Monday, 17 December 2012

बुलबुले तालमा केही क्षण

नियात्रा

बुलबुले तालमा केही क्षण

धीरकुमार श्रेष्ठ

मैले सुर्खेतलाई पहिलोपटक चिनेको भनेको बुलबुले तालसम्बन्धी गीतले हो । वियोगान्त रुपमा रहेको गीतले त्यसबखत सुर्खेतको पर्यायवाचीका रुपमा बुलबुले ताललाई चिनाएको थियो । यसरी बिम्बका रुपमा जीवित रहेको सुर्खेतको प्रतिस्थापन रुप बुलबुले तालछेउ पुग्दै थिएँ (थियौँ ?) । तालनजिक पुग्न, जुन बाटो बनाइएको थियो, त्यसको दायाँबायाँ लहरै रोपेर हुर्काइएका वृक्षपङ्क्तिले पालैपालो आगन्तुकहरुको स्वागत गरिरहेझैँ लाग्यो । रातासेता जामा पहि¥याएर चिटिक्क पारी सजाइएकाले ती फुरूङ्ग थिए र आउनेजाने आगन्तुकसँग साउतीको भाषामा आफ्ना उमङ्ग तरङ्गित गरिरहेका थिए । हामी पनि तिनकै तरङ्गमा तरङ्गित हुँदै अगाडि बढिरहेका थियौँ ।
अगाडि बढ्दै जाँदा चारैतिर सिमेन्टीको अग्लो गारो लगाएर कृत्रिम रुपमा सानोसानो कुण्ड निर्माण गरेको भेटियो । त्यही कुण्डको नाम रहेछ बुलबुले ताल, जसको निर्माण २०२९ सालमा भएको रहेछ । कुण्डको पूर्व र दक्षिणतिर पाँच–पाँचओटाका दरले धाराहरु निर्माण गरिएका रहेछन् । कुण्डमा जम्मा भएका पानी त्यही धारामार्फत बाहिर आइरहेका थिए । त्यही धारामा पूर्वतिर महिला र दक्षिणतिर पुरूषले नुहाउने र लुगा धुने गर्दा रहेछन् । हालको कृत्रिम कुण्ड निर्माण हुनुभन्दा अघि त्यहाँ ढुङ्गाका कापबाट ‘बुलबुल’ गर्दै पानी निस्किँदो रहेछ । यही कारण तालको नाम ‘बुलबुले’ राखिएको रहेछ ।
तालवरपरका २२ बिगाहा जमिन अधिग्रहण गरी उद्यानको निर्माण भएको रहेछ । उद्यानमा विभिन्न जातका फूलहरु रोपिनुका साथै वृक्षारोपणसमेत गरिएको रहेछ । यसले गर्दा तालवरपरका क्षेत्र रमणीय र आकर्षक देखिनुका साथै बनभोज स्थलका रुपमा समेत विकास गरिएको रहेछ । यसैले भिडभाड हुँदो रहेछ । यतिमात्र होइन, स्थानीय वासिन्दालाई खानेपानीको आपूर्ति गर्ने स्थायी स्रोत पनि यहीँ ताल रहेछ । यहीँबाट पानी तानेर काँक्रेविहारसम्म पु¥याइएको रहेछ । कति राम्रो हुन्थ्यो, पानीको पाइपसँगै बाटो पनि पुगेर बुलबुले ताल र काँक्रेविहारलाई एकअर्कासँग जोड्न पाएको भए ! यस्तो भएको भए बुलबुले ताललाई भेट्न हामीले बेलुकीसम्म पर्खिनु पर्दैनथ्यो र अर्धचन्द्राकारमा घुम्नु पर्दैनथ्यो, कुरिनटारबाट मनकामनासम्म डोरी टाँगेजस्तै हुने थियो ।
जेहोस्, बुलबुले तालबाट निस्केको पानी जमेर अलि पर एउटा प्राकृतिक जस्तो देखिने ताल बनेको रहेछ, जहाँबाट आवश्यकताअनुसार पानी निकालेर सिँचाईको समेत प्रयोजन सिद्ध गरिँदो रहेछ । सिमसार क्षेत्रले भोग्दै आएको सङ्कट बुलबुले तालवरपरको क्षेत्रले समेत भोग्न थालिसकेछ । परिणामतः पानीका स्रोत सुक्न थालेका रहेछन् । सुर्खेत नगर विकास समितिको मातहतमा रहेकोले पक्कै पनि उसले कुनै न कुनै सोच बनाएकै होला । यही सौच्दै हामी बाहिरियौँ ।
उद्यानबाट बाहिरिँदा तिलकप्रसाद पौडेलले चुप लागेर बस्न नदिएका नामहरु एकएक गर्दै आआफ्ना दुईपाङ्ग्रेसहित आइपुगे । यिनीहरु थिए; डोरप्रसाद उपाध्याय, नन्दबहादुर बिसी र केशरबहादुर डाँगी । तीनैजनाका दुईपाङ्ग्रेका पछाडि सिट खाली थिए । परिचयको छोटो आदानप्रदानपछि हाम्रो घोडादौड प्रारम्भ भयो । तीनैजनालाई बोकेर तीनओटा दुईपाङ्ग्रेका छ पाङ्ग्रा गङ्गामाला देउतीबज्यै मन्दिरतिर गुड्न थाले ।
साँझ ढल्न लागिसकेकोले थियो । दिनभरि सुर्खेतका सडकहरु पदयात्राकै माध्यमबाट नापेका हुनाले थाकेर त्यता जाने योजना त्यागिसकेका थियौँ तर नवपरिचित मित्रहरुको सौजन्यका कारण हाम्रो गङ्गामाला देउतीबज्यै यात्रा सम्भव भयो । हुनु जे थियो, त्यही भयो । हुने हुनामी टारेर टर्दैन भन्नेमा कताकति विश्वास गर्न कर प¥यो ।

No comments: