कथा
लुटिएको अस्मिता
![]() |
पार्वती शाही |
अपराधिको जस्तो भारी मन लिएर ढोकामा प्रवेश गरे । त्यो क्षण आफै भित्र निकै डर लागिरहेको थियो । सोच्न थाले “कतै परिचित अनुहार पो भेटिन्छ कि ?” निकै बेर आँखा दोडाएँ मैले यताउता तर सुदुर गाउँबाट शहरमा अवतरण भएकि म । यो विरानो शहरमा मैले चिनेका अनुहार कति नै पो थिए होलान् र ? सबै नौला नै थिए । सबैैका आफ्नै समस्या । कसैलाई कसैको अनुहार हेर्ने फुर्सद नै थिएन् । म पनि मिसिएँ, त्यहि व्यस्त जमातमा । अघि भर्खर सँगै गाडिबाट ओर्लिने जोडि दर्ता कक्षबाट बाहिरियो । मेरो पालो थियो । म भित्र दर्ता कक्षमा छिरे । त्यहाँ एउटी गोरी, मध्यम मोटाई र हेर्दा २४, २५ बर्ष जत्तिकि देखिने सुन्दर नर्स थिईन । उनले मलाई सामनेको कुर्सिमा बस्न आग्रह गरिन् । म थचक्क बसे ।
उनले सोधिन् –“तपाईको नाम ?”
“सुस्मिता”
“उमेर ?”
“अठार वर्ष ।”
“म्यारिड हो ?”
“होइन, अनम्यारिड ।”
“को सँग आउनु भएको छ ?”
कोहि छैन, म एक्लै नै आएको ।”
लेख्दै गरेको हात गालाका लगाउंदै गम्भिर भाबमा हेरिन ।
“सरी बहिनी, अभिभावकको अनुमति बिना हामी तपाईलाई एड्मिट गर्न सक्तैनौ ”
नर्सको कुरा सुन्दा मन खग्रङ्ग भयो । ओठ मुख नै सुक्यो एकछिन त । कत्रो ठूलो हिम्मत बटुलेर एकल निर्णय गरि त्यहाँ सम्म पुगेकि थिए म ।
मैले मेरो समस्या नर्सलाई बुझि दिन अनुरोध गरे ।
पहिले त मान्दै मानिनन् । हुन त स्वभाविकै थियो । म जस्ता परिस्थितीले चिथोरेको महिला त पचासौँ आउँछन होला दिनमा । सबैका कुरा सुनेर साध्य पनि हुदैन थियो होला र त सुन्न मानिनन तर मेरो अनुनयले बाध्य गरायो । अन्तमा सुन्न मन्जुर भईन । मन खोलेर बक्न सुरु गरे मैले मेरो यर्थात सबै । एउटी महिलाको पिडा पहिलाले नै बुझ्न सक्छिन् ।
“सरिता सिस्टर” जसले बहिनी सम्झेर मलाई त्यो दलदलबाट उम्काएर जिन्दगी भर तिर्न नसक्ने गुन लगाईन, उनै नै थिईन मेरो भगवान ।
दर्ताको प्रक्रिया पूरा गरेर मलाई सरिता सिस्टरले अर्को कक्षमा लगेर गईन । एक छिन पछि औषधि खान दिईयो । मैले खाएँ । त्यहि क्युरेड कक्षको बाहिर पालोमा बस्न लगाएर आफू दर्ता कक्षमा फिर्ता भईन् । पालोको प्रतिक्षामा बस्दा एक्लै मनका तर्कनासँग निकै नै रुमाल्लिए म । युद्धमा जान थालेको फौजिको जस्तो भारी मानसिकता बोक्दै छटपटिए एकछिन त । मलाई त्यहाँ प्रवेश हुँदाको डर अर्कै थियो भने एड्मिट भई सकेर आफ्नो पालो पर्खदाको डर भिन्दै किसिमको थियो । एकातिर आमा बन्न पाउने सौभाग्यलाई गुमाउँदै थिएँ ।
अर्को तिर शिशुको जन्म सिद्ध अधिकारलाई खोसि राखेकी थिए । अझैँ आफ्नो स्वास्थ्यमा पर्न जाने प्रतिकुल प्रभाव बढी विकरात भएर ठगिएको थियो मेरो अगाडि । न त कानुन सम्मत नै थियो मैले चालेको कदम । उफ !! कस्तो परिस्थितीको सिकार भएछु म ? हात खुट्टा त त्यसै गलेर पानी पानी भएका थिए ।जसको कारण म त्यो परिस्थितीको कठ्घरामा उभिएकि थिए अचानक उसैको हुलिया सम्झिन पुगे र सम्झिन पुगे, त्यो दिनको दृश्यलाई अनि उसको त्यो राक्षशि प्रवृत्तिलाई । थुक्न मन लाग्यो उसको अनुहार सम्झिदा र निचोर्न मन लाग्यो उसको नासोलाई । मनमा विद्रोहको भाव उत्पन्न भए पछि डर हराएर जाँदो रहेछ । हो, त्यतिवेला मलाई त्यस्तै भयो । मनमा पलाएको डर त उसको सम्झाइले विद्रोहमा परिणत भयो । मानसिकता कठोर भएर आयो । सोच्दा सोच्दै पर्खाईको घडि समाप्त भएको संकेत सरिता सिस्टरले दिएपछि झस्किए म । सिस्टरले मलाई क्युरेट कक्षमा लगेर गईन । मेरो गार्जेन बनि दिएकि थिईन तिनै ‘सरिता सिस्टर’ ।
भयले गिजोलेको थकित शरीरलाई हस्पिटलको बेडमा ओछ्याएँ । जे जे डाक्टरले गर्न भने मैले त्यस्तै गरे । पिडा त खप्नै नसकिने गाह्रो भयो । तर पनि आँखा बन्द गरि दुखाईलाई सहे । पन्ध बीस मिनेट पछि काम सकियो । सरीता सिस्टरले मलाई अर्कै कोठामा लगेर गईन । रेष्ट गरे केही समय । त्यो समयाबधिमा मलाई मेरो स्वास्थ्यको बारेमा उचित परामर्श दिईन सिस्टरले । छुट्टिने बेला आयो । उनको मोवाईल नम्बर मागे मैले । भन्दै थिइन, “बेला बेलामा भेट गर्दै गर्नु है सुस्मिता १ केहि पर्यो भने कल गर्नु । आफ्नो स्वास्थ्यको ख्याल गर्नु ।” सिस्टरले यति भनि रहँदा मेरो आँखा रसाएर आए । मन थाम्न सकिन । क्वा ! क्वा ! डाको छोडेर रुन मन लाग्यो । उनी भन्दै थिईन, “नचाहेरै पनि हामी महिलाहरुले यस्तो परिस्थितिको सिकार हुनु पर्दछ, डटेर सामना गर्ने हिम्मत गर्नुपर्छ र सम्झौता गर्नुपर्छ हर चुनौतिहरुसँग । कातर मानसिकता कहिले नपाल्नु मनमा । लल्जावती जस्तो होईन, यी समाजका जंगली काँडाहरुसँग पौठेंजोरी खेल्ने शाहस बटुल्नु पर्छ हामीले ।”यस्तै गरि सम्झाउदै मलाई डोर्याएर ट्याक्सिसम्म छोडिदिईन् उनले । छुट्टीने बेलामा मायालु अंगालोमा कसेको अहिले नै हो कि जस्तो लाग्छ । बिदाईका हात हल्लायौ हामीले । हेर्दाहेर्दै छिनभर मैं म बसेको ट्याक्सि ओझेल प¥यो । फर्किए म पनि बस्दै गरेको होस्टेलमा, जुन क्याम्पस नजिकै थियो ।
निकै नै ठूलो विश्वास गरेर बाबा आमाले मलाई सुदुर गाउँबाट शहरको भिडमा पढ्न पठाउनु भएको थियो । प्राइभेट गल्र्स होस्टलमा साथीहरुसँगै बस्थ्ये म । घरकि एक्लि छोरी र खुबै लाड प्यारमा हुर्किएकी पनि । अहिले पनि बाबा आमा मलाई त्यत्ति नै माया गर्नुहुन्छ, जति पहिला सानोमा गर्नुहुन्थ्यो । गाउँमा अरुको भन्दा बाबाको परिचान छुट्टै थियो । बाबा हाईस्कुलको प्र.अ. हुनुहुन्थ्यो । त्यसैले हाम्रो परिवार अरु गाउँका छिमेकी भन्दा सबै कुरामा फरक नै थियो । खानपिन लवाई खवाई देखि लिएर सेवा सुविधा मेरा दौतरी भन्दा मलाई गुणस्तरीय नै थियो । हरेक बिहान विद्यालयको दैलो कुल्चिदा सम्म सँगैका साथीहरुले जंगल चहारेर एक भारी घाँस घरमा बिसाएर आउनु पथ्र्याे तर मलाई मेरो बाबाले कहिले अराउनु भएन त्यो सबै । मेरो एउटै काम थियो, पढ्ने मात्रै । मेरो लगनशीलता र बाबाले सृजना गराई दिनु भएको घरको बातावरणले मैले प्रबेशिका परीक्षा डिस्टिन्सन्ले पास गरे । बाबाको मलाई ईन्जिनियर बनाउने धोको थियो । त्यसैले ठूलै सपना सँगालेर राजधानीको एउटा नाम चलेको कलेजमा चर्को शुल्क तिरेर मलाई भर्ना गर्नु भएको थियो । बसाई प्राइभेट गल्र्स होस्टेलमा थियो मेरो ।
कलेजमा मेरो पढाई राम्रै चलिराखेको थियो । मलाई मेरो लगनशीलता र पढाईकै कारण शिक्षकहरु पनि माया गर्नुहुन्थ्यो । छोटो समयमा धेरै साथिले मलाई चिन्थ्ये पनि ।
१२ कक्षाको बोर्ड परिक्षा नजिकिदै थियो । कलेजमा कोर्स सकिसकेको थियो । धेरै साथिहरु ट्युसन पढ्न जान्थे भने बाँकि घरमै बसी बोर्डको तयारी गर्दै थिए । म पनि कोठा मै बसेर पढ्थे । पढ्दै जाँदा साईन्स न्युमेरिकलमा मलाई समस्या भयो । साथिहरुकोमा जानु भन्दा कलेज मंै गई सर सँग सोध्न जाँदा उचित होला जस्तो लाग्यो मलाई र एकदिन कलेजमा नै गएँ । फिजिक्स पढाउने सरसँग भेट भयो । जो हामीलाई दुई बर्ष देखि पढाउँदै आईरहका थिए । हेर्दा सभ्य व्यक्तित्व लाग्ने अविवाहित थिए उनी । मैले मेरो समस्या बारे कुरा गरे तर आफू व्यस्त भएको र साँझ तिर मात्रै फुर्सद हुने कुरा गरि मलाई आफ्नै कोठामा आउन भने । म खुशी भएर फर्के । अलि धेरै समस्या बोकि दुई तीन दिन विराएर पढ्न जान थाले । दुई बर्ष सम्म पढाएको शिक्षक मलाई त्यसैले धक लाज केहि पनि लाग्दैन थियो । विद्यार्थीले पथ प्रर्दशक शिक्षक माथि निकै भरोशा र बिश्वास राखेका हुन्छन् । हो, मैले पनि एउटा विद्यार्थीको नाताले विद्यार्थीले शिक्षकलाई गर्नु पर्ने सम्मान र माया गरेथें । तर कुरा अर्कै भई दियो । ‘म ताक्छु मुढा बन्चरो ताक्छ घुँडा’ भने झैं भयो । समाजमा सभ्यको पदक विभुषित शिक्षक भनाउँदो शिक्षक नामको कलंकले त म माथि गिद्दे दृष्टि बर्साएको रहेछ । जसको परिणाम स्वरुप मैले मेरो अस्मिता गुमाउनु प¥यो । मेरो किशोरीपना को फाइदा उठाउँदै मनपरी मलाई बलत्कार गर्न पुग्यो ।म प्रतिकार गर्न असमर्थ भए त्यतिवेला । धेरै कुराले रोक्यो मलाई । बाबाको प्रतिष्ठा आमाको नाक, म स्वयंमको ईज्जत अनि म माथिको विश्वास र भरोसा । यस्तै–यस्तै थुप्रै कुराहरु बने बाधक । आफ्नै बदनामिका खातिर पनि आवाज उठाउन नमिल्ने म छोरी मान्छेलाई । ईज्जतको तरलता बग्न दिनु हुन्नथ्यो, त्यसैले हल्लिन पनि दिईन मैले । सोच्न थाले “कतै पोखिई पो हाल्छ कि !”
बर्ष भरीको अथक मेहनत अनि भविष्यका बारेमा सजाईएका सुन्दर सपनाहरु सबै चकनाचूर भई मेरै वरिपरि छरपस्टिएर पोखिय । म असमर्थ थिए ती टुक्रा टुक्रीलाई बटुलेर जोड्न र सक्तिन थिएँ त्यो हर्कत सवैका सामु उदागों पार्न । बोर्ड परिक्षाको मुखमा थिलथिलाएको बलित्कृत शरीर अनि विग्रिएको मानसिकता पालेर धेरै दिन सम्म होस्टेलको बेडमा थला परें । मेरो व्यथा न साथिहरुसँग बाड्न सक्थे न त घरमा सुनाउन नै सकें । त्यो होस्टेलको मेरो बेड अनि त्यही तकिया मात्रै साक्षी छन् । धेरै दिन सम्म त्यति दृष्यले पछ्यायो मलाई । कति दिन त राती सपनामा समेत अत्तालिएर कराउँदै बेडबाट लड्न पुगें ।
शारीरिक र मानसिक असक्तताले गाँजेको कमजोर शरीर लिएर परीक्षामा उपस्थित् भएँ र सबै सकाएँ पनि तर चाहे जस्तो राम्रो गर्न सकिन । केहि दिनमा परीक्षा सकियो । म पनि अलि फ्रेस हुदै गएँ । त्यो दृष्यलाई बिर्सिन प्रयत्न गर्न थाले बिस्तारै । महिनावारीको दिन नजिक आयोे तर हुने केहि लक्षण पनि देखिएन । मनमा फेरि चिन्ता थपियो । डेट क्रस भएको पनि एक हप्ता भई सकेको थियो । के गर्ने गर्ने ? राती भरी निन्द्रा लाग्दैन दिउँसो पनि छट्पट् मात्रै हुन्छ । केहि सोच्न नै सक्तिन । एक दिन निक्कै सोच विचार गरी प्रेगनेन्सी टेष्टका लागि युरिन टेष्ट गर्न दिने निर्णय गरे । नजिकैको हस्पिटलको ल्यावमा टेष्टका लागि युरिन दिएँ । बेलुकी रिपोर्ट आयो, “प्रेगनेन्सी पोजेटिभ” । म त छांगाबाट खसे झै भए त्यो क्षण । एउटा घाउ राम्रो सँग निको हुन नपाउदै फेरि त्यसै माथि अर्को थपिन पुग्यो । सरासर रन्थनिदै होस्टेलमा फर्किए । पटक्कै खाना खान मन पनि लागेन् त्यो दिन । रातै भरी खुब सोचें एक्लैले । अँध्यारो तुरिदै जब बिहानको सिरेटो झ्यालबाट छिर्दै कोठा भरि पोखियो । अल्छि मान्दै उठें । छिप्पिदो उषासँगै एकल निर्णयलाई काखि च्याप्दै हानिएँ मेरी स्टप सेन्टरतिर । यो निर्णय नै मेरो अन्तिम निर्णय थियो । यदि त्यहाँ मैले सफलता नपाएको भए मेरो बाँच्ने सम्भावनाका सवै ढोका बन्द भई सकेका थिए । खाली अन्तिम विकल्प बाँकि थियो । त्यो हो ‘आत्महत्या’ । तर म सफल भएँ मेरो मिसनमा । मुत्युको मुखबाट फर्केर फेरि मैले बाँच्ने जिन्दगीकोे पुरानै गोरेटोलाई निरन्तरता दिएँ ।
बुझ्दै जाँदा पछि मात्रै थाहा पाएँ मैले । यो शहरको भिडमा दिनहँु बिभिन्न परिवन्धमा परेर पचासौं सुस्मिताहरुको अस्मिता लुटिदो रहेछ । कतिपय निर्दोष सुस्मिताहरुको आत्महत्याको कारण तथा कतिपय सुस्मिताहरुको भर्खर फक्रिन थालेको यौवन र सिङ्गो जीवन माथि नै प्रश्नबाचक बन्छ उसैको आफ्नै अस्मिता ।
त्यसपछि फेरि कहिले पनि देखिन मैले त्यो यौन पिपासु राक्षशलाई । धेरै दिन अप्रत्यक्ष रुपमा उसको कोठा चियाएँ तर ढोकामा बडेमाको ताल्चा कहिले खुलेको देखिन । उसको मोवाईलमा कन्ट्रयाक्ट गर्न नखोजेको पनि होइन मैले तर उसले त्यहि बेलुकी देखि त्यो सीमकार्ड नै फालि सकेछ । उसको सम्पर्कमा रहेका ब्यक्ति सँग उसको बारेमा बुझे मैले । ऊ त काठमाण्डांै नै छोडेर हिड्यो अरे । उफफ १११ कति सम्मका स्वार्थी हँुदारैछन यी पुरुष नामका कलंकहरु । बल्ल बुझे थोरै भए पनि जिन्दगीलाई र स्वार्थको हदलाई ।
सरी बाबा १ म हजुरको सपना पूरा गर्न सक्तिन । इन्जिनियर छोरीको बाबा बन्ने हजुरको सपना तुहियो । घरको नक्सा कोरी घरलाई सिंगारपटार गर्ने इन्जिनियर होइन म जस्तै हजारौ सुस्मिताको जिन्दगीलाई सिगार्ने कर्तब्यनिष्ठ असल छोरी बन्न चाहन्छु म । परिस्थितीले विश्वासबाट चुके पनि सम्झौता गरिसके मैले जिन्दगीसँग । जे भयो सो भयो अन्यथा नबुझिदिनु । हो, यो कुरो पनि साँचो हो । जिन्दगीको कुनै मोडमा म माथिको अत्याचारको बदला लिएरै छोड्नेछु । बाँकि यात्राका लागि नयाँ गोरेटामा आजैबाट मेरा साहशिला पाईलाहरु उचाल्दै छु ।
समाप्त

No comments:
Post a Comment