Saturday, 17 May 2014

फूलको आँखाले मेरा अन्य प्रतिभा किचेझैं लाग्छ

गीतकार तथा स्रष्टा : दुर्गालाल श्रेष्ठ


नेपाली गीत लेखन क्षेत्रमा नेपाली भाषाका करिव ४ सय र नेपाल भाषाका ११ सय गरि करिव १५ सय बढी गीत रेकर्ड भैसकेका चर्चित गीतकार दुर्गालाल श्रेष्ठ अझै पनि गीति लेखन साधनामा जुटिरहनु भएको छ । यो क्षेत्रमा सुरुमा आइपरेका अपमान मात्र हैन बाह्र घुस्सा त्रिपन्न ठक्करलाई पनि  पनि सख्खर झै चाख्ने  बानी परेको संवेदनशील गीतकार तथा स्रष्टा श्रेष्ठ विभिन्न उपाधीबाट विभुषित छन् । उहाँ जनकवि, जनगीतकार, ख्वविलु, नाटककार, वालसाहित्यकारजस्ता थुप्रै आलङ्कारिकबाट सम्मानीत हुनुहुन्छ । नेपाली संचारमाद्याममा चर्चित सयौं गीतहरुको धनी श्रेष्ठ नेपालकै सबैभन्दा थोरै नगद राशी रु. १ को नैतिकनिष्ठाको प्रतिक अभियान पुरस्कार र सबैभन्दा धेरै नगद राशी रु. २ लाखको जगदम्बाश्री पुरस्कार पाउने पहिलो र एकमात्र व्यक्ति श्रेष्ठ हुन । उहाँले नेपाली वाङ्मयमा मात्र नभै  मातृभाषा (नेपाल भाषा) मा पनि उतिकै सृजना गरेका छन् । ‘राजमति कुमति’ देखि’ फूलको आँखामा’ सम्म आइपुग्दा उहाँको करिव १५ सय बढि गीत रकर्ड भैसकेका छन् भने १ हजारको हाराहारीमा विभिन्न गायक र संगीतकारहरुले रेकर्डको लागि तयाारीमा राखेको उहाँ बताउनु हुन्छ । कपाल र शरिरले बुढेसकालमा प्रवेशको लागि ढक्ढक्याएको छ । तर, अझै उहाँको मनको तन्नेरी जाँच्ने हो भने युवाझैं देखिनुहुन्छ ।  ‘राज्यको चित्त सानो नभईदिएको भए,यो देशका जातजाति विच कस्तो सौहार्दपूर्ण साम्प्रदायिक सदभाव स्थापित हुन्थ्यो होला’ उहाँ ययिह विचारले ओतप्रोत भएर गीतबाटै आफ्नो विचार नेपालीहरुमाझ पु¥याइसकेका छन् ।

ए मगर,  तामाङ,लिम्बु, मैथिली, नेवार आऊ
आऊ उपेक्षित जाति सबै आफ्नो हक आफ्नो वनाउन आऊ
होइन एकलौटी यो देश कसैको हाम्रो हाम्रो यो हाम्रो हो

कसैको भाषा मार्न खोज्नु देशकै गला रेट्नु हो  । त्यतिमात्रै हैन सयथरि  बाजा एउटै ताल, फूलको आँखामा फूलै संसार जस्ता उहाँको गीत कालजयी छन् । प्रस्तुत छ उनै जनकवि स्रष्ता तथा गीतकार तथा स्रष्टा दुर्गालाल श्रेष्ठसँग कमाण्डर पोष्टका जितेन्द्र रसिकले गरेको जीवन संवाद  ।


कसरी सुरु भयो तपाइँको लेखन यात्रा ?

  म ११ वर्षमा भरखरै पाइला टेकेको थिएँ  । श्रावणको  महिना थियो । उपत्यकामा भर्खरै धान रोप्ने काम सकिएको थियो । भर्खरै धान रोपेको खेतमा जमेको टिलपिल पानीले उपत्यका मनमोहक देखिएको थियो । चाडबाड सुरु हुँदै थिए ।  गाईजात्रादेखि ईन्द्रजात्रासम्मका अवसरमा टोलटोलमा डबली नाटक देखाइन्थ्यो । खेतको काम सकेर फुर्सद भएपछि

नाटकको रिहर्सल सुरु हुन्थ्यो । काठमाडौंको न्हैकन्तलानजिकैको टोल बाङ्गेमुढामा आफ्नै दामलका साथीहरुले बालनाटक प्रदर्शन गर्न लागेको कुरा हाम्रा्े जानकारीमा आयो, बाल नाटक यो भन्दा पहिले भएकै थिएन उपत्यकामा । तसर्थ उनिहरुको प्रयास नौलो मात्र होईन ऐतिहासिक पनि थियो, यसैले सो नाटक हेर्ने उत्सुकताले हामीलाई तान्यो । ‘गुन्हुपुन्ही’ पनि भनिने रिहर्सल गर्दै रहेको दन्त्यकथामा आधारित  नाटकको नाउँ थियो, ‘सत्तलसिँह महाराजा’ ।  रिहल्सल साँझपख वाङगेमुढाकै एउटा घ।को दलानमा हुन्थ्यो । एकदिन संधैझै रिहर्सल हेर्न जाँदा छिँडीभित्रको दलानको  ढोका वन्द थियो ।  ढोका ढकढकाएँ तर खोलेन ।  अनि अधिर भएर आग्लोको प्वालबाट चिहाएको मात्र थिएँ । भित्रबाट छिराएको चोर औंला मेरो आँखैमा वेस्सरी घोच्न पुग्यो । म रन्थनिएर तिरमिराएँ । साथीहरु के भो भन्दै म नजिक झुम्मिए । मेरो आँखाको गति देखेर साथीहरु ज्यादै मर्माहत भए र आक्रोशित हुदै कराए । खबरदार  ।  साथीहरुको यो अपमान हामी विर्सन सक्दैनौं । घोचेको त मेरो आँखामा मात्र थियो तर त्यसको चोट सवैको हृदयमा प¥यो ।
चोटलाई धैर्य पूर्वक सम्हाल्यौ र  शक्तिमा बदलेर हामीले पनि आफै नाटक बनाउने अठोट ग¥यौँ । तर प्रश्न तेर्सियो, नाटक  लेख्ने कसले ? हामी संग त्यसबेला मात्र जोश थियो ।  नाटक कसरी लेखिन्छ कसैलाई थाह थिएन ।  तैपनि मेरो अपमानित मन जाग्यो । सोचें ‘जे होस म नाटक लेख्छु लेख्छु ।’ अरु साथीहरु नाटक खेल्न तयार भए । जोडिएको अक्षरै राम्रो नजान्ने मैले, नाटक भने लेख्न भ्याएँ । यसैले भ्याएँ कि मैले  अपमानबाट वरदान पाएँ । कमिकमजोरी यथेष्ठ होलान तापनि मैले नाटक निर्माण गरें । रिहल्सरको निमित्त हामी सवै दत्तचितले लाग्यौं । हाम्रो लगनशिलता देखेर अग्रजहरुको ध्यान पनि केन्द्रित हुन पुग्यो, नभन्दै नाटकको निमित्त चाहिने सामग्री वेलैमा जुराउन पनि हामी समर्थ भयौं फलस्वरुप, हाम्रो नाटक आशातित सफल हुन पुग्यो । नाटक टोलटोलको निमन्त्रणामा गाईजात्रा भरी दिनरात तीन तीन ठाउँमा पनि मञ्चन गर्न हामी सक्षम भयौं । र त्यहि साथीहरुको अपमान बाट मेरो लेखन अगाडी बढ्यो ।

फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार

आनी छोइङ डोल्माले गाएको तपाइँको यो गीत खुब चर्चामा रह्यो । यो गीतको सन्दर्भ केहि बताईदिनुस न ?


एउटा नितान्त शान्त बिहान थियो त्यो । म नित्यकर्म सकेर हर्बल चिया पिउँदै बसिरहेको थिएँ । पर्यटकीय नगरी ठमेलमा त्यति धेरै   व्यस्तता सुरु भइसकेको थिएन । गाडी र मोटरसाइकलका हर्न अलिअलिमात्रै सुनिन्थ्यो । भर्खर खुल्दै गरेका क्युरियो पसलहरु पर्यटक 
लोभ्याउनका लागि सजाइँदै थिए । क्युरियो पसलमा बालिएका अगरबत्तिको सुगन्ध मेरो कोठासम्म आइरहेको थियो । त्यही सुगन्धमा लठ्ठिएर म सोचमग्न हुन पुगेको थिएँ ।  विद्युतीय घण्टीको आवाजले मेरो एकाग्रतालाई भङ्ग गरिदियो । ढोकातर्फ नजर दौडाएँ । त्यहाँ युवा सङ्गीतकार न्ह्यू वज्राचार्य खडा थिए । अभिवादनसँगै उनी कोठाभित्र छिरे । त्यस दिन घरमा न्ह्यू आउने कुनै खबर मैले पाएको थिइनँ । उनी बेलाबेला त्यसरी नै बिना पूर्वसूचना कहिलेकाहीँ मेरो घरमा आइपुग्थे । हँसिलो मुद्रासहित कोठामा छिरेका न्ह्यूको काँधमा एउटा सुन्दर गिटार पनि थियो । र, साथमा थिइन् एउटी चिवरधारी सुन्दर नारी । ती नारी मेरा लागि अपरिचित थिइन् । मलाई भेट्न आउने कैयौँ आगन्तुकभन्दा भिन्न थियो त्यो अनुहार । न्ह्यूले नवआगन्तुकको परिचय गराए मसँग । ‘नमस्ते ! म आनी छोइङ डोल्मा । गीत पनि गाउँछु ।’ नारीको पहिलो आवाज खस्यो मेरो कोठामा । मलाई थाहा थियो, न्हू कुनै एउटा नयाँ सङ्गीत लिएर आएको छ । ‘अंकल ! एउटा गीत छिटो चाहिने भएर खबरै नगरी आएँ ’ मसँग एउटा धुन छ । त्यसलाई शब्द चाहियो ।’ उसले मसँग गीतको यसरी डिमान्ड ग¥यो मानौँ मसँग गीतको बोट छ, जहाँबाट उसलाई तुरुन्त टिपेर दिन सकुँ । यस्तो प्रस्ताव उसले यसअघि पनि मसँग गरिसकेकाको थियो । त्यसैले साहस गरेर भनेको होला । अरुले त त्यसरी भन्न आँट गर्न सक्दैनन् । मैले धुन सुनाउन भनेँ । ऊ काँधमा भिरेको गिटारका कर्डहरुमा औँला खेलाउन थाल्यो । म अरु नै के कुरामा अल्झिरहेको थिएँ । मेरा कमजोर कानमा गिटारको आवाजले हल्का स्पर्श ग¥यो । बिस्तारै म त्यो धुनतिर डोरिएँ । त्यो धुनमा डुब्न थालेँ म । न्ह्यू मेरो मुखबाट निस्कने शब्दको प्रतीक्षामा थियो सायद । उसको अगाडि टि टेबुलमा कपी–कलम तयार थियो सधैँ झैँ । गिटारको धुनसँगै म बहन्थेँ र त्यसलाई ऊ कपीमा उतार्ने गथ्र्यो । 
अन्तबाट ध्यान हटाएर गिटारको धुनमा समेटिएँ म । धुन सुन्दै गर्दा अनायासै मेरो दृष्टि आनीमाथि प¥यो र परिरह्यो । चिवरधारी सुकुमारी आनी ! मेरा आँखा त्यो सुकुमार अनुहारमा अडिए । मैले आनीमा ‘आनी’ देखिनँ । गाढा रातो रङ्गको चिवर देखिनँ । केही देख्दै देखिनँ ।  फगत एउटा हरियो रुख देखेँ । बजिराखेको धुनको फलचाहिँ शब्द बनेर त्यो रुखमा फलिराखेको जस्तो मलाई लाग्यो । मानौँ त्यो अनुहारमै एउटा रुख छ । त्यो रुखभरि त्यही धुनको शब्द फलिराखेको छ । मैले बकेछु शब्दहरु । बकेको पनि के भन्नु, टिपेँ ती शब्दहरु त्यो बोटबाट । शब्दहरु टिपेर सङ्गीतकारको अघिल्तिर राखिदिएँ । अनि बन्यो गीत ।
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार
झल्किन्छ है छायाँ बस्तु अन्सार
काँडाको आँखामा काँडै संसार
चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस्
मेरो पैतालाले कीरै नमरोस्
राम्रो आँखामा खुल्छ राम्रै संसार
काँडाको आँखामा काँडै संसार
टहटह जून देखूँ कालो रातैमा
जीवन सङ्गीत सुनूँ म सुख्खा पातैमा
सङ्लो मनमा खुल्छ है सङ्लै संसार
काँडाको आँखामा काँडै संसार
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार ।

धुन सँगसँगै पाँचदेखि सात मिनेटमा गीत तयार भयो । बुद्ध बाहेक एक शब्द पनि थपघट गर्नु परेन । हठात् लेखेको भएपनि नजानिँदो
ढङ्गले त्यसका लागि मसला भने पहिलेदेखि नै बनिराखेको हुनुपर्छ भन्ने लाग्छ अहिले मलाई ।

नेपालमा १० वर्षे विद्रोहताका यो गीत लेख्ने बेला तपाइँको मष्तिष्कमा विद्रोहले डसेन ?

हो त्यहि अशान्ती र रक्त आहालहरुले आजित आम नेपाली बनेर आफुलाई डुवाएँ त्यसैले त यो गीत आयो ।  त्यो बेला नेपालमा जनयुद्धलगायतका कारणले असाधारण अवस्था थियो । जताततै अशान्ति थियो । लुटपाट थियो । मानिसहरु बेचैन थिए । तनावयुक्त थिए । एकआपसमा वैमनस्य थियो । कतैबाट पनि आशाको झिल्को देखिएको थिएन । जताततै निराशाको कालो बादल मडारिरहेको थियो । अनिष्टको वर्षा जुनसुकै बेला हुनसक्थ्यो । जहाँतहीँ हत्या, हिंसा, रगतको आहाल ! मानिसहरु सकारात्मक कुराहरु खोजिरहेका थिए । कालो बादलमा चाँदीको घेरा खोजिरहेका थिए । त्यस्तो अवस्थाले गर्दा पनि होला सायद मभित्र अरु केही गर्न नसके पनि अनायसै गीत–सङ्गीतको माध्यमबाट मान्छेलाई शान्ति दिन सक्नुपर्छ भन्ने भावना जागृत भएको थियो । सङ्गीतको माध्यमबाट आशाको दियो बाल्न र सकारात्मक सोचको विकास गर्न चाहन्थेँ म । त्यसैले पनि त्यो धुनमा आसुकवि भएर बग्न सकेँ । मैले एउटा यस्तो कवितात्मक मन्त्रगीत सिर्जना गरेँ, जुन देश–विदेशमा रहेका लाखौँ नेपालीको मुखमा झुन्डिएको छ । यही गीतले आज दुर्गालाल श्रेष्ठ नेपालमात्र नभएर विश्वभरका नेपालीको ढुकढुकीमा छाएको छ । एउटा नेपाली गीतको अन्तराष्ट्रियकरण भएको छ । विदेशमा म जहाँजहाँ जान्छु, यही गीतबाट मात्रै परिचित भएको छु । यो गीतले मेरो अरु प्रतिभालाई किच्यो की जस्तो पनि लाग्यो ।
यो भन्दा अघिपछि, दायाँबायाँ दुर्गालाल कहीँकतै छैन जस्तो लाग्छ । बुढाबुढीदेखि बालबच्चासम्म यही गीतमा नाचेको देख्छु । यही गीत गुनगुनाएको सुन्छु । मन प्रफुल्लित हुन्छ । यो गीत सृजनाका लागि कतिले ठानेका होलान्, दुर्गालालले धेरै तपस्या गरेको होला । धेरै मेहनत र समय खर्च गरेको होला । कतिले सोध्छन् पनि । ‘पूmलको आँखामा’ गीत रेकर्ड भएर बजारमा आयो । चर्चित पनि भयो । तर गीतकार नेपथ्यमानै रहनु उसको नियति हो । सो गीत २०–२५ भाषामा अनुवाद भइसक्यो भन्ने पनि सुन्छु ! तर म आफैलाई भने त्यसबारे थाहा छैन ! अनुवाद गर्नेले पनि जानकारी गराएनन बा ! मूल लेखकलाई नै नदेखाई गरिएको अनुवाद कस्तो भएको होला, थाहा पाउन सकेको छैन ।

अहिले चाहिं गीत लेखन कस्तो चलिरहेको छ ?
म अचेल आफै लेख्न असमर्थ छु । केही समयदेखि हातले राम्ररी काम पनि गर्दैन । न्ह्यूले सङ्गीत सुनाउँछ । त्यससँगै फूर्छ भाव । ऊसँग गिटारसँगै कपी–कलम पनि हुन्छ । म बग्छु भावनामा, त्यसलाई राम्ररी टिप्छ न्ह्यू । एउटै बसाइमा गीत तयार हुन्छ । लेख्दा समय धेरै लागेको, लेखिसकेपछि पनि फेरि बनिबनाउ गरेको वा सम्पादन गरेको थोरै मात्रै गीत होलान् । त्यस्तो रचना प्रायः चर्चित पनि भएको छैन । बरु कम समयमा लेखेका धेरै रचना चर्चित भएका छन् । पूmलको आँखामा पाँचदेखि सात मिनेटमा लेखेको थिएँ । बुद्ध बाहेक अरु एक शब्द फेरेको छैन । सबैले मन पराइदिए । मेरो नामले केही उचाइ लियो यही गीतबाट ।

तपाई ‘न्ह्यु ,न्ह्यु’ भनिरहनु भएको छ संगीतकार  न्ह्यु र तपाइँ पर्यायवाची हो ?

पर्याय भन्दा पनि न्ह्यूसँग २–३ घण्टा बस्दा २–३ वटा गीत त तयार भइहाल्छ  । संगै बस्दा गीत नजन्मिएको दिन सायदै होला । उसले सङ्गीतबद्ध गरेको मात्रै ५ सय भन्दा बढी गीत होला मेरो शब्दमा । झण्डै आधा जति सार्वजनिक भइसकेको छ । उसले मेरा गीत कसैलाई गाउन दिएको छ भने ‘तपाईंको पारिश्रमिक यति आएको छ’ भनेर दिन्छ पनि । न्ह्यूसँग बसेर उसको सङ्गीत सुन्यो कि मलाई गीत फुरिहाल्छ । मैले घरमै बसेर लेिखने गीत प्रायः पुरानै छन्दमा हुन्छ । छन्दको पुरानोपनले पनि स्रोताको ध्यान कमैमात्र आकृष्ट हुन्छ  । उसलाई नयाँखालका गीत मन पर्छ । उसलाई त नयाँनयाँ तालको, सङ्गीतको प्रवाह नै बेग्लै ढङ्गले बग्ने गीत चाहिन्छ । कुनै कुनै सङ्गीतले त मलाई पनि छुन्छ र आफै बग्छु । तर कुनै कुनैले चाहिँ घाँटीमा डोरी लगाएर जवर्जस्ती तानेर लगेको जस्तो महसुस हुन्छ ।  कहिलेकाहीँ म गीतलाई दोहोरयाउँछु ,कहिलेकाही भने गीतमा म दोहोरिनुपर्ने हु्न्छ । बुढ्यौली लागे पनि, हातले काम नगरे पनि अहिलेसम्म सृजनाको स्रोत भने सुकेको छैन ।

रचना गर्न थालेको लामो समय भइसक्दा पनि म साहित्यको क्षेत्रतिर लागेँ, साहित्य भनेको यो हो भन्ने कुरा मलाई पटक्कै थाहा थिएन । साहित्यमा लाग्छु भन्ने निश्चय गरेर लागेको पनि होइन । विस्तारै यसमा रमाएँ । कमाई पनि हुनथाल्यो । अहिले नेपाली साहित्यको आकाश निकै फराकिलो भइसकेको छ । लेखक, पाठक, बजार सबै बढेको छ । लेखेरै बाँच्न सक्ने अवस्था पनि आएको छ । कुनै बेला एउटा गीतको ५ सय रुपैयाँ पाउँदा पनि ठूलो रकम लाग्थ्यो । अहिले एउटा गीत लेखेको १५–२० हजार रुपैयाँ पाउने अवस्था आएको छ । भर्खरै राष्ट्रकवि माधवप्रसाद घिमिरेले एउटा गीत लेखेको ७५ हजार रुपैयाँ पारिश्रमिक पाएको समाचार सुनेको थिएँ । समाचारले मलाई निकै खुसी तुल्याएको छ ।

तपाइँको नितान्त निजी जिवन बारे भन्नु पर्दा ? 

आफ्नै बारेमा भन्नुपर्दा कर्म क्षेत्रमा लाग्दा म संधै आफुलाई तन्नेरी ठान्छु । उमेरले सात दशक नाघे पनि सानासाना नानीहरुसँग पनि लहसिदै खेल्ने वानी मेरो छ । जोसुकै मेरो सम्पर्कमा आए पनि आफ्नो मातृभाषा, कला, संस्कृतिको प्रवद्र्धन गर्नुपर्ने सुझाव दिन म सधैँ तयार रहन्छु म । तर पनि भौतिक शरीर न हो, हाडसँग मासु छुट्टिँदै गएजस्तो, हातमा हात नभएजस्तो वा आफ्नो भनेको सबै कुराहरु कसको हो कसको म अन्योलमा पर्छु !  मैले ‘म र मेरो’ को घेराबाट माथि उठ्नु पर्छ मलाई अन्र्तमनले भन्छ । तर आफ्ना भन्नेहरुबाट टाढिन कत्ति गाह्रो !

पर्खिने क्रममा सबैभन्दा पछि
म पर्खन्छु आफ्नै मृत्यु
त्यस बेला पनि दुःख दियो भने
भगवान तिमीसँग मेरो चित्त साह्रै दुख्नेछ ।

विहानको पहिलो प्रहरनै उठ्छु । नित्य कर्मपछि पूर्वमोहडाको झ्यालबाट देखिने शान्त बौद्ध चैत्यमा आँखा विसाउँछु । केहीबेर योग, प्राणायाम र व्यायाममा केहि छिन लगाउँछु ।  ठँहिटी, जन्मटोल न्हैकन्तला, असन, महाँकाल, मरु, लायकूवही, हनुमानढोका, मखनटोल, इन्द्रचोक, आकाश भैरव हुदै एक छिन सुस्ताउँछु अनि फिका चिया पिउँछु । फिक्का वातावराणहरु नियाल्दै ।
सागसव्जीको किलमेल गर्दै घर फिर्छु । नुहाएर नास्ता लिन्छ,ु बिहान सकिन्छ । बिहानको  साढे १० बजेतिर खाना खान्छु । दिउँसो फुर्सद भए पनि सुत्दिनँ । दिनभर लेख्ने, पढ्ने, साहित्यिक कार्यक्रममा सरिक हुन्छु र कहिलेकाही घर व्यवहारमा पनि लाग्छु  । साँझ पुनः आधा घण्टा घुम्न निस्कन्छु । यहि तालिका भित्र मेरो दिन सकिन्छ । साहित्य सृजना भनेको अनभिज्ञतावंश गरिने आत्मालोचना हो । मैले साहित्य लेखेर  आफूभित्रको मैल पखालिराखेको छु । म चोखो बन्न सकेँ भने मजस्तैले राज्य गर्दा यो संसार त त्यसै चोखो हुन्छ नि ! मैले कसैलाई पनि शत्रु ठानिनँ भने अरुले पनि सायदै मलाई शत्रु  ठान्ने छन । सबैले सबैलाई  आफै सम्झिदिए त संसार त्यसै राम्रो हुन्थ्यो नि । फूलले सँगैको काँडालाई पनि कहिल्यै रिसाएर आँखा  तर्दैन । त्यसैले काँडाले पनि फूललाई घोच्दैन । आफूलाई हाँसेर हेरेको देखेर काँडापनि फुल देखि मख्ख पर्छ  ।

जीवनलाई नजिकबाट कसरी नियालिरहनु भएको छ ?
जुन छ जस्तै लाग्दैन  त्यसैको नाम हामी बढि लिन्छौं । त्यो हो जिन्दगी ,। जिन्दगी चाहानाको पोको भन्छ । चाहाना सबैले गर्छ । तर चाहाना गरेर कसले के पाएको छ ? जो चाहाना गर्छ त्यसलाई अदृश्य र सुन्यताले लखेटिरहेको हुन्छ । बस सायद यहि होला जिन्दगी ।  जिन्दगीमा के के गर्छु भनेर पनि गरियो । परिवर्तन गर्छु भनेर लागियो । परिवर्तन आयो भनेर कति नाचियो पनि होला तर कालान्तरमा अझै पनि त्यो  परिवर्तनको आएकै छैन । जो अरुको ठाउँमा आफु भएर उभिन सक्दैन त्यतिखेर सम्म परिवर्तन आएको मान्न सकिन्न ।





No comments: