Thursday, 2 May 2013

कथा

                          भावनात्मक साईनो

        – पार्वती शाही                                                                                 

                                      थाहा छैन, उनलाई त्यो रानी पोखरीको स्थीर पानीसँग किन त्यति धेरै मोहकता थियो ?जमल, आकासे पुलको उत्तरी मोहडामा केहि दिन यता एउटा स्त्री आकृतिको स्थिरता  देखिन्छ । प्रत्येक दिन झिसमिसेमा बिहानीको चिसो सिरेटो छिचोल्दै हतारसँग हानिदै आउँछिन्, मानौ बिहानीपख सलबलाई रहने थरि–थरिका अनुहार सँग उसलाई कुनै सरोकार नै छैन । प्रायः पूर्वको पोलमा बलिराखेको स्ट्रिट लाईटको रातो एक डल्लोे उज्यालो, जुन सधै भरि त्यसै गरी रानी पोखरीमा तैरिरहेकै हुन्छ । त्यहि दृष्यमा एक तमास आफ्नो सारा ध्यानलाई सोहरेकि हुन्छे । क्रमैसँग कैद गर्दछे, सगोल रानीपोखरीको सुन्दर आयतनलाई उसका एक जोर ती भावुक अतृप्त नयनमा  ।

मौसमको पर्वाहै नगरि पानी पर्दाको क्षणमा पनि उसै गरि एकोहोरिएकि हुन्छे नाङ्गो आकास मुनि, सर्वाङ्ग आफुलाई रुझाउँदै र ओछ्याएकि हुन्छे नयनलाई पोखरी भरी छरपष्टै । शायद देख्दि हो, बिस्कुनसरी छरिएका पानीका फोका फोकामा छिन–छिन मै बन्दै र छिन भर मै बिलाउँदै गरेको कसैको आकृतिलाई र देख्दि हो, त्यो बत्तिको एक डल्लो उज्यालोमा तैरिदै गरेको उसैको मुस्कानलाई ।

यहि दृष्यले रानी पोखरीको समिप मै पुगेको छु म पनि केहि दिन यता ।

आफू पनि भावनासँगै बग्ने मान्छे । उसको यो रुटिनले कता–कता भित्र छोएको छ मलाई पनि । एक किसिमको दैनिकि नै बनेको छ आज भोलि । रत्नपार्क सम्मको मर्निङ वाक र निश्चित समयमा उही अपरिचितको प्रतिक्षा ।

पात्र खोज्दै भौतारिएर हिड्ने लेखक, साहित्यकारका लागि यो सब रुचि र कौतुहलताको विषय अवश्य नै हुन सक्छ । त्यसैले म पनि नजाजिदो पाराले पछ्याई रहेछु एउटी अपरिचित युवतीको आगमनलाई ।

उसका बारेमा अनभिज्ञ म । सकारै रोज–रोज रत्नपार्कबाट बाटोको भिड छिचोल्दै बतासिएर आउँछे । हतार संग पुल माथि चढ्छे । केहि समय उहि ठाउँमा गएर टोलाउछे र पछि आएकै बाटो तिर सोझिन्छे । त्यसपछि त्यो उसको ठाउँ म ओगट्छु र हेरि रहन्छु रत्नपार्कको आकासे पुल हुदै पूर्वको भिड सँगै मिसिएर ओझेल पर्दै गरेको उसको छायाँलाई । अनयासै एक दिन त्यो स्त्री आकृति एकाएक हराउँछ, अर्को पल्ट फेरि नझुल्कने गरी । दुई चार दिन प्रतिक्षालाई जारी नै राखे र पनि अहँ ! भेटाउँन सकिन । निराश भएँ । पात्र नै एकाएक ओझेल परेपछि बल्ल बल्ल बन्दै गरेको कथा पनि अधुरै रह्यो मेरो ।  त्यति सजिलै कथा फुराउन नसक्ने मान्छे म । त्यस्तो किसिमको मन छुने भुटन नभेटेको धेरै भई सकेको थियो । पात्रहरु त्यहि आईमाई जस्तै असलल्लै मेरै वरिपरि भए पनि कथाको पलट तयार हुन नपाउँदै एकाएक हराउँदै जाने रित लागेको थियो । यहि बीचमा मलाई डेरा सर्नु पर्ने स्थिति आयो । केहि दिन बास खोज्न कै निम्ति भौतारिए काठमाडौंका गल्ली गल्लीमा । भिडभाडबाट अलि टाढा भने जस्तै कोठा भेटाएँ र बिरालोले बच्चा सारै झैँ पोका पुन्तुरा ओसारे । आफूलाई छिट्टै नै समायोजन गरि सकेको थिए मैले नयाँ परिवेश र नौलो बातावरण सँग । यो मेरो व्यक्तिगत कला नै भन्नु पर्छ । आफू बसेको घरको आँगन देखि छतसम्म चाहेको बेलामा ओहर दोहर गर्ने बातावरण मैले मिलाई सकेको थिएँ । कहिले काहि मध्ये रातसम्म पनि कौसी तिरै शुन्यतासँग मितेरी लाउँदै गरेको हुन्थ्ये म ।

तीनै मध्येको शनिबारको एक रात यसरी अबिस्मरनीय भएर गडेको छ सम्झनारुपि डायरीको सातौ पानामा ।

निरवता केहि कोमल भएर आफ्नै आडभरि टाँसिन आई पुगेको थियो, जाडो यामको प्रत्येक रातको चिसो सिरेटो झैँ । सधैं भन्दा फरक त्यो रात आँखै भरि बिलाप बनी तन्किदै थियो ।

बैशालु युवतीको यौवन जस्तो परिवक्व औंशीको रात । निदाएको बस्ती । गुडमै सुस्ताएका बचेराहरु । सवैतिर अंधकार ब्याप्त । तेश्रो तलाको कौशिबाट त्यो अंन्धकार सँगै हराई रहेको म अनि रहस्यमय थियो समय ।

घर बाहिर दलिन सँगै जोरी खोज्दै बतासिएको “पारिजातको बोट” र पाते झ्याङ्गमा गुजुल्टिएको थियो अंधकार । अंधकारमै फक्रिदो थियो फूलको बैश हाङ्गै भरी । कोमलता चुम्दै फूलको सम्मोहन फिजिएको थियो सबैतिर । जसको एक टुक्रो सुवास कौशी सम्म पनि आई पुग्छ ।

कस्तो अचम्म ?

निस्सार कालो रात, शून्य समय बीच पनि कसरी फक्रिन सकेको होला मालती फूलले ? अर्थात पारिजातले ?

सधै यसै गरि हर रातको अंध्यारो सँगै चरम उत्कर्षमा पुगेको परिजातको यौवन तुरिदै गरेको अंधकार सँगै स्खलित भएर जान्छ हाङ्गा हाङ्गाबाट ।

आहा ! कति सुन्दर हँुदो हो ? दिउँसोे उज्यालोमा हाङ्गै भरि मसिना सुकिला फूलहरु टाँसिएको दृष्य । कल्पना गर्छु मनमनै ।

मेरै बराबरीमा बिपरित दिशाको तेश्रो घरमा एक छिन अघि बाट पिलिक–पिलिक मसिनो आगोको रातो झिल्को फुस्फुसाएको देख्छु म । शायद, त्यो झिल्को झ्याल मैं हुनु पर्छ । उज्यालो हँुदो हो त पहिले झ्यालमा मैं आँखा ठोक्किन्थे होला । आपूm पनि चुरोटको अम्मली चुरोटको बास्नासँग अभ्यस्त छु । नभए सजिलै चुरोटको नमिठो गन्ध खुट्याउन सक्थ्ये हुँला ।

निकै आनन्दित थियो परिवेश । मध्यरातमा शुन्यताको चेवा बसेको म । त्यहाँ म थिए, पारिजातको बोट थियो र सँगै साथ दिन टप्किएको थियो पल्लो घरको झ्यालमा कोहि अजनवी ।

कौतुहलताको क्रम बाक्लिन्छ मेरो, त्यहि बाहिरको बाक्लिएको अंध्यारो जस्तो ।

झ्यालतिरै तानिएको म । अचानक, “मम्मी ! मम्मी !” बालकको धुमिल आवाज कानमा पर्छ । छिन भर मै झ्याल बन्द गरेको झ¥याप्प अर्को आजाज कानमा ठोकिन्छ । धेरै बेर सम्म त्यतैतिर एकोहोरिन्छु तर त्यस पछि फेरि अर्को पटक त्यो क्रिया दोहरिएन । न बच्चाको आवाज सुनियो, न त एक झिल्को आगो नै देखियो । झ्यालको त्यहि एक झिल्को आगोले बिथोलिएको मेरो एकाग्रता झ्याल बन्द गरेको आवाज सँगै समाप्त हुन्छ र फेरि अवतरण गर्छु सम्पूर्णतालाई त्यहि पारिजातको पाते झ्याङमा ।

  त्यस पछि लगातार दुई, चार दिन सम्म त्यहि क्रिया दोहोरी नै रह्यो । अन्जान मैं चुरोटका सर्काहरुको दोहरी चल्यो । रातको अनौठो समयको मालती फूलको बैशालु सम्मोहन र झ्यालबाट साउती मारे झै लाग्ने त्यो स्त्री गन्धको मादकताले मदहोशी हुदै गएको म ।

जमलको आकाशे पुल माथि झुल्किएकि युवतीको आगमनले रानीपोखरीसँग साईनो गाँसिए झैं दलिन सँग जोडिएको पारिजातको बोटले गर्दा पल्लो घरको झ्यालमा टप्किन आउने स्त्री आकृतिसँग खै, कस्तो हो ? भावनाको साइनो गाँसिएको छ अचेल  ।

ब्यस्त शहर मान्छेको भिडमा म पनि बगेको छु । कसैको बारेमा जानकारी राख्ने फुर्सद कहाँ हुन्छर यहाँ ? र पनि पल्लो घरको झ्यालको रहस्यले खै, किन–किन ? कुतकुत्याउँछ भित्रै । सधैं जसो रात परे पछि भित्रिने म यहि रहस्यले एक दिन अलि छिट्टै नै कोठामा फिरायो । पश्चिम तिर ओरालो झर्दै गरेको सूर्य, लालीमा पोखिएको गोधूंली, त्यसै गरि त्यो झ्याल भएको घरको चियोचर्चो गर्छु म, वल्लो घरको कौसीबाट । नभन्दै सामने कै त्यहि घरको कौसीमा एउटा सुन्दर स्त्री आकृति देख्छु । संयोग कस्तो परेछ कुन्नी ? उहि रुप, उहि बनावट सबै कुरा दुरुस्तै । जुन केहि महिना अघि जमलको आकासे पुलमाथि देखेको थिए । सपना हो कि बिपना खुट्ट्यायनै गारो भयो एकछिन । तर धेरै हिस्सा बास्तविकताको नजिक परेकोले पत्याउन कर लाग्यो ।

सधै जसो अफिसको दौड धुप, शनिबार बाहेक अरु दिन प्रायः कोठा रित्तो नै हुन्छ । हप्तामा आफूलाई भनेर छुट्टयाएको छु मैले त्यो एक दिन ‘शनिबारलाई’ । खाना पकाउँछु, लुगा धुन्छु र निकै जागर चलाएर कोठाको सरसफाई गर्छु ।

शनिबार प्रायः ती दुई जना बच्चा घरवेटीको सानो छोरो र उसकी दौतरी ‘सानी’ म सँगै मेरो कोठामा हुन्छन् । खेल्छन, बिगार्छन, मिलाउँछन् र बेला–बेला के–के सोध्न आउँछन् कानैमा मुख जोड्दै ।

हो, शनिबार विशेष लाग्छ मलाई किनकी मलाई प्रभाव पार्ने धेरै चिजको प्रवेश शनिबार नै भएको छ भेरो जिन्दगीमा । त्यो दिन पनि शनिबार नै थियो जुन दिन पहिलो पटक मेरो कोठामा प्रवेश गरेकि थिईन उनी अर्थात ती अपरिचित सुन्दरी । कोठामा खेलिरहेकि छोरीलाई खोज्दै म सम्मै आई पुगेकि थिईन ।

ढोकामा उभिएकि उनी एकै पल्ट सँगै पोखिन्छ उनको दृष्य कोठै भरि र छिनमै विभाजित हुन्छ छुट्टा छुट्टै टुक्रा–टुक्रामा । अन्तमा ढोकै निरको बुक ¥याकमा अडिन्छ । एका एक अुनहारै फेरिन्छ उनको । घरी किताबमा र घरि मेरो अनुहारमा हेर्छिन । म केहि बोल्न सक्तैन मात्रै हेरिरहन्छु टुलुटुलु  ।

बडा मुस्किलले पहिलो वाक्य फुटेको थियो उनको मुखबाट र सोधेकि थिईन – “यो किताबको लेखक तपाई नै हो ?”  मुस्कुराउँदै भन्छु म – “हजुर हो, पढनु भएको छ हजुरले ?”  हर्सित हुदै भन्छिन् – बजारमा आउने बित्तिकै पढी सकेको, मान्छेलाई पढन नपाउँदाको दुःख मनमै थियो, त्यो पनि अब पुरा हुने भयो ।”  परिचित जस्तो हाँसो फिस्स हास्यौ दुबै । कुनामा भएको कुर्सि देखाउँदै बस्न आग्रह गर्छु म । बस्छिन उनी । छोटो समयको औपचारिक चिनजान पछि बाहिरिन्छिन कोठाबाट उनी छोरीलाई डो¥याउँदै । गेट सम्म छोड्न जान्छु म । आफ्नो घरको गेट भित्र छिरिन र त्यतै हराईन छोरी सँगै ।

उनी कुन अर्थमा त्यति बिघ्न खुशी भईन होला आफैमा ? त्यो बेला, धेरै त मैले बुझिन । तर, म भने दङ्ग परे । महिनौ देखि किस्ता–किस्ता खप्टिएको रहस्यको पर्दाफास भएकोमा । जमलको आकासे पुलमा देखिएकि युवती जसलाई म मरो कथाको मुख्य पात्र बनाउने तरखरमा थिए । दन्त्यकथाको परी झै आफ्नै अगाडि टुप्लुक्क पाउँदा उकुस मुकुस भएको थिए हर्षले ।

अक्षर सँगको प्रेमले अनौठो तवरले म सम्म आई पुगेकि उनी अनि तीनै अक्षर बटुल्ने क्रममा पटक–पटक उनी सँगै ठोक्किन पुगेको म ।

त्यसपछि क्रमश ः परिचयको शिलशिला बढ्दै गयो । भेटघाट बाक्लिदै गए । हुन त हामी बाँधिनमा धेरै समय खर्च भएन किनकी उनी मेरा अक्षरसँग, मेरा अभिव्यक्तिसँग र मेरा भावनासँग मलाई  भेट्न पूर्व नै परिचित छिन । जसरी म उनको थाहा पाउनु पूर्व उनीसँग तानिएको थिए ।

मनै छुने उनको भावनात्मक अभिव्यक्ति, मनपर्ने व्यवहारले मलाई बाँधि सकेको छ । म प्रेम गर्न थालेको छु उनलाई, मेरा किताब जत्तिकै र आफू जत्तिकै । व्यक्त नगरिएको एक प्रकारको आत्मिय प्रेम ।

मुस्किलले बत्तीस कि भई होलिन उनी अहिले । तर कति धेरै व्यग्रता छ उनी भित्र । सोचेको भन्दा फरक किसिमको बिगत हुर्काएकि उनी । पटक–पटक उनी र उनको सम्बन्धमा लगाईएको लान्छनाका बारेमा स्पष्टिकरण दिन आवश्यक ठानिनछिन् उनले यो समाजलाई र त अगाध सपना सजाएर बीस बर्षको उमेरमा छिरेको त्यो घर अठ्ठाईस बर्षको उमेर मै चटक्क छोडेर हिडिन् । सम्बन्धलाई धमिल्याउने र भत्काउने प्रयास लगातार श्रीमानबाट भए पछि उनको नजरमा श्रीमान प्रतिको श्रद्धा अलिकति पनि बाँकि रहेन र टुक्रा मुटुको काखकि दुधे छोरीलाई टपक्क टिपेर घरको संघार नाघिछिन् ।

यद्धपि आठ बर्ष सम्म सँगै हिडिरहेकै अवस्थामा एउटा यस्तो दोवाटो पनि आएछ, जहाँ बाट ती दुबैका गोरेटोहरु छुट्टिएछन ।

उनी सँग आज बढ्दै गरेकि एघार बर्षे मायालु छोरी छे । बस्न लायक घर छ । ईज्जतदार अधिकृतको जागिर छ र सबै भन्दा आफ्नो भन्ने मन छ र यौवन छ ।

उनी भन्ने गर्छिन – “पहिले आफूले आफैलाई प्रेम गर्नु पर्छ त्यसपछि आफूलाई कदर गर्ने प्रेमिल मनलाई प्रेम गर्नु पर्छ । अरु माथिको विश्वास र भरोसा केवल भ्रम मात्र हुन, जुन पाठ मलाई मेरो भोगाईको विश्वविद्यालयले सिकाएको छ ।”

उनी बाहिरी रुपमा भन्दा अझै भित्री रुपमा सुन्दर लाग्छिन मलाई । कहिले काहि सम्झेर उदेक लाग्छ । लोग्ने मानिसहरु यति सुन्दर स्वास्नी मानिसको भित्री रुपलाई बझ्ने प्रयास किन गर्दैनन् ?

हामी बीच औपचारिक चिनजान भएको पनि एक बर्ष भई सकेको छ । यस अवधिमा हामी आकर्षण र विकर्षणको रोटेपिङमा मच्ची रहयौं । अनुभवले माझिएकि, प्रत्येक कुरामा सजक तर व्यवहारिक । उनको यहि बानीले नै मलाई उनी तिरै तानेको हो । हाम्रा धेरै जसो कुराहरु मिल्छन् त्यसैले त टाढिन सकेका छैनौ एक अर्काबाट ।

No comments: