
गाएँ । हिजोको पेरिसको कार्यक्रममा पनि गाएँ ।
कुनै उदाहरण ?
जस्तै "तिम्रा नयन तिम्रा अधर ।" "तिमी रुँदाखेरी म पनि त रोएको थिएँ ।" यो यो भन्नु मिल्दैन । एक्लै हुँदा म दुखी हुन्छु भने अरु पनि त दुखी हुन्छन् नि हैन र ? मेरो मात्र भावना नभनौँ त्यसलाई । दर्शकका भावनाहरुपनि समेटिएका हुन्छन् यस्ता गीतमा ।
तपाँइको कुन कुन गीत बिशेष गरी रुचाइएको अनुभव गर्नुभयो पेरिसमा ?
मेरो करीव १२ वटा जति एल्बम निस्केका छन् । ति एल्बमबाट दुइ दुइवटा गाउँदापनि २४ वटा पुग्छ । तर मैले जति पनि गीत पेरिसमा गाएँ म सँग सँगै दर्शकले पनि गाउनुभयो । त्यसैले धेरै गीतहरु छनौटमा परे । जस्तो "तिमी रुदाखेरी म पनि त रोएको थिएँ । स्वे ढोले स्वे अर्को ढोले खोइ, लुकी लुकी आँखा तिमी नझुदाउ यसरी, तिम्रा नयन तिम्रा अधर छोडेर, वन साइडेड लभ आदि सबैनै दर्शकले रुचाएका नम्बरमा थिए ।
कार्यक्रम गरिएको हल उपयुक्त थियो कि थिएन ?
ठीकै हो । दर्शकको सँख्या हेरी यसलाई नराम्रो भन्नु मिल्दैन । मेरो यो पहिलो यूरोप यात्रा हो । मेरा एकल कार्यक्रमहरु सबै सफल भएका छन् । मलाइ यूरोप यात्रा फापेको छ ।
यसको मतलब यूरोपमा नेपालको युवा पिँढी यथेष्ट रहेछ हैन त ?
यसो भनिहाल्न नमिल्ला । किनभने मेरो गीतहरु सबै प्रक्रितिका छन् । सबैलाई हुने खालका छन् । भावनात्मक गीत सबैलाई मन पर्छ । लोक गीतहरु पनि रुचाइन्छन् । स्वे ढोले स्वेमा त आज पेरिसको एम्बेस्डर समेत नाच्नुभयो । स्वे ढोले स्वे पूर्वेली लोक गीत हो । मैले त्यसलाई पप स्टाइलमा गाएको थिएँ । सबैतिर सन्तुलन छ मेरो गीतमा ।
फेरी यूरोप आउने कि नयाँ कार्यक्रम लिएर ?
मिल्यो भने आगामी वर्ष आउँछु । किनभने धेरै माग आयो ।
तपाइँको एकल प्रयाशले मात्र सँभव भयो कि यूरोप भरी कार्यक्रम गर्न ? या तपाइँको पछाडी थुप्रै सहयोगी साथिहरु छन् ?
थुप्रै साथिहरु छन् । खासमा म डेनमार्कमा मात्र कार्यक्रम गर्ने भनेर आएको थिएँ । तर यहाँ आउने बित्तिकै यति धेरै डिमान्ड भयो कि कहिँ गएर पनि दुइ दिन भन्दा बढी बस्न पाएको छैन । एउटा कार्यक्रम गर्ने भनेर आएको । करिब करिव १२ /१३ वटा कार्यक्रम बने । सबै मानिस छक्क छन् । अहो धिरज जी को कार्यक्रम कति सफल भएको भन्दैछन् । म पनि छक्क परेको छु । एउटा कार्यक्रमको लागि आएको यत्रो बिधि भयो । मेरो पनि इच्छा छ धेरै भन्दा धेरै कार्यक्रम गरुँ । आफ्ना गीतहरु सबैतिर पुर्याउँ । यो पटक सबैले भने ';धिरजले त इतिहासै रच्यो ।’ म निकै खुसी छु ।
केहि समय अघि तपाइँले आफू सिरीयस खालको छु भनेर अन्तर्वार्ता दिनु भो । पहिलाको हा हु गरेर पप गीत गाउने ठीटो धिरज राइमा सिरीयस परिवर्तन आएकै हो त ?
समय सँगै आउने परिवर्तन रहेछ हेर्नुस यो कुरा । ज्ञान लिँदै जाने बाँड्दै जाने । शुरुमा रहरमा आएँ । अलि पछि रहर भएर मात्र नहुने रहेछ भन्ने महसुस भयो । अनि अलिकति गम्भिर हुन थालेँ । पछि संगीत भनेको ठट्टा होइन रहेछ भन्ने ज्ञान भो । यसको लागि साधना चाहिने रहेछ भन्ने बोध भयो । समयले पनि सिकायो भनुँ न । अझ समयक्रममा आफ्नो जिम्मेवारी पनि बढ्दै गयो । बिभिन्न मानिसहरुसँग भेटघाट हुन्छ । नयाँ नयाँ कुराको अनुभव गर्न पाइन्छ । त्यसो हुनाले पनि बिचारमा अलिकति परिपक्कता आयो कि जस्तो लाग्छ । सिक्न धेरै र गर्न धेरै बाँकी छ भन्ने लागिरहन्छ ।
तपाइँको चाहना अनुसारको बातावरण नेपालमा मिलीरहेको छ कि छैन तपाइँलाई ?
ठीकै छ । मिलिरहेको छ । मुख्य त मेरो पेशा गायन नै हो । तर म गाउने बाहेक अरु काम पनि गर्छु । पेशाले म एउटा कलेजको लेक्चरर पनि छु । अंग्रेजी साहित्य पढाउँछु । म पेशाले आर्किटेक्च इन्जिनियर पनि हो । म काठमान्डौ महानगरपालिकामा ओवरसियर पदमा जागिरे पनि छु । पप गीत सम्बन्धि दुइवटा किताब लेखेँ । पप गीत सम्बन्धि डकुमेन्ट्री पनि बनाएको छु । पप गीत सम्बन्धि इतिहास बारेको हो यो । अमेरिकाको कोर्नेड बिश्वबिद्यालयमा समेत पढाइ हुन्छ त्यो डकुमेन्ट्रीको । कलेजमा पढाउन मन लाग्छ । त्यो गर्छु । घरको नक्सा बनाउँछु । मैले जे चाहन्छु त्यो गर्ने बातावरण छ मेरो घरमा ।
यति बिघ्न कुरा रैछन् । बास्तवमा तपाइँ हो के ?
कुनै पनि कुरा म छोड्न सक्दिन । सबै पेशामा आआफ्नो मजा छ । बास्तवमा मलाइ गाउँदा जति आत्म सन्तुष्टी अरु पेशाले दिँदैन ।
नयाँ एल्बम निस्कँदै छ कि ?
निस्कँदै छ नयाँ बर्षको उपलक्ष्यमा । सन् २०१३ मै आउँछ मेरो नयाँ एल्बम ।
केहि बाँकी छ कि ?
पेरिसमा कन्सर्ट आयोजनाकालागि अहोरात्र खटिने र अमूल्य समय दिने नेपाली एकता समाज फ्रान्स लगायत सबै साथि र दर्शकप्रति म आभार ब्यक्त गर्छु ।
No comments:
Post a Comment