३०३४ साल चैत्रमा पार्वतीपुर ७ पश्चिम रंगीला चितवनमा पिता एकनाथ न्यौपाने र माता हरिमाया न्यौपानेको कोखबाट एउटा बालक जन्मिए । सायद भाविले उनलाई निधारमा लेखक बनेर खा भनेर पठाएको हुनु पर्छ । त्यसैले अहिले अमर न्यौपाने लेखकको रुपमा आम पाठकहरुको नजरमा छाइसकेको छ । उनले नेपाली साहित्यमा थुप्रै सम्भावनाहरु देखेका छन् । दुई मात्र सन्तान मध्य घराको एक्लो छोरो न्यौपानेका एक दिदी छिन् । पिता एकनाथले गाउँ चौतारीमा छरछिमेकलाई नासो कथा सुनाउँदा सुनाउँदै रुने बालक न्यौपाने अहिले आख्यानकार तथा साहित्यकारको रुपमा आम पाठकले स्विकारिसकेको छ । उनको सर्वाधिक चर्चामा रहेको सेतो धर्ति नामक उपन्यासले मदन पुरस्कार पाएपछि सेतो धर्ति र अमर न्यौपाने पर्यायको रुपमा हेर्ने गरिएको छ । न्यौपाने हाल शिक्षा सम्बन्धि उपन्यास लेखनको अन्तिम चरणमा उभिएका छन् । प्रस्तुत छ न्यौपाने सँग सिन्धु दर्पणका सम्पादक जितेन्द्र रसिकले गरेको कुराकानीको सम्पादित अँस ।
सानो छँदा आमाले गौरी खण्डकाव्यका श्लोकहरु भाका हालेर गाउँदा आँखाभरि आँसु हुन्थे मेरा कविता भन्ने नबुझ्दै कवितालाई प्रेम गरेको रहेछु । साहित्यलाई प्रेम गरेको रहेछु । गर्मी महिनामा बाले निमपत्ताको बोटमुनि बसेर नासो कथासङ्ग्रहका कथाहरु गाउँलेहरुलाई सुनाउँदा म पनि छेउमा बसेर आँसु पुछदै सुनिरहेको हुन्थेँ । प्रकृति र मानिसका विभिन्न स्वभावले मलाई आकर्षित गर्थें । मानिस तथा पशुपन्छीका विभिन्न क्रियाकलाप र भाव पढ्दा कुनै विशाल पुस्तक पढेजस्तो लाग्थ्यो । सानैदेखि म मानिसहरुका क्रियाकलापहरुलाई सिनेमा हेरेझैं एक छेउमा बसेर हेरिरहन्थेँ । यी र यस्तै कुराहरु नै मेरो जीवनको सेतो क्यान्भासमा पृष्ठभूमि बनिदिए ।
– २ वर्ष अघि मदन पुरस्कार जित्न सफल कृति सेतो धति र अमर न्यौपाने पर्याय बनेको छ आफ्नोे लेखन र सफलताको बारे पाठकहरुलाई केहि बताईदिनुस न ?
सायद सफल हुन अझै बाँकी होला । एउटा लेखकले प्रत्येक पुस्तकमा पाठकहरुका अगाडि परीक्षा दिइरहेको हुन्छ । सेतो धरती लेख्दा लाग्थ्यो म नै बालविधवा हुँ । मलाई पूरै बालविधवाको फिलिङ आएको थियो । मैले लेखक भएर होइन पात्र भएर लेखेको हो सेतो धरती । सायद यही नै सफलताको मुख्य कारण होला ।
– पछिल्लो समय अमेरिका पनि भ्रमण गरेर आउनु भएको छ । त्यहाँ रहेका नेपाली पाठकहरुले अमर न्यौपाने र न्यौपानेको लेखनबाट के कस्तो अपेक्षा राखेको पाउनु भयो ?
अझै राम्रो लेख्नोस्, नेपाललाई लेख्नोस्, हामी तपाइँका अरु कृतिहरु पढ्न पखिर्रहेका छौँ भन्ने अपेक्षा गरिएको पाइयो । मबाट नयाँ पुस्तकको अपेक्षा गरिनु नै मलाई लेखकको रुपमा विश्वास गरिनु हो । त्यसैले अर्को उपन्यास लेखनमा जुटिरहेको छु ।
– अहिले के सम्बन्धि लेख्दै हुनुहुन्छ ?
एउटा शिक्षा सम्बन्धी उपन्यासको अन्तिम सम्पादन गर्दै छु ।
– पुरस्कार प्राप्त सेतो धति कृतिको विषयमा विबाद पनि उठे नि होइन र ?
हो । भुजेलहरुले हामीलाई डोले किन लेखियो भनेर ।
त्यतिखेरको यथार्थ चित्रण भएकाले उहाँहरुले चित्त दुखाउनु पर्ने र बुझाउनुपर्ने केही कुरै थिएन यसमा । तर अवस्था अलि उग्र हुँदै गएकाले तत्कालको समस्या समाधानका लागि मैले बाध्य भएर तेस्रो संस्करणमा घर्ती शब्द हटाउनु प¥र्यो ।
–तपाइँको विचारमा अबका लेखन कस्तो हुनु पर्ला ?
यस्तै भन्ने छैन । सबै लेखकको आ आफ्नै हिँड्ने बाटो हुन्छ । त्यो बाटोलाई सबैले सबल र राम्रो बनाउन खोज्छन् । यस्तै लेखिनुपर्छ भन्ने आग्रह र धारणा मेरो छैन । सबैले आफूलाई स्थापित गर्न नयाँ शैलीको आविस्कार गर्न जरुरी छ । लेखनमा आफ्नोे अनुहार बनाउन अवश्यक छ ।
– अब लेखक तथा सर्जकहरुलाई साहित्य लेखेर बाँच्ने दिन आएको मान्नु हुन्छ ?
संघर्षकै अवस्थामा छौँ हामी ।
– नेपाली साहित्यको बाटो कतातिर मोडिँदै गएको पाउनु भएको छ ?
नेपालका कुनाकुना छिचोल्दै अब विश्वयात्रातिर जाने तयारी गर्दैछ ।
– नेपाली साहित्यको यो युगलाई तपाँइँ कसरी चित्रण गर्नु हुन्छ ? नेपाली साहित्यको यो युगलाई नेपाली साहित्यले नै चित्रण गरेको छ ।
– अन्तमा सिन्धु दर्पण साहित्यिक पत्रिका मार्फत पाठकहरुलाई के भन्न्ु हुन्छ
पनि अलिकति फुर्सद निकालेर नेपाली साहित्यलाई माया गरिदिनु भएकोमा सबैलाई धन्यवाद साथै नेपाली साहित्यलाई अझ माया गरिदिनुहोस् भन्न चाहान्छु ।


No comments:
Post a Comment