कथा
संयोग
 |
| पार्बती शाही |
खै
? कताबाट शुरु गरौँ म, यो कलमको गतिलाई । लेख्ने हातहरु थर–थर कापि रहेका
छन, मनमा एक पछि अर्को गर्दै बिगतका धमिला तस्विरहरुको सुनामी उर्लेको छ र त
यो क्षण यर्थातको धरातलमा भासिन पुगेकी छु म । मलाई के थाहा ? संयोगबस
मोवाईलमा आएको एक कल फोनले डेढ दशक देखि गुम्सिएर बसिभूत भएको मेरो बिगतलाई
शाक्षात्कार गर्ला भनेर । अनायासै भएको त्यो हाम्रो जम्काभेटले बर्तमानमा
नराम्रो सँग थप्पड हानेको छ मलाई । बिगत र बर्तमानलाई मनको तराजुमा राखेर
तौलिने प्रयत्न गर्दैछु, कृपया तिमी नरिसाउनु ल !
प्रिय कन्चन,
तिमीसँग
हुन गएको मेरो जम्काभेट चिर परिचित थिएन न त पूर्व योजना अनुरुप नै थियो ।
बिबसताको भारी बोकि फरक गन्तब्यमा हिडि रहेका हामी दुई यात्रीको बीचमा
सम्बन्धको झोलुङ्गे पुल साबित भई दिएको यो बिकासको अवयव मोवाईल नेटवर्कलाई
धन्यबाद नदिई रहन सक्तिन म अहिले ।
मोवाईलमा
बारम्बार घण्टी बजिरहेको थियो । अफिसमा थिए म त्यसवेला । लगातारको घण्टीको
टड्कारो कर्कस आवाजले काममा अवरोध पु¥याउँदै थियो मेरो । त्यसैले गोजिमा
भएको मोवाईललाई छिटो–छिटो हातमा लिएर हेरे, अपरिचित नौलो नम्वर थियो त्यो ।
जहिले पनि अपरिचित नम्बरबाट फोन आउँदा मेरो मुटुको धड्कनल त्यसै बढेर आउँछ
। खै ? किन हुन्छ त्यो त मलाई नै थाहा छैन । हो, अहिले पनि त्यहि हविगत
थियो मेरो र पनि निकै छोटो समयको मनोबाद पश्चात जति सक्दो चाँडो फोन रिसिभ
गर्ने निर्णय गरे र हिम्मत बटुलेर रिसिभ गरेरै छोडे ।
तर
दुर्भाग्य के परेछ कुन्नी ? त्यो समय तिमीले खोजेको मान्छे म थिईन, तिमी त
अर्कैको खोजीमा थियौ । मैले तिमीलाई यर्थात भन्न चाहे र तिमीले खोजेको
मान्छे म नभएको जानकारी पनि दिएँ तर पटक पटकको तिम्रो सोधाईले मनमा कता–कता
भित्र चिमोटे जस्तो लाग्यो । पहिलो चोटी मेरो कानमा ठोक्कीन गएको तिम्रो
आवाजले मलाई सपनाबाट झल्यास्स विउँझाए झै गरिदियो । फेरी पनि तिमीसँग म
तिमीले खोजेको मान्छे नभएको जानकारी गराए तर तिमीलाई पत्यार लाग्यो या
लागेन मैले एकिन गर्नै सकिन् । अनयासै कानमा ठोक्किएको तिम्रो आवाजले मेरो
शरीरमा एक किसिमको तरँग प्रसारित गरिदियो । म अवाक भए, गला अवरुद्ध भयो ।
त्यो क्षण म छाङ्गा बाट खसे झै भए । मैले मेरो वरपर, अगाडिको कुनै पनि
चिजलाई देखिन । मानौ मैले त्यसवेला सबैलाई विर्सी दिए । यो सब किन भयो ?
थाहा छ कन्चन ? किनकि मेरो कानमा अनयासै ठोक्किन पुगेको तिम्रो आवाज चिर
परिचित झै लाग्यो । कता–कता सुने जस्तो लाग्यो जुन अहिले पनि मेरो कानमा
गुिन्जराखे कै छ ।
समयको बहाव सँगै पूराना स्मृतिहरु मानसपटलबाट एक–एक गरी धमिलिदै जाँदा
रहेछन् । बल्झिएको घाउँमा समयले मलम पट्टि लगाईदिंदो रहेछ। तर बिस्मृतिमा
मुर्झाई रहेको मेरो बिगतलाई तिम्रो त्यो आवाजले साच्चीकै बैसाखीको काम ग¥यो
। आज भन्दा १५ बर्ष अगाडि देखि सुन्न नपाएको आवाज मैले आज सुन्न पाएकि थिए
। मेरो मोवाईल कतिबेला मेरो हातबाट भुईमा खस्यो त्यो पनि मैले थाहा पाईन ।
दाँतले च्यापी राखेको ओठ जब बेजेडले टोकियो अनि बल्ल अर्थातको धरातलमा
फर्किए । हतार–हतार भुईको मोबाईललाई टिपेर गोजिमा राखे । मैले कल्पना पनी
गरेकि थिईन कि यो दुई मिनेटको समयाबधिले मलाई यति सम्म विचलित गराउँछ होला
भनेर ।
कन्चन,
तिमीलाई के थाहा ? म कुन परिस्थितीमा गुज्रीराखेकि थिए त्यो क्षण । मलाई
लाग्छ त्यो क्षण, त्यो समय, मेरा लागि धेरै नै महत्वपूर्ण भए पनि तिम्रा
लागि सामान्य नै थियो होला र त त्यसपछि फेरि अर्को पल्ट यो भुल दोह¥याउन
चाहेनौ । हो, त्यसपछि ब्यतित गरेका प्रत्येक पल पनि मेरो लागि सारै नै
कष्टकर भए । बिगतका धमिला तस्विरहरु नाटकको दृष्य जस्तै एक पछि अर्को गर्दै
तछाड–मछाड भएर प्रतिविम्वित हुन थाले । मानसिक रुपमा सारै नै असक्त भई
सकेकि थिए म । त्यतिबेलाको भोगेको त्यो बेचैनि न त म तिमीलाई सुनाउन सक्थे न
त मेरा सहपाठी माझ बाड्न सक्थ्ये । अफिसबाट कति बेला घर पुगे मलाई नि थाहा
भएन । सँगैको अर्को कोठामा बस्ने साथिले भान्सामा पे्रसर कुकुरले जोर सँग
सुस्केरा हाल्यो अनि मलाई कोठामा पुगेको थाहा भयो । कोठा पुगेर पनि मैले
केहि काम गर्न नै सकिन । साच्चै भन्नु पर्दा म त्यो रात पनि राम्रो सँग
निदाउन सकिन । म कति विचलित भए कि, मैले अभिव्यक्त गरेका शव्दले पनि त्यति
बोल्न सक्तैनन् होला ।
तारन्तारको मेरो बेचैनिलाई मैले सहन नसकि एक पल्ट जसरी भए पनि तिमीलाई
भेट्ने निधो गरे । अस्तव्यस्थ भएको मेरो मनस्थितिलाई म यथास्थितिमा ल्याउन
चाहन्थ्ये । कानमा गुन्जिराखेको तिम्रो आवाजलाई दृष्य सँग एकाकार गर्न मन
लाग्यो मलाई । मन मनै अनेक प्रश्नहरुको बिजारोपन हुन थाल्यो । के त्यो आवाज
भएको मान्छेको स्वरुप पनि उसैको जस्तो होला त ? कतै त्यो मान्छे उ नै त
होइन ? आदि–आदि अनेक अनुत्तरित प्रश्नहरुले मलाई सताउन थाले । मानसपटलमा
पर्न गएको भ्रमलाई च्यात्न एक पटक जसरी भए पनि तिमीलाई भेटेरै छोड्ने
संकल्प गरे मनमनै । भोलिपल्ट तिमीलाई नभेटी नछोड्ने दृढता मनमा साँचेर हतार
हतार अफिस तिर लागे ।
सदा जस्तै अर्को दिन पनि अफिसमा कामको चटारो उत्तीकै थियो तर ध्यान भने
अफिसको काममा पटक्कै थिएन । मन असरल्ल थियो । र पनि कर्तव्य त मैले
निभाउनु नै पर्दथ्यो । अलि बेर काम गरे जस्तो गरे । केहि समय मै मन थाम्न
नसकि हिजो तिमीले मलाई कल गरेको नम्बरमा फोन डाइल गरे । नभन्दै फोन गयो,
फोनको गति सँगै मेरो मुटुको धड्कन पनि तिब्र हुदै गयो । अनुहार तातो भएर
आयो । तिमीले फोन सिसिभ ग¥यौ । मैले भन्न चाहेको धेरै कुरा भए पनि
त्यतिवेला केहि भन्न सकिन खाली एतिमात्रै भन्न सके – “ तपाईलाई आज जसरी पनि
भेट्नु छ, समय मिलाएर मलाई तुरुन्त कल गर्नुस है ।” यति भनिसके पछि मैले
तुरुन्तै फोन काटी दिए ।
कन्चन, तिमीले त्यो समय के सोच्यौ ? कुन्नी । मत मेरो कुरो भन्न पाएकोमा
सारै खुशी भएकि थिए । मन भित्र फेरि शंका र उपशंकाको द्वन्द्ध हुन थालेको
थियो । तर पनि समयलाई सुस्केरा सँग गन्दै तिम्रो फोनको प्रतिक्षामा थिए ।
तिमीले मेरो मनशायलाई बुझेर हो वा नबुझेर हो । पाँच मिनेट मै कल ब्याक ग¥यौ
। हुन त तिमिलाई लाग्यो होला । एउटी केटी त्यो पनि आफै मलाई भेट्न
बोलाउँदै छे भने म किन त्यो महत्वपूर्ण समयको भरपूर उपयोग नगरु भनेर ।
त्यसैले त ठीक चार बजे मैले भनेकै ठाउँमा आफ्नोे हुलिया बताउँदै आई पुग्ने
बाचा गर्दै फोन राख्यौं ।
तिमीलाई भेट्नु अघिको समय जुन प्रतिक्षाको घडि थियो त्यो, कसैको पखाईको
घडि थियो त्यो । मलाई सारै छटपटी भयो । घडिमा हेर्दा हेर्दै लाग्यो त्यो
घडिको सुईलाई आफै दुई फन्को घुमाएर चारमा पुर्याई दिउँ तर यतिले मात्रै म
त्यो समय, त्यो क्षणलाई प्राप्त गर्न सक्दिन थिए । तिम्रो बारेमा धेरै कुरो
साचे मैले त्ये २ घण्टाको समयमा कतै तिमि त्यही मान्छे त होइनौं ? जो सँग
आज भन्दा १५ वर्ष पहिलेका धेरै घण्टा, दिन र महिना बितेका थिए मेरा । जसलाई
भेट्नका लागि भए पनि झिनो आशा मनमा पालेर अहिले सम्म बाँचिरहेकी छु म ।
सोच्दा साच्दै भित्ताको घडिले चार बजेको संकेत ग¥यो । म हत्त न पत्त
अफिसबाट बाहिरिए । अघि तिमीलाई दिएको लोकेसनमा पुगे, जुन मेरो अफिस नजिकै
थियो । ठेलमठेल रोडको भिडलाई छिचोल्दै मेरा आँखा दौडि राखेका गाडि तर्फ
तेर्सिन थाले, तिम्रो हुलियालाई खोज्न । नभन्दै एक छिनमै तिम्रो बाइक
नजिकैको पार्किङ स्थलमा आएर टक्क रोकियो । तिमीले निकै बेर आफ्नो आँखालाई
यताउति दौडार्यौ तर मलाई चिन्न सकेनौँ हुन त कसरी पो चिन्न सक्थ्यौ र
कन्चन, म त तिम्रो यात्रामा एक्कासी जम्काभेटमा परेकि अपरिचित भित्र पो थिए
त । लुगा टक्टकाएर हेलमेटलाई हातमा झुन्डयाउँदै गोजिबाट फोन झिकेर मलाई
फोन डायल गर्नु पूर्व नै मैले तिमीलाई डाईल गरिदिएँ । तिमीलाई अव करै लागेर
भए पनि मलाई खोज्न बाध्य गराए मैले । तिमीले नियालेर चारै तिर हे¥यौ ।
मैले हात हल्लाए बल्ल तिमीले चिनेछौ क्यारे बनावटी हाँसोमा आफुलाई मिसाउँदै
समर्थनको संकेत प्रस्तुत ग¥यौं । एक छिन सन्नाटा नै छायो हामी बिचमा । तर
जे जस्तै भए पनि बोल्ने पालो मेरो नै थियो किनकी तिमी त्यो ठाउँको लागि
नयाँ थियौं । त्यसैले नजिकैको क्याफेमा जाने आग्रह मैले गरे, तिमीले
स्वीकार्यौ पनि ।
म भित्र त झन अव विगत र वर्तमानको युद्धको शुरुवात भई रहेको थियो । जुन म
तिमीलाई त्यो परिस्थितिमा देखाउँन चाहन्नथे । खुसीले हो या के ले हो
भित्रैबाट भक्कानो फुटेर आयो । परेलीसम्म आई पुगेका आँशुलाई बल्ल तल्ल
भित्र फर्काउने प्रयास गरे । हो, तिमी त कन्चन, मेरो जीन्दगीको एकलासे
यात्राको क्षणिक सहयात्रीको प्रतिरुप थियो । जस सँग आज भन्दा पन्ध्र वर्ष
पहिले नै त्यो दोवाटोको चौतारी नपुग्दै अनयासै मेरो साथ छुटेको थियो ।
मनमनै सोचें भगवान पनी हँुदा रहेछन् र त मेरो पुकारा सुनेछन् । मलाई
यतिबेला ऊ नभए पनि उ जस्तै तिमीलाई भेटाई दिएको थियो त्यो क्षण मेरो
भगवानले । त्यतिबेला मलाइ तिमीले कसरी बुझ्यौँ ? म मन परे या परेन ? या म
तिम्रो साथी हुन लायक थिए या थिईन, त्यो मलाई थाहा छैन । हुन त हो, म मा
तिमीमा जस्तो बैशको लाली थिएन । न त यो शहरको उछृङखलताले गोडमेल भई पोसिएकी
आधुनिक युवती नै थिए । तर एउटी नारीमा हुनु पर्ने सबै थोक म मा विधमान नै
थियो र छ पनि ।
क्याफेको टेवलमा बस्दा मलाई तिमीलाई पढ्न धेरै सहज भएको थियो । तिमीले पनि
मलाई एक तमास हेरी राखेका थियौं । बेला–बेला म तिम्रो हेराईलायई उत्साहजनक
बनाउन लजाई दिन्थे पनि । सम्मुख भएर टेवलमा बस्दा मैले तिमीलाई नियालेर
हेर्ने मौका पाएँ । तिम्रो मन्द मुस्कान, ती नसालु नयन, अनारका दाना नझै
मिलेका ती दन्त लहर र मिलेको जिउ डाल यी सारा कुराले मेरो वर्तमानलाई
विर्साई दिएको थियो ।
थाहा
छ कन्चन, त्यो समय, त्यो क्षण, मैले तिमीमा पन्ध्र वर्ष पहिले देखि हराएको
मेरो त्यो माया पाएँ । जसलाई पाउनका लागि म अहिले सम्म भौतारी रहेकी छु ।
पल प्रति पल विगतका धमिला तस्बिरहरुलाई मन मन्दिरमा सजाएर तड्पी रहेकी छु ।
मेरो हराएको मायालाई पाउने झिनो आशाको तान्द्रो बुज्दै बाँच्नकै लागि भए
पनि बाँची रहेकी छु । कन्चन, त्यति बेला मैले तिमीलाई खुवै हेरे । मेरा
आँखाले अघाउन्जेल सम्म हेरे । “तिमीले सोध्यौ पनि किन मलाई त्यसरी हेर्दै
छौं ? मैले कुनै अपराध त गरिन” स्वाभाविक थियो तिम्रो सोधाई । पहिलो भेट
मै आँखा जुधाउने आँट सबैलाई हुदैन पनि । मैले तत्काल तिम्रो प्रश्नको उत्तर
सहितको स्पष्टीकरण दिएकी थिए । “होइन, तिमी अपराधी होइनौं तर मेरो सामुको
यो तिम्रो हुलिया अनि हिजो देखि मेरो कानमा गुन्जिराखेको तिम्रो आवाज चिर
परिचित झैं लाग्यो । तिमीलाई मैले यो भन्दा पहिले कतै भेटे झै लाग्यो,
त्यसैले हेरेका”े भने । शायद, तिमीलाई अचम्म लागेछ । क्यारे ! त्यतिवेला
तिमी हास्यौ पनि ।
हाम्रो मिलनको त्यो पन्ध मिनेटको समयबधिले मैले अहिले सम्म व्यतित गरेका
पन्ध्र बर्षलाई तुहाई दिएको थियो । त्यस पछि हामी छुट्टियौ । अर्को भेटको
आशा मनमा संगालेर विदाईका हात हल्लार्यौ । कन्चन, तिमीले हाम्रो असम्भाविक
मिलनलाई कसरी बुभ¥यौ त्यो मलाई थाहा छैन तर मैले मेरो अनुभूति तिमीलाई
सुनाउँन चाहे । थोरै भए पनि मेरो बिगत र तिमी सँगको मेरो भेटबारे तिमीलाई
परिचित गराउन चाहे त्यसैले अहिले तिम्रो व्यस्त समयलाई मैले हस्तक्षेप गर्न
खोजे । कृपया, मलाई माफ गर्नु ल ।
तिमीलाई
दुखाउँने र तिमी उपहास गर्ने कुनै हातलमा पनि मेरो मनशाय होइन र हुने छैन
पनि । तिमी स्वतन्त्र छौ । जस्तो पहिला थियौ । मेरा अभिव्यक्तिले यदि
तिमिलाई मित्रताको हात अगाडि बढाउनमा उत्पेरित गरेछ भने यसमा मेरो पूर्ण
समर्थन नै रहनेछ । यदि तिमीलाई मन नै लागेन भने पनि मेरो तिमी प्रति कुनै
गुनासो रहने छैन । साच्ची कै भन्नुपर्दा कन्चन, तिम्रो आफ्नोे जीन्दगी छ र
मेरो आफ्नै किसिमको पट्यचारलाग्दो बर्तमान छ । परिवन्धमा पारेर मेरो
नियतिको शिकार तिमीलाई बनाई विवशताको भारी कदापि बोकाउँन चाहदिन म ।
तिमीसँग गुनासो गर्नु पर्ने कुनै ठाउँ पनि छैन । तिमी न त हिजो मेरो थियौ न
त आज नै छौ तर परिस्थितिले भन्छौं या भाग्यवशले खै कसरी ? हाम्रो मिलन हुन
पुग्यो । यसलाई त जिन्दगी कै एउटा अवशरका रुपमा लिएकी छु मैले । जिन्दगीका
गाल्छेडालाई छिचोल्ने क्रममा अनायासै संयोगले भएको हाम्रो यो जम्काभेट
मेरो मानसपटलमा सदा अविस्मरणीय भएर सजिने छ जसरी प्रन्ध बर्ष पछिले देखिका
मेरा स्वर्णीम अतित सजीएका छन् ।
अब, अन्तमा, कन्चन, तिम्रो यसमा केहि दोष छैन । तिमी तिमीसँग गाँसिएको
तिम्रो सुन्दर नाम जत्तिकै निर्मल, स्वच्छ र पवित्र छौं । साच्चीकै मन देखि
नै भन्छु तिमी कन्चन नै छौं र सदा कन्चन नै रहने छौं ।
No comments:
Post a Comment