शङ्कर लामिछानेको सम्झना
![]() |
| ॥ सुरेश प्राञ्जली ॥ |
नेपाली निबन्धमा 'चेतनप्रवाह शैली' (स्ट्रिम अफ कन्सिअसनेस) लाई स्थापित
गराउने लेखक हुन् उनी । पश्चिमा साहित्यका आधुनिक लेखक जेम्स जोयसले
महाकाव्य 'युलिसिस' मार्फत यो शैलीलाई जसरी स्थापित गर्ने काम गरे त्यसरी
नै लामिछानेले 'एब्स्ट्रयाक्ट चिन्तन : प्याज' मार्फत यो 'चेतनप्रवाह शैली'
लाई अंकुराउने कार्य गरे नेपाली साहित्यमा । जीवन आफ्ना लागि भन्दा पनि
अरूका लागि आदर्श भएर बाँच्नुपर्दाको पीडाले गर्दा व्यक्तिगत जीवन
स्वेच्छाले बाँच्न नपाउनु नै आजको मानवको गुनासो बनेको छ । यद्यपि त्यो
गुनासोलाई निबन्धशिल्पी शङ्कर लामिछानेले न्यूनीकरण गर्ने प्रयास गरेका छन्
। हामीले भोगेको जीवन केवल अनुभूति मात्र हो ।
व्यावहारिक रूपमा सार्थक नहोला तर पनि एउटा कल्पनालाई आधार बनाएर
बाँचिरहेका हुन्छौं हामी । 'अल्बर्ट कामु' र 'सामुअल बेकेट' को
विसंगतवादसँग अति निकट सम्बन्ध राख्ने लामिछानेका निबन्धहरूले विश्वको
परिप्रेक्ष्यमा भिन्न नेपाली स्वाद प्रवाह गरेका छन् । वस्तुलाई उनी आफ्नो
अध्ययन, भोगाइ तथा व्यवहारको गाढा रंग ठान्छन् । जीवनलाई प्याजको बोक्रासँग
तुलना गर्छन् । प्याजको गुदी नभेट्टाए झैं जीवनको सार भेट्टाउन नसकिने भाव
व्यक्त गर्छन् उनी अर्थात् जीवन भन्नु नै रहस्य र भाव मिसिएको अनुभूति
मात्र हो । उनका निबन्धमा विश्वमा बढ्दै गएको वैज्ञानिक आविष्कार एवं
अनुसन्धानको प्रभाव परेको पाइन्छ । उनी आधुनिक वैज्ञानिक चिन्तनबाट
प्रभावित निबन्धकार भएकाले चामत्कारिक वैज्ञानिक आविष्कार र त्यसबाट
साहित्य र अन्य क्षेत्रमा पर्ने असर आफ्ना निबन्धहरूमा व्यक्त गरेका छन् ।
व्यक्ति शङ्कर लामिछानेले भोगेको जीवन नै निबन्धकार लामिछानेको जीवनको
'पोटे्रट' हो । जीवनप्रति नैराश्य हुँदाहुँदै पनि आदर्शजीवनको खोजी उनका
निबन्धको विशेषता हो । निबन्धमा आजको पुस्ताले भोगेको र भोलिका पिँढीले
भोग्नुपर्ने पीडालाई छर्लङ्ग प्रतिविम्बित गरेका छन् लामिछानेले । लेखनका
अधिकांश विधामा कलम चलाए पनि लामिछानेले लेख्न सुरु गरेको उपन्यास भने
अधुरो नै रह्यो । 'गौंथलीको गुँड' मा समेटिएका कथाहरूमा 'अस्तित्वगत चेतना'
को आभास हुन्छ झन्डै 'जाँ पाल सार्त्र' लाई चुनौती दिने गरी । 'विम्ब
प्रतिविम्ब' मा परिचयात्मक निबन्धहरू संग्रहित छन् । त्यसैगरी 'गोधूलि
संसार' का निबन्धहरू व्यवहारवादी र जीवनवादी विषयवस्तुमा आबद्ध छन् । 'शंकर
लामिछाने' उनको आत्मकथात्मक कृति हो जहाँ जीवन बाँच्ने क्रमका गुनासाहरू
समेटिएका छन् । कवि भूपी शेरचन र भीमदर्शन रोकालाई अति निकट ठान्ने
लामिछानेले आफूलाई कहिल्यै लेखक मानेनन् ।
बरु आफू ठट्टामा लेखक बनेको जिकिर गरिरहे । उनलाई आफू छिटो जन्मेकामा
गुनासो रहिरह्यो । अनि फ्रेन्च दार्शनिक रोलाँ बार्थले 'दी डेथ अफ दी अथर'
को कुरा गरिरहँदा नेपाली लेखक शङ्कर लामिछानेले भने एक हजार वर्षपछि
जन्मिने इप्सा बोकिरहे । उनले बारम्बार दोहोर्याइरहने वाक्य हो, 'म एक
हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ ।' असलमा, उनी एक इमानदार लेखक
हुन् । उनले 'प्लेगियारिज्म' (साहित्यिक चोरी) को आरोप कति सहजै स्वीकार
गरे । माइकल कर्वीको लेखमा आधारित भनी लेखिएको 'आभा गार्देको
सौन्दर्यशास्त्र' नामक लेखउपर कुमुदिनीले तेर्साएको तगाराले उनको
लेखनयात्रामा पूर्णविराम लगाइदियो । तर अफसोच ! कुमुदिनीको हुन् ? हालसम्म
बाहिर आउन सकेकी छैनन् ! (यस्ता महान् लेखकको यात्रालाई बर्जित तुल्याउने
वास्तविक कुमुदिनीसँग एकपटक भेट गर्ने ठूलो धोको छ मेरो, खुल्ला आह्वान पनि
हो यो ।) विसं १९८४ साल चैतमा जन्मेका यी महान् लेखकको मृत्यु
मेनेन्जाइटिजका कारण २०३२ माघ १० गते भयो । 'के गरे देखिन् मैले ठीक हुन्छ
?' भन्दै एकदिन देवकोटाकामा पुगेका थिए उनी र त्यसदिन महाकवि देवकोटाले
'रिपिटिसन अफ वर्क अन दी सेम लाइन ह्याज नो मिनिङ' भनेपछि लामिछाने आफ्नै
पृथक् बाटो पैलाउन लागिपरेका थिए । जुन बाटाले आज पनि अझ बढी फराकिलो भएर
सबै लेखकलाई हिँडाइरहेको छ ।

No comments:
Post a Comment