![]() |
–चन्द्रप्रसाद न्यौपाने |
नयाँ बाटो
सरिता आज पनि उही सानी नदीको किनारामा घोतल्किएर बसेकी छन् । भारतको बम्बई शहरको करिब तीन कि. मि. उत्तर—पूर्वमा पर्ने त्यस नदीको किनारमा एउटा पक्की सडकको निर्माण हुँदैछ । सरिताझैँ लाखौँ अबलाहरुहरुको जीवनमुक्तिको बाटो । हिजोसम्म विकराल झाडी भएको ठाउँमा आज एक्कासि जङ्गल फाँडेर नयाँ बाटोको निर्माण भइरहेको देख्दा सरिता छक्क परेकी छन् । सरिताले आजसम्म नयाँ बाटो देखेकी थिइनन् । त्यसैले उनी आश्चर्यमा परेकी छन् । उनी बेहोसझैँ भएकी पनि छन् । तर त्यहाँका कुल्लीहरुले बेलाबेलामा गाएको गीतले उनलाई ब्युँझाइदिन्थ्यो ।
कुल्लीहरुले गाएको गीतलाई उनी हृदयमा सार्दथिन् । उनका आँखाहरु ओसिला देखिन्थे । त्यो नयाँ बाटोको लक्ष्य विशाल थियो । त्यसको टुङ्गाई एउटा निश्चित विन्दुमा नभएर अनन्त थियो । नेपाललगायत अरु धेरै देशका चेलीहरु त्यस नदीको आशपाशका मरुभूमि बगरमा भासिइसकेका थिए । सरितालाई पनि त्यहीँ पुर्नको लागि मुम्मईको तीरभरि उनको खोजी भैरहेको थियो । उनलाई कतै उम्कन नसक्ने गरी छेकारो मारिएको थियो । मुम्मईको एउटा कालकोठीमा लगेर उनीलाई बेचिदिएका थिए कसैले ।
ôôô
सरिताका मनमा अनेक कुराहरु खेल्दथे— धिक्कार ! एउटा गोठालाले पालेको बाख्रो बेच्न लाग्दा विछोडको समयमा आप्mनो खसमपट्टि हेरेर म यहीँको करेसाबारीमै चर्दछु भन्दछ । हाय ! म त्यस पशुसरि पनि भइनँ । आज प्रकृतिले मलाई मानवकै रुप दिए पनि मानवले नै ममाथि शासन गरिरहेछ । थाहै नपाई मलाई बेचिसकेछ । हाय ! मेरो मोल कति होला ? यतिमात्र होइन वन्य जन्तुलाईझैँ गोली वर्षाउँदैछन् । हरे ! म पनि यसै धर्तीमा अटाउने एक मानव होइन र ? म बेचिएकी एउटी अबोध चेली हुँ । मुम्मई शहरको एक होटलबाट भागेर आएकी पनि तीन दिन बितिसक्यो । मैले जसरी हजारौँ—हजार चेलीहरुले नारकीय जीवन बिताइरहेका छन्, छट्पटाइरहेका छन् । ती अबोध, अशिक्षित चेलीहरुको आत्मा बेचुवाहरुलाई धिक्कार छ, हजारौँ पटक धिक्कार छ । हे, आत्मा बेचुवाहरु, तिमीहरुलाई यस धर्तीमाथि कहिल्यै हाँस्न नपरोस् । अब तिम्रा नजरमा पशुबाख्रा देखिएका हामी बेचिएका बाख्राहरु मिलेर हामीमाथि बाँधिएका बन्धन चुँडाई यिनै कुल्ली दाइहरुले खन्दै गरेको बाटोबाट नयाँ यात्राको थालनी गरी परको लहलह परेका फाँटमा चर्नेछौँ । त्यतिखेर कोही धपाउन भनी आयो भने हामी सबै मिलेर सिङले घोची घोची मार्नेछौँ ।
तीन दिनसम्मकी भोकी, निन्याउरी अबला सरिता मनमा अनेकन कुरा खेलाउँदा खेलाउँदै बेहोस भई भुइँमा लडिन् । नयाँ बाटो खन्दै गरेका एक कुल्लीले त्यो दृश्यलाई छर्लङ्ग देखिरहेको थियो ।
ôôô
नयाँ बाटो खनिदै छ । त्यो नयाँ बाटो खन्न कसैले ज्याला दिएको थिएन । सरकारको कुनै योजना पनि होइन त्यो । त्यो बाटो न मोटर, रेल गुडाउन न त पशुपन्छी हिँडाउन खनिएको थियो । त्यो बाटो त तिनै सरिताझैँ हजारौँ चेलीहरु, कुल्ली, मजदुर, ज्यामी, समाजका शोषित पीडित, निःसहाय, दीन दरिद्र आदिको जीवन मुक्तिको बाटो थियो । नयाँ क्रान्तिको बाटो थियो । सिद्धान्त र विचारको बाटो थियो । त्यसैले ती कुल्लीहरुसित कुनै खानेकुरा थिएन । तैपनि एउटा कुल्लीले स्थानविषे पाइने कन्दमूल या अन्य केही चिज खोजीमेली सरितालाई खान दियो र एक अँजुली पानी पिलायो । सरितामा शक्ति आयो । ऊर्जा थपियो । उनी जुरुक्क उठिन् । र मुठी कसिन् । यो क्रान्तिको बाटो । नयाँ बाटो म पनि यही बाटोबाट हिँड्नेछु भन्ने अठोट गरिन् ।
अहिले कुल्लीहरुसितै सरिता पनि नयाँ बाटो खन्न थालेकी छन् । त्यो नयाँ बाटो कहाँबाट खन्न शुरु गरियो र कहाँसम्म पुगेर टुङ्गिने हो ? कैलेबाट यो बाटो खन्न शुरु गरियो र कैलेसम्म खनिन्छ ? कुन आशयले खनियो ? सरितालाई कुनै जानकारी थिएन तैपनि उनी तिनै कुल्लीहरुसित मिलेर बाटो खन्न थालेकी छन् ।
कुल्लीहरु सरिताका जिज्ञासालाई पूरा गर्दैछन् । उनीहरु सरितालाई बाटो खन्दै गरेको इतिहासबारे बताउँथे । सरिता, निश्चित् दूरी नभएको यो बाटो जल्दै गरेको शोषित वर्गको हृदयबाट खन्न शुरु गरिएको हो र यो कहाँ गएर टुङ्गिन्छ कुनै पत्तो छैन ? जबसम्म तिमीजस्ता नारीले बन्धन चुँडाई स्वतन्त्र हुन सक्दैनन् तबसम्म यो बाटो खनी नै रहने छौँ । भर्खरबाट खन्न शुरु गरिएको यो बाटो हातका औँलाहरुले खोस्रेर निर्माण गरिरहेका छौँ । हामीसँग बाटो खन्ने साधन छैन । हामीले बाटो खन्ने केही साधन फेला पारेका छौँ । धर्तीलाई कोट्याउँदै जाँदा अनेक अनेक चिजहरु भेट्टाइँदो रहेछ ।
सरिता, जमिन खोस्रँदै जाँदा जमिनमुनि पुरिएका अनेक लासहरु पनि फेला परेका छन् । ती कालगतिले मरेका नभई मारिएका हुन् । हड्डीहरुमा जीवन मुक्तिका नाराहरु कुँदिएका छन् । कतै माक्र्सवाद कतै बुद्धका सन्देश कुँदिएका छन् । हामीले बाटो खन्न तिनै हड्डीहरुको सहायता लिएका छौँ । हातले भन्दा ती हड्डीहरुको बाटो खोस्रँदा केही सजिलो भएको महसुस भएको छ, तर ती ती हड्डीहरु आफैँ बिलाएर कता जान्छन् कता फेरि यिनै औँलाकै सहायताबाट बाटो खोस्रिँदै आएका छौँ । बाटो खन्दै केही परसम्म पुगेपछि फेरि नयाँखाले केही हतियार फेला पर्दै जान्छन् । यो कहिलेसम्म र कहाँसम्म खनिन्छ भन्ने टुङ्गो छैन । यो निरन्तर बगिरहन्छ हीमनदी बगेझैँ । कहिले बाटो खन्दै गर्दा अगाडि पछाडि ठूल्ठूला पहिराहरु लडिरहन्छन् । हामी कुल्लीहरु केही अगाडि बढिरहन्छौँ भने केही पछाडि फर्केर बाटो सफा गर्न थाल्छौँ । बाटो सफा गर्दागर्दै ढुङ्गाहरु पल्टिएर हाम्रो शरीरमा चोटपटक लाग्दछ । गम्भीर घायल भए पनि हामी ढल्दैनौँ । यो नयाँ बाटो निर्माणमा लागि लागि नै रहन्छौँ, लागि नै रहन्छौँ । सरिता, नहड्बडाऊ !
ôôô
भोलिपल्ट पनि तिनै कुल्लिहरुका साथमा हाँसखेल र ठट्टा गर्दै सरिता बाटो खन्दैछन् । त्यहाँ एक्कासि मुम्मई शहरको एउटा होटलबाट हेलिकप्टर उडेर आयो र बाटो खन्दै गरेको ठाउँमा टक्क अडियो । त्यस हेलिकप्टरबाट एक्कासि गोलीहरु वर्षन थाले र हेलिप्याडमा बसेका राक्षसीरुपी केही मानवहरुले कुल्लीहरुलाई विषालु सुईले घोच्न थाले । सुईले घोचीघोची सरिताका जिउभरि पनि प्वालैप्वाल पारियो । त्यो ठाउँ एकैछिनमा अन्धकार, अनकन्टारको रुपमा परिणत भयो । एकैछिनमा अघि खन्दै गरेको बाटोमा सिस्नु उम्रन थाल्यो । हेर्दाहेर्दै सिस्नुघारी बन्यो त्यो ठाउँ । त्यहाँ रगतका मूलहरु फुट्न थाल्यो । आकाशभरि गिद्धहरु उड्न थाले । भुइँभरि हुटिट्याउँ । कतै स्यालहरु कराउन थाले । तर सरिता कति पनि डराइनन् । त्यस सुईको प्रयोगले झन् उनको गर्भबाट उनलाई साथ दिने एक अति बलियो बालकको पो जन्म हुन गयो । सरितामा झन् शक्ति थपिँदै गयो । उनी नयाँ बाटो खन्दै गइन् । हातका औँलाले खोस्रँदै खोस्रँदै जाँदा एउटा हड्डी फेला प¥यो हड्डीले बाटो खोस्रँदा हातका औँलाले खोस्रनुभनदा केही सजिलो हुन्थ्यो । सरिता त्यही हड्डीले बाटो खोस्रँदै छन् । हड्डीले बाटो खन्न थालेपछि अघि फुटेका रगतका मूलहरु विस्तारै सुक्न थाले र र सोही ठाउँबाट शीतल पानीका मूलहरु फुट्न थाले । धमाधम पानीका कुलाहरु बग्न थाले । यतिकैमा त्यहाँ स्वच्छ ताल नै बनिसकेछ ।
यतिखेर त्यो हेकिप्टर जहाँ अडेको थियो त्यहाँ माछाहरु पौडन थालेका छन् । जहाँ जहाँ गोली आएर ठक्कर खान्थे त्यहाँ त्यहाँ बाटो खन्ने साधनहरु थुप्रन थालेका छन् । जुन साधनले बाटो खन्दा औँलाले खोस्रनुभन्दा केही सजिलो हुन्थ्यो । त्यहाँ अघिका कुल्ली दाइहरु बाटो खनिरहेका छैनन् । उनीहरु त बाटो खन्ने साधन बनिरहेका छन् । त्यो साधन समाएर नयाँ बाटो खन्ने सरिता मात्र छैनन् । त्यहाँ हजारौँ हजार शोषित पीडितको समूह नयाँ बाटो खन्न संलग्न छन् । अब नयाँ बाटो खनिँदै लगिने छ । कहाँ गएर टुङ्गिने हो कुनै निश्चित् छैन । नयाँ खनिँदै छ ।
ôôô

No comments:
Post a Comment